काठमाडौँ, २ फागुन। एमाले–माओवादी गठबन्धन सरकार बन्नु अघि नै पार्टी एकता गर्ने तयारीमा रहेका दुवै दलको शीर्षस्थ नेतृत्व आजभोलि नै एकता प्रक्रिया टुंगोमा पुर्याउने गरि छलफलमा जुटेको छ। एमाले पार्टी अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भएको निर्णायक वार्ताबाट निम्न टुंगोमा पुग्ने र आआफनो पार्टीबाट अनुमोदन गर्नेगरी प्रस्ताव गरिएको थाहा भएको छ ।
छलफल र प्रस्ताव अनुसार, ९९ सदस्यीय केन्द्रीय समिति बनाउँदा एमालेका ५९ पोलिट व्यूरोसहित ६० जना र माओवादी केन्द्रबाट पार्टी विभाजन पहिलेको पोलिट व्युरोलाई आधार बनाएर ३९ जना गरी ९९ जनाको केन्द्रीय समिति बनाउने भन्नेमा पार्टीगतरुपमा निर्णय लिन मात्र बांकी रहेको स्रोतले बताएको छ ।
एमालेको २०६ जनाको केन्द्रीय समितिलाई ६० प्रतिशत मानेर माओवादीबाट १३८ जनासहित ३४४ जनाको केन्द्रीय समिति बनाउने कि भन्ने बारेमा समेत छलफल भएको एक नेताले बताए । आजै फागुन २ गते सांझ १६ बजे बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठकले उल्लेखित खाका प्रस्तुत गरेपछि दुवै दलले पार्टीबाट औपचारिक रुपमा निर्णय गरेपछि मात्र पार्टी एकताको घोषणा हुने छ।



