• बिहीबार-पौष-१८-२०८१

भीम रावल : अब न घर न घाट !


काठमाडौं । अतिले खति हुन्छ भनेजस्तै भएको छ भीम रावलको राजनीतिक जीवनमा । भीम रावल एमालेको राजनीतिमा निकै चर्के स्वरमा सुनिने नेतामा पर्दथे । संस्थापनको निर्णयमा पार्टीभित्र खरो रुपमा उत्रिने रावललाई पछिल्ला वर्षहरुमा प्रतिपक्षी नेताजस्ता देखिएका थिए । खासगरी एमालेको आठौं महाधिवेशनपछि रावल संस्थापनको विपक्षमा उभिने गरेका थिए ।


आठौं महाधिवेशनमा केपी ओलीको टीमबाट उपाध्यक्षको उम्मेदवार भएकै कारण अध्यक्ष झलनाथ खनालको विपक्षमा उभिए । निरन्तर खनालको विरोधमा रहेका रावलले माधव नेपालको नजिक रहेर काम गरे । कतिसम्म पनि भने नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्री हुनका लागि रातारात तयार भए । केन्द्रीय सदस्यको शपथ समेत नखाएका रावलले गृहमन्त्रीको पद सामुन्ने आएपछि एक रातमै सबै कुरा भ्याईदिए । आठौं महाधिवेशनपछि  अध्यक्ष खनालको विपक्षमा उभिएका रावल नवौं महाधिवेशनपछि अध्यक्ष केपी ओलीको विपक्षमा उभिए । 


यद्यपि, त्यसवीचमा नयाँ संविधान जारीसँगै सरकार नयाँ बन्यो र त्यसबाट पनि अवसर लिए । अनि, तर जब एमाले र माओवादी केन्द्रवीच एकता भई नेकपा बनेपछि भने रावल निरन्तर ओलीको विरुद्ध खनिए । नेकपाकालमा रावलको विरोध निकै चर्को हुनुको कारण भने अवसरको कमी थियो । उनी प्रधानमन्त्री ओलीको टीममा बसेर काम गर्न खोजिरहेका थिए । ओलीको मन्त्रिपरिषद्मा गृह, रक्षा वा पर्राष्ट्रमन्त्री जे भए नि हुन खोजेका रावलले अवसर भने पाएनन् । ओलीले उनलाई राखेनन् र माधव नेपालको कोटाबाट पनि रावलको सट्टा अर्को नाम गयो । 


नेपालले रावललाई मन्त्री बनाउन प्रस्ताव भने गरेका थिए । तर, ओलीले सुनेनन् । त्यसपछि रावल निरन्तर ओलीको विरोधमा लागे । माधव नेपाल र प्रचण्डलाई ओलीविरुद्ध आन्दोलित हुन उचाल्ने एक नेता थिए रावल । रावल हरेक दिन प्रचण्डलाई ओलीविरुद्ध उभिनमात्र भन्दै न थिए, खुट्टा नकमाउँन हरेक दिनजसो प्रचण्ड निवासमा पुग्ने गर्थे । त्यो कुरा प्रचण्डले पटकपटक सुनाउने गरेका छन् । रावलले ओलीविरुद्ध लाग्न कसरी उचाले र केसम्म भन्ने गर्दथे भन्ने कुरा प्रचण्डले बेलाबेला टिप्पणी गर्ने गर्छन् ।

 

त्यसरी ओलीविरुद्ध लागेका रावल पार्टी विभाजन गर्न तयार थिए । रावलले नयाँ पार्टीको नाम र विधानसमेत तयार पारिसकेका थिए । त्यसमा माधव नेपाल र प्रचण्डहरुलाई सहमत पनि गराई सकेका थिए । पछि  नेकपा विभाजित भएपछि माधव नेपाललाई पनि नयाँ पार्टीमा कन्भिन्स गरेका थिए । तर, अन्तिम समयमा किन हो उनी एमालेमै फर्किने निर्णयमा पुगे । अनि, १० बुँदे सहमति गरेर एमाले बस्ने निर्णय लिए, जसले गर्दा एमालेको ठूलो पंक्ति पार्टी विभाजनको विपक्षमा रह्यो । एमालेलाई जोगाउन रावलको ठूलो योगदान थियो तर माधव नेपालका लागि भने सबैभन्दा ठूलो धोका । एमालेमा १० बुँदेपछि रावल ओलीपछि स्थापित हुने प्रयासमा थिए, ओलीबाट त्यसरी नै स्थापित गराउने प्रयास हुन्छ भन्ने उनको बुझाइ थियो ।  


तर, त्यसो भएन, ओलीले रावललाई खास अघि सारेनन् त्यसपछि फेरि ओलीविरुद्ध खनिन थाले । त्यसको चर्को रुप भने चितवनमा भएको एमालेको महाधिवेशनमा प्रकट भयो । अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेर रावलले ओलीमाथि चुनौती थपे । अनि, प्रतिपक्षी पनि भए । एमालेमा ओलीपछिको दोस्रो वरीयताको नेताको माग रावलको थियो । अहिले दोस्रो वरीयतामा वरिष्ठ नेता ईश्वर पोखरेल रहेका छन् । रावलका लागि दोस्रो वरीयता दिने हो भने एमालेको विधान संशोधन गर्नुपर्ने हुन्थ्यो । जुन तत्काल संभव हुने कुरा थिएन । त्यसैले, उनी निरन्तर ओलीको विपक्षमा उभिए । 


अध्यक्ष ओलीले पनि उनलाई हरेक अवसरबाट वञ्चित गराउँदै लगे । कतिसम्म भने गत निर्वाचनमा अछामबाट टिकट नै दिएनन् । अर्थात, रावल ०६५ सालदेखि निरन्तर संस्थापनको विपक्षमा उभिएर नेता भइरहेका थिए । अनि ओलीसँग ०७४ सालदेखि निरन्तर विपक्षमा उभिएका थिए । त्यसैले, रावल पछिल्ला दिनमा न ओलीको विश्वासमा रहन सके न माधव नेपालको । अहिले एकीकृत समाजवादीमा जोडिने नैतिकता पनि रावलसँग छैन । रावलले नै धोका दिएर नेपालले अहिले सानो पार्टीलाई बलियो बनाउन संघर्ष गरिरहेका छन् । रावलले धोका नदिएको भए एकीकृत समाजवादीको पार्टीको नाम नै अर्को हुनसक्थ्यो र अहिले राष्ट्रिय पार्टी नै नभएको जस्तो कमजोर पार्टी पनि हुने थिएन । 


त्यसैले, अहिले घर न घाटको अवस्थामा पुगेपछि रावल नयाँ पार्टी बनाउने सोचमा देखिन्छन् । कुनै बेला सुदूरपश्चिममा क्षेत्रीय पार्टी स्थापना गर्ने सोचसहित अगाडि बढेका रावलले अब पार्टी बनाउँदा क्षेत्रीय बनाउँछन् कि राष्ट्रिय बनाए एससँग एकता गर्ने सोचमा पुग्छन् ? अहिले चासोको विषय बनेको छ । (साँघु साप्ताहिक, २०८१ पुस १५) 

प्रतिकृया दिनुहोस