🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

सार्वजनिक सवारी र मालवाहक सवारीको भाडा बढ्यो

काठमाडौँ, २५ चैत : सरकारले सार्वजनिक सवारी र मालवाहक सवारीसाधनको भाडा समायोजन गर्न सहमति दिएको छ । इन्धनको मूल्य बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई सार्वजनिक यातायातको भाडा बढाउन सहमति दिएको हो ।

इन्धनको मूल्य बढेसँगै पटकपटक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा समायोजन गर्न माग गर्दै आएको थियो ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिंह राईले भाडा समायोजनका विषयमा मन्त्रालयबाट स्वीकृत प्राप्त भएकाले सहमतिका आधारमा भाडा समायोजन गरिएको बताउनुभयो । विभागले विभिन्न १३ सूचकलाई आधार मानेर भाडा बढाएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासङ्घको अनुरोधमा आज सरकारले सार्वजनिक र मालवाहक सवारी साधनको भाडा समायोजन गरेको जानकारी दिनुभयो ।

सरकारले यात्रुवाहक सवारीको १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनका लागि २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनको १५.७५ प्रतिशत भाडा समायोजन गरेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाइ छ । नयाँ भाडादर कार्यान्वयनमा आएसँगै सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा प्रभाव पर्न सक्ने देखिएको छ ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *