रेलमार्गको बहस चलिरहेको बेला यससँग सम्बन्धित केही तथ्यगत जानकारीः
१. संसारमा सबैभन्दा ठूलो रेलमार्ग सञ्जाल भएको मुलुक अमेरिका हो जसको जम्मा रेल लम्बाई २५८००० कि.मी. छ र यो पूर्णरुपले निजी कम्पनीहरुले सञ्चालन गर्छन् र त्यसमा विद्युतीय रेल नगन्य छ।
२. चीन दोश्रो, रुस तेश्रो र भारत चौथो ठूलो रेलमार्ग सञ्जाल भएका मुलुकहरु हुन्।
३. चीनले स्टान्डर्ड गेज प्रयोग गर्छ भने भारतले लगभग सबै जसोमा ब्रड गेज (बडी लाइन) प्रयोग गर्छ। त्यसैले चीनले बनाएको रेलवे लाईनमा भारतीय रेल कुद्दैन र भारतले बनाएकोमा चीनिया रेल पनि कुद्दैन।
४. नेपालको पूर्व-पश्चिम मेची-महाकाली रेलमार्ग पक्कै पनि नेपालको आर्थिक विकासको निमित्त आवश्यक छ र प्राविधिक र आर्थिक सम्भाव्यता पनि उच्च छ भने पहाडी भेगमा रेलमार्गको निर्माण निकै चुनौतिपूर्ण मात्र होईन आर्थिक संभाव्यता ज्यादै न्यून छ। कित धेरै सुरुङ्ग मार्ग बनाउँनुपर्छ कि फनफनी पहाड घुम्नु पर्ने हुन्छ। किनभने रेलवे अधिकतम १-२% उकालो मात्र उक्लन्छ रोड जस्तो १२-१५% उकालो लग्न मिल्दैन।
५. भारतले पहिलेका छोटी लाइन (मिटर गेज) लाई क्रमसः बडिलाइन (ब्रड गेज) मा परिणत गर्दै लगेर अब करिब-करिब सबैजसो मेन लाईन ब्रड गेज गरिसकेको छ र स्टीम ईन्जिन, डिजेल ईन्जिन हुँदै क्रमशः अब विद्युतीय ईन्जिनमा परिवर्तित हुँदै छ र करीब ५०% सञ्जाल विजुलीमा गैसकेको अवस्था हो।
६. नेपालको निमित्त रेल यातायातको एउटा फाइदा यो बिजुलीबाट चल्ने भएकोले डिेजेल आयातमा ठूलै परिमाणमा कटौती हुन्छ र ट्रक आयात पनि घट्ने छ। ढुवानीमा हुने खर्च निकै कम भएर आयातीत सामानको भाउ पनि कम हुन्छ।
७. चीनतिर जोड्न चाइनिज गेज र भारततिर जोड्न भारतीय ब्रडगेज चाहिने हुँदा नेपालमा रेलवे सञ्जाल बिछ्याउँन थप चुनौती छ।
८. यी सबै चुनौतीहरुका बावजुद रेलवेको विकास नेपालको लागि जरुरी छ र यो हँस्यौली र ठट्यौलीमा उडाउँने बिषय मात्र चाहीं होईन।
-Om Raut



