कुनै विषयवस्तु, व्यक्ति वा समूहका विषयमा अरुले अघि सारेको भाष्यका आधारमा होइन, आफैले गरेको अध्ययन–अनुसन्धानबाट प्रमाणित तथ्य वा सत्यका आधारमा धारणा बनाउन जरुरी हुन्छ। तर विडम्बना के छ भने नेपाली समाजको ठूलो हिस्साले कुनै विषयवस्तु, व्यक्ति वा समूहका बारेमा आफैले अध्ययन, परीक्षण र मूल्यांकन गरेर होइन, बरु कुनै संस्था, समूह वा व्यक्तिले निश्चित आग्रह वा पूर्वाग्रह राखेर तयार गरेको भाष्य (न्यारेटिभ) का आधारमा आफ्नो धारणा निर्माण गर्ने गरेको पाइन्छ।
■ भाष्यको भरमा धारणा: बौद्धिक आलस्यको संकेत
कुनै विषयवस्तु, व्यक्ति वा संस्था विशेषको छवि यथार्थमा कस्तो छ भन्ने कुरा आफ्नै आँखा र अध्ययनको निष्कर्षबाट पहिचान नगरी अरु कसैले निर्माण गरी प्रस्तुत गरेको भाष्यका आधारमा पहिचान गर्ने प्रवृत्ति भएका मानिसहरूको बौद्धिक स्तर (आई.क्यु.) सामान्यतया औसतभन्दा न्यून हुने कुरा अध्येताहरूले औँल्याएका छन्। त्यसैले पनि, अरुले तयार गरेको भाष्यका आधारमा धारणा बनाएर त्यसैअनुसार व्यवहार गर्ने प्रवृत्ति हाबी भएको समाज विकासको कसीमा पछौटेपनतर्फ धकेलिन्छ।
■ लहैलहैको समाज: स्वार्थी तत्वका लागि सजिलो शिकार
भाष्यको लहैलहैमा बहकिने समाजलाई स्वार्थी र आग्रही तत्वहरूले कृत्रिम तस्वीरका आधारमा सहजै भ्रमित गर्न सक्छन् भन्ने प्रमाणहरू हाम्रो समाजमा प्रशस्त छन्।
नयाँ सरकारले गरेका भनिएका कतिपय निर्णयहरूलाई लिएर कतिपय विश्लेषकहरूले सरकारका उच्च तहका पदाधिकारीहरू समेत अरुले तयार गरिदिएका भाष्यकै आधारमा त हिँडिरहेका छैनन् भनेर आशंका गर्ने गरेका छन्।
सरकार स्वयं सत्यतथ्यका आधारमा यथार्थ चित्र प्रस्तुत गर्नुभन्दा आफ्नै चाहनाअनुसारको भाष्य निर्माणतर्फ त उन्मुख छैन भन्ने प्रश्न पनि सँगसँगै उठ्ने देखिन्छ।
■ नायक निर्माणको खेल: तुलना र तामझामको भाष्य
वर्तमान तथा पूर्व प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलहरू र तिनका नेताहरूका विषयमा जनताले बनाएका धेरै धारणाहरू यथार्थभन्दा भाष्यकै आधारमा निर्माण भएको देखिन्छ।
कतिपय व्यक्तिहरू स्वयंले पनि आफूलाई प्रतिष्ठित नायकका रूपमा स्थापित गराउन आफ्नो चालढाल कुनै चर्चित व्यक्तित्वको शैलीअनुसार ढाल्ने प्रयास गर्छन्। अर्कातिर, केही विश्लेषकहरूले तत्कालीन पात्रलाई इतिहासका चर्चित व्यक्तित्वहरूसँग तुलना गरेर भाष्य निर्माणलाई थप बल पुर्याउने काम गर्छन्।
नेपालमा विदेशी कूटनीतिक नियोग र दातृ निकायका अधिकारीहरूले समेत आफ्नो स्वार्थअनुकूल पात्रहरूको छवि उकास्न ‘दूरदर्शी’, ‘सूक्ष्मदर्शी’, ‘प्रखर राष्ट्रप्रेमी’, ‘अर्थशास्त्री’, ‘लोकतन्त्रवादी’ जस्ता विशेषणको वर्षा गर्ने गरेका उदाहरण भेटिन्छन्।
मार्क्स, लि क्वान यु, महेन्द्र, बि.पी. कोइराला, पुष्पलाल जस्ता ऐतिहासिक पात्रहरूसँग तुलना गरेर वर्तमान पात्रहरूको छवि निर्माण गर्ने प्रयास अहिले पनि जारी छ। विकास आयोजनाका सन्दर्भमा समेत ‘अमेरिकाजस्तो’, ‘बेलायतजस्तो’ भन्ने भाष्य निर्माणले यथार्थभन्दा बढी आकर्षक भ्रम सिर्जना गर्ने काम गर्छ।
■ सरकार र भाष्य: यथार्थ कि प्रचारको आवरण ?
वर्तमान प्रधानमन्त्रीलाई राजा महेन्द्र वा सिङ्गापुर रूपान्तरण गर्ने लि क्वान युजस्तो भन्दै गरिने प्रचार पनि भाष्य निर्माणकै हिस्सा हो। तर वास्तविकता के हो भन्ने कुरा समयले मात्र प्रमाणित गर्छ।
सरकार गठन भएको २/३ हप्ता मात्रै भएको अवस्थामा केही प्रचारमुखी काम—जस्तै केही व्यक्तिहरूको पक्राउ—लाई आधार बनाएर ठोस मूल्यांकन गर्नु हतारो हुनेछ। राष्ट्रको हितमा कस्ता काम हुन्छन् भन्ने कुरा हेर्न अझै बाँकी छ।
प्रधानमन्त्रीले राष्ट्रको स्वतन्त्रता, स्वाभिमान र असंलग्न परराष्ट्र नीतिलाई सुदृढ बनाउने काम गर्छन् वा गर्दैनन् भन्ने कुरा अहिले नै निष्कर्ष निकाल्ने अवस्था छैन। त्यसैले मूल्यांकन भाष्यका आधारमा होइन, कामका आधारमा हुनुपर्छ।
■ दलगत अन्धता: सत्यभन्दा निष्ठा माथि
निश्चित दलसँग आबद्ध व्यक्तिहरूमा आफ्नै दलका मानिसहरूले खराब काम गर्दा पनि त्यसलाई ढाकछोप गर्ने र विपक्षीले गल्ती नगरे पनि दोषारोपण गर्ने प्रवृत्ति गहिरोसँग जरा गाडेर बसेको छ।
यो दास मनोवृत्ति र आग्रही सोचले समाजमा वस्तुगत विश्लेषणको संस्कृति कमजोर बनाएको छ।
त्यसैले, कुनै सरकार, नेता वा व्यक्ति सम्बन्धी धारणा बनाउँदा अरुले तयार गरेको भाष्यमाथि आँखा चिम्लेर विश्वास गर्ने होइन, आफ्नै परीक्षण, अध्ययन र अवलोकनबाट निष्कर्षमा पुग्ने बौद्धिक ईमानदारी विकास गर्न जरुरी छ। यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म राष्ट्र विकासको मार्गमा अघि बढ्न सक्दैन।
आशा गरौँ-नयाँ वर्ष २०८३ नेपाली समाजका लागि केवल पात्र फेरिने वर्ष होइन, सोच फेरिने वर्ष बनोस्; भाष्यको भर होइन, सत्यको आधारमा धारणा निर्माण गर्ने अभ्यासको सुरुवात होस्।




