• शुक्रबार-कार्तिक-२-२०८१

प्रधानमन्त्री ओलीको निर्णय क्षमता नै घाइते ! विपत्तिको समयमा कालो बजारी र तस्करी व्याप्त 

 

काठमाडौं । नेपाली राजनीतिमा निकै चतुर र निर्णय क्षमता भएका नेताहरुको सूचीमा एमाले अध्यक्ष केपी ओलीलाई लिने गरिन्छ । विगतमा उनले लिएका निर्णयकै कारण उनको छवि समकालीन नेतामा फरक बनेको थियो । महाकाली सन्धिको बेला होस् वा भारतीय नाकाबन्दी । त्यो भन्दाअघि संविधान निर्माण प्रक्रियामा लिएको अग्रसरता होस् वा माओवादीको शहरी आतंकविरुद्ध लाग्ने निर्णय र वाक क्षमताका कारण केपी ओलीमाथि नागरिक तहमा निडर र निर्णय क्षमता भएको नेताको रुपमा लिने गरिएको थियो । 

 

हरेक निर्णयबाट ब्याक हुनुपर्ने बाध्यता प्रधानमन्त्री ओलीमा आइपरेको छ । अनि, विवादित मन्त्रीलाई साथ लिएर सरकार चलाउनुपर्ने बाध्यता रहेको छ । त्यतिमात्र होइन, विपत्तिको बेलामा प्रधानमन्त्री ओलीले आफ्नो क्षमता देखाउन सकेका छैनन् ।


त्यही क्षमताका कारणले ओलीलाई सत्तामा पु¥याउन पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आफू कमजोर भएको बेलामा पनि कुनै निर्णय गरेर समय कटाउने(बाई) क्षमता र रणनीति अख्तियार गर्न सक्ने नेता हुन् केपी ओली । नेकपाको चरम विवादका बेलामा आफू संकटमा थिए । त्यतिबेला पनि ओलीले संसद बिघटन गरेर रिस्कमात्र लिएनन्, विवादको समय ‘बाइ’ गरेर थप रणनीति बनाउने समय लिए । त्यसैले उनीप्रति समाजले हेर्ने दृष्टिकोणलाई फरक हिसाबले हेर्ने गरिएको छ ।


तर, अहिले एमाले अध्यक्ष ओलीको निर्णय क्षमता र बोलीमा भने प्रश्न उठ्न थालेको छ ।  माओवादी अध्यक्ष प्रचण्डलाई चक्मा दिएर सत्ता गठबन्धन हेरफेर त गराए नै त्यसबाहेक शेरबहादुर देउवालाई पनि साथ लिएर प्रचण्डविरुद्ध फायर खोलेका ओलीको निर्णय क्षमता र सरकारको नेतृत्वमा त्यस्तै अपेक्षा थियो । तर, विगत झन्डै तीन महिना(८६ दिन)को अवधिमा प्रधानमन्त्री ओलीको निर्णय क्षमता र विगतको त्यो निडरतामा प्रश्न उठ्न थालेको छ ।

 

हरेक निर्णयबाट ब्याक हुनुपर्ने बाध्यता प्रधानमन्त्री ओलीमा आइपरेको छ । अनि, विवादित मन्त्रीलाई साथ लिएर सरकार चलाउनुपर्ने बाध्यता रहेको छ । त्यतिमात्र होइन, विपत्तिको बेलामा प्रधानमन्त्री ओलीले आफ्नो क्षमता देखाउन सकेका छैनन् ।

 

निकै अलमलमा रहेर विगत दश दिन यता सरकार विपत्तिको बेलामा देखिने र सुनिने गरी आएको छैन । हुन त विपत्तिको समयमा ओली अमेरिका भ्रमणमा थिए । देश महाविपत्तिमा रहेका बेला १० दिन लामो भ्रमणकै कारण उनी आलोचनामा परेका थिए ।

 

यद्यपि भ्रमण सकाएर प्रधानमन्त्री ओली काठमाडौं आएपछि पनि थप सक्रियता र ठोस निर्णय गर्न सकेका छैनन् । सनातनी काममै रहेको सरकारका कारण नागरिक तहमा प्रधानमन्त्री ओलीको त्यो निर्णय क्षमता र निडरता खोज्ने थालिएको छ । 


