• बिहीबार-पौष-१८-२०८१

‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’ : उपसभामुख इन्दिरा रानामगर



काठमाडौँ, १५ पुस : उपसभामुख इन्दिरा रानामगरले नेपाली कला, संस्कृति, सम्पदा र इतिहासको संरक्षण तथा अभिलेखीकरण गर्न जरुरी रहेको बताउनुभएको छ । नेपालमा व्यवस्थित अभिलेख नभएको र भएका अभिलेख पनि व्यक्तिले संरक्षण गरेर राखेको पाइएको उल्लेख गर्दै उहाँले राज्यले नै कला, संस्कृति र इतिहास संरक्षण गर्न आवश्यक देखिएको बताउनुभयो ।

 

काठमाडौँको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज भएको सिसी कला प्रदर्शनीको उद्घाटन गर्दै उपसभामुख रानाले भन्नुभयो, “नेपाली इतिहास दबिँदै गएको छ, यसको संरक्षण गर्न जरुरी छ ।” उहाँले सिसीभित्र नेपालका सुन्दर इतिहास, कला संस्कृति, सम्पदा उतारिनु अनुकरणीय काम भएको उल्लेख गर्नुभयो । 

 

उपसभामुख रानाले भन्नुभयो, “यहाँ कला जस्ताको त्यस्तै सिसाभित्र उतारिएको छ, यस्तो अरु देशमा देखेकै छैन ।” यस्ता इतिहास संरक्षण हुँदा पर्यटन विकासमा टेवा पुग्ने र ती कलाहरु बालबालिकाका लागि सिकाइ हुने उहाँले बताउनुभयो । राजनीति समाज सेवा भएको उल्लेख गर्दै उहाँले अहिले त्यस्तो नदेखिनु दुःखद् भएको बताउनुभयो । 

 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कार्यवाहक कुलपति लालकाजी लामाले वास्तु संरचना र इतिहासलाई सिसाभित्र प्रस्तुत गरिनु महत्वपूर्ण भएको बताउनुभयो । प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले नेपालमा नेपाली कलाकारले सिसाभित्र कला कोरेको र प्रदर्शनी गरेको यो नै पहिलो भएको दाबी गर्दै यस्ता कला संस्कृति जोगाउन जरुरी रहेको बताउनुभयो । 

 

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य सञ्जय वान्तवा, अरुणा हिङमाङ, डा राजु मानन्धरलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रदर्शनी एक सातासम्म चल्ने छ । 
–––

 

 

प्रतिकृया दिनुहोस