नेपालगन्ज । नेपालगन्जमा अवस्थित बागेश्वरी मन्दिर यो क्षेत्रकै बहुचर्चित र पुरानो मन्दिर हो । धार्मिक हिसाबले मात्रै होईन आर्थिकरुपमा पनि धनी मानिएको सो मन्दिरको नाममा रहेका पुराना ढुकुटी खोलिएपछि सबैको खुलदुली मेटिइएको छ ।
मन्दिरको नाममा रहेका ती ढुकुटीभित्रको सम्पति यकिन गर्न ४५ बर्षपछि, २०७४ चैत ३० गते बुधबार उक्त ढुकुटी खोलिएको थियो । उक्त ढुकुटीभित्र धेरैको संख्यामा सुंन, चाँदीलगायतका बहुमुल्य सम्पत्ति रहेको आँकलन गरिएको भएपनि जीर्ण अवस्थामा रहेका बाकसमा भने २ तोला सुन र २० किलो ३ सय ४ ग्राम चाँदीका माला, देवीदेबतालाई ओढाउने छाला बाघ तथा लक्ष्मीका साना मूर्ति मात्रै भेटिएका छन् । यसका साथमा बाकसभित्र नयाँ बोरी, कोकाकोलाको कार्टुन र रिचार्जकार्ड समेत भटिइका छन् । खोलिइका बाकसमा आकलन गरिए भन्दा फरक सामान भेटिनले सबैमा शंका उपशंका उब्जिएको छ ।
लामो समयदेखि जिल्ला मालमोत कार्यालयमा बेवारीसे अवस्थामा फालिएका दुईवटा बाकस बुधबार सबैको रोहबरमा खोलिएको थियो । एउटा सानो र एउटा ठूलोगरी दुइ वटा बाकसमध्ये ठूलो बाकसमा मन्दिरलाई दान गरिएको जग्गाको कागज पनि भेटिएको छ भने सानोमा केही गहना फेला परेको बागेश्वरी गुठी ब्यवस्थानि समितिले जनाएको छ । यसअघि २०२९ सालमा बागेश्वरी मन्दिरको गहना यकिन गरिएको बुझिएको छ । करीब ५ दसक पछि ढुकुटी खोल्दा अभिलेख भन्दा कम सम्पत्ति भेटिएको अधिकारकर्मीहरु बताउंछन् ।
बागेश्वरी मन्दिरको नाममा रहेको सम्पत्तिको संरक्षण ब्यवस्थापनको माग गर्दै अधिबक्ता लोकबहादुर शाह र बलबहादुर चन्दले पुनरावेदन अदालत नेपालगन्जमा रिट दायुर गरेका थिए । बुधबार बाकस खोलेपछि भेटिएका र २०२९ सालको अभिलेखमा उल्लेख भए अनुसारको सम्पत्तिको विवरणको अध्ययन भइरहेको बताएकोछ । ५ दशक अघिको अभिलेखमा योभन्दा बढी गहना उल्लेख भएको देखिन्छ ।
बागेश्वरी मन्दिरको २०२९ साल मंसिर ८ गतेको अभिलेखमा सिंह मूर्ति बनेको डिब्बा चाँदी ८३ को थान २, खम्बा बनाईएको चाँदी तोला १२० को थान २, भैरव गरुड चाँदी तोला १६५ को थान २, करुवा चाँदी तोला ४७ को थान १, बत्ती बाल्ने पानस चाँदी तोला ४८ को थान १ बत्ती बाल्ने आरती तोला १३ को थान १, बाघको मूर्ति चाँदी तोला २३ को थान २ गहना रहेको उल्लेख छ । तर बुधबार खोलिएको बाकसमा २ तोला सुन र २० किलो ३ सय ४ ग्राम चाँदीका माला मात्र भेटिनुले सम्पत्तिको अनियमितता भएको बुझिन्छ ।
४५ बर्षको अबधिमा गहना बढ्नुपर्नेमा घटेपछि चोरी भएको शंका गरिएको छ मालपोत कार्यालयमा अलपत्र अवस्थामा रहेको मन्दिरको ढुकुटी ५ दशकपछि खोलिएपछि सर्वसाधारणको चासो मेटिए पनि अनियमितताको शंका बढेर गइको छ । उच्च अदालत बार नेपालगञ्ज इजलासको आदेशमा बागेश्वरी गुठी व्यवस्थापन समितिले ढुकुटी खोलेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख तथा व्यवस्थापन समितिका अध्यक्ष डा. धवलशमशेर राणा, जिल्ला सरकारी अधिकारी, कानून व्यवसायी र सञ्चारकर्मीको बाक्लो उपस्थितिमा नेपागगञ्ज उपमहानगरपालिकाको प्रमुख डा. राणाले ढुकुटी खोलेका थिए ।
उच्च अदालत नेपालगञ्ज इजलासले मन्दिरको नाममा रहेको चल अचल सम्पत्ति पारदर्शी र व्यवस्थित गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखको संयोजकत्वमा एक समिति गठन गरेपछि सम्पत्ति यकिन गर्न थालिएको छ । भक्तजनहरुले बागेश्वरी मन्दिरमा सुन र चाँदीका मूर्ति चढाउने परम्परा छ । त्यसको अभिलेख समेत मन्दिर व्यवस्थापन समितिसंग छैन ।
दशै, शिवरात्रीलगायत बिभिन्न चाडपर्वमा हजारौं भक्तजन भाकल गर्न र भेटी चढाउन आउँछन् । मन्दिरको चारैतिर करीब ५० वटा व्यावसायिक सटर छन् । पुरानो विवरण र हालको सम्पत्तिको विवरणमा तालमेल नखाना सम्पत्तिको छानबिन कार्य थालनी गर्ने जानाइएको छ । धर्मसंग जोडिएको बिषयमा सबैको हेक्का रहोस् ।