प्रधानमन्त्री ओलीले निर्णय गरेर नै नागरिकलाई आशा जगाउने काम विगतमा गर्दै आएका थिए । निकै सपना देखाउन खप्पिस प्रधानमन्त्री ओलीले विकासको सपनामा पनि नागरिकलाई उद्वेल्लित बनाएको उदाहरण छ । राजा महेन्द्रपछि विकासको सपना देखाउने नेता भनेर केपी ओलीको नाम आउने गरेको छ । तर, अहिले ओलीले त्यो क्षमता देखाउन सकेका छैनन् ।

 

त्यसका कारण के होला ? भन्ने अनुमानसमेत गर्न सकिएको छैन । विपत्तिको बेलामा सडक, पूर्वाधार निर्माण, मानवीय क्षतिसहितको उद्धार तथा क्षतिपूर्तिमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कुनै विशेष निर्णय लिन सकेका छैनन् । 


चाडबाडको बेलामा सरकारको विशेष निर्णयले निकै ठूलो फरक पार्छ । नागरिकमा सरकार छ भन्ने मनोविज्ञान सिर्जना गर्र्नुमात्रै पनि ठूलो कुरा हुन्छ । तर, त्यो काम सरकारबाट हुन सकेको छैन । बजारमा स्टक रहेको सामानमा समेत मूल्य बढाएर व्यापारीले कालोबजारी गर्न थालेका छन् । विपत्तिको फाइदा उठाएर भन्सार नाकाहरुबाट दैनि करोडौं करोडको  तस्करी भइरहेको छ । सरकारको अनुगमन कतै पनि पुगेको छैन ।

 

सडक खोल्ने तथा विकल्प खोज्ने कुरामा पनि सरकारले ढिलाई गरिरहेको छ । नयाँ विकल्प दिने कुरामात्रै होइन, सन्देश दिनलाई पनि सकेको छैन् । सडक बाटो विग्रेका कारण बनाउन सक्रिय रहेको भएपनि दशैं आआफ्नो स्थानमा मनाउनुहोस् योपटकलाई भनेर सरकारले  भन्न सकेको छैन । काठमाडौं वरीपरीकै बस्तीमा सरकारले आफ्नो बलियो उपस्थिति देखाउन नसकेको भन्दै गम्भीर प्रश्न उठेका छन् । 


प्रधानमन्त्री ओली नेपालमा नभएको बेलामा गृहमन्त्री रमेश लेखकले आफ्नो भूमिका पटक्कै देखाउन सकेनन् । जो कांग्रेसमा महामन्त्रीको सपना देखिरहेका नेता हुन् । तर, कार्यक्षमता यो विपत्तिको बेलामा निर्णय क्षमतामा निकै कमजोर देखिए । कार्यबहाक प्रधानमन्त्री रहेका प्रकाशनमान सिंह त झन् नै वेपत्ता जत्तिकै भए ।

 

विपद प्राधिकरणका सीईओ विदेश भ्रमणमा गए । विदेश भ्रमणमा गएका सीईओ पोखरेल संधै विपत्तिको बेलामा  विदेशमा हुन्छन् ।  तर, उनलाई सामान्य प्रश्न सोध्ने हिम्मत पनि गृह मन्त्रालय र सरकारले गरेको छैन ।

 

त्यसैले, दुईतिहाईको गठबन्धनको भारीले थिचिएका प्रधानमन्त्री ओलीलाई के कुराले ‘बोल्ड’ निर्णय गर्न रोकिरहेको छ ? भन्ने प्रश्न चाहिँ सर्वत्र गर्न थालिएको छ । कारण, एमालेभित्रको आन्तरिक समीकरण हो वा कांग्रेसको दबाब हो ? अथवा भूराजनीतिक प्रभाव हो ? भन्ने चाहिँ विश्लेषणकै पाटो रहेको छ । तर, यी तीनै कुराले प्रधानमन्त्री ओली दबाबमा रहेको चाहिँ प्रष्ट देखिन्छ ।

(साँघु साप्ताहिक, २०८१ असोज २२–२८)
 

प्रतिकृया दिनुहोस