• बिहीबार-असोज-१७-२०८१

अखिल क्रान्तिकारीमा नेतैपिच्छे उम्मेदवार 

 

काठमाडौं । माओवादी  केन्द्रनिटको विद्यार्थी  संगठन अखिल  क्रान्तिकारीको जारी सम्मेलनमा नेतृत्व चयनका लागि चुनावमै जाने संभावना बढेको छ । चुनाव हुने अवस्थामा कति उम्मेदवार हुन्छन् ? भन्ने अहिले प्रष्ट देखिएको छैन । तर, विभिन्न नेताहरुको फेरो समातेर अध्यक्षको दावी  गर्नेको संख्या भने निकै रहेको छ । झन्डै आधा दर्जन नेताहरु प्रमुख दावेदारका रुपमा देखिएका छन्  । विद्यार्थी नेताको प्रतिस्पर्धा  भन्दा पनि पार्टीका  नेताहरुको प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।  नेताहरुको सक्रियता र विद्यार्थी  नेताहरुले समातेको फेरोले  त्यस्तो  देखाइरहेको छ । 


अध्यक्ष प्रचण्डको खास उम्मेदवार भने देखिएका छैनन् ।  विद्यार्थी  नेताहरु प्रचण्डको आशीर्वाद लिएर अध्यक्ष हुने भन्दा पनि दोस्रो तहका नेताहरुलाई साथ लिएर चुनावी  मैदानमा ओर्लिन खोजेका छन् । अध्यक्ष प्रचण्डको उम्मेदवार नभएका कारणले  पनि चुनाव हुने संभावना बढाएको पनि विद्यार्थी नेताहरु बताउँछन् । अहिले बर्षमान पुनले दुईजना विद्यार्थी नेतालाई अगाडि  सार्न खोजेका छन्  । पूर्वउपराष्ट्रपति नन्दबहदुर पुनका छोरा दिपेश पुन र पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमान महरालाई नेता पुनले आफ्नो उम्मेदवारको रुपमा अगाडि सार्न खोजेका छन् ।

 

दिपेश पुन आर्थिक मामिलामा  मुछिएको र सहकारी ठगी प्रकरणमा पनि पुनको नाम मुछिएका कारणले पनि विद्यार्थी नेताहरु भने पुनसँग खुसी छैनन् । तर, उनकै नाम अगाडि आउने संभावना रहेको छ । वर्षमान पुनले दिपेशलाई अगाडि सारेको अवस्थामा जनार्दन शर्माले पनि नारायण  खनाल  र मदन भुलमध्ये एकजनालाई उम्मेदवार बनाउन लाग्नेछन् । यीमध्ये एकलाई उम्मेदवार बनाएपनि छोड्नुपर्ने व्यक्तिले साथ दिन्छन् कि दिँदैनन् ? भन्ने पनि चासोको विषय बनेको छ । अहिलेसम्म खनालको संगठनमा पक्कड भएपनि उनी पनि विवादमा तानिएका पात्र हुन् । यता भुललाई भने संगठन चलाउन सक्ने क्षमतामाथि प्रश्न उठाइन्छ । 


  यी दुुई उपमहासचिवका उम्मेदवारलाई सबैभन्दा बढी बलियो उम्मेदवार मानिन्छ । तर, नारायणकाजी श्रेष्ठले  पवन कार्कीलाई अध्यक्षमा अगाडि  सार्ने प्रयास गरेका छन् । अघिल्लो अध्यक्ष पञ्चा सिंहको नेतृत्व अस्वीकार गरेका कार्कीलाई संगठनमा पक्कड भएपनि संस्थापन लाइनले स्वीकार गर्दैनन् । उनीहरु रुष्ट  रहेका कारणले पनि समस्या देखिएको छ कार्की समूहलाई । उता, महिला उपाध्यक्षमध्ये प्रविणा अधिकारीले पनि अध्यक्षमा दावी गरेकी छिन् । पोखराकी अधिकारीको हकमा भने खासै प्रश्न उठेको छैन । तर उनलाई साथ दिएर उम्मेदवार बनाउने नेता भने देखिएका छैनन् । प्रचण्डले साथ दिएको अवस्थामात्रै अधिकारी अध्यक्षको उम्मेदवार हुने संभावना रहेको छ । 


त्यसैगरी, नरेश  रेग्मीको सन्दर्भमा भने महासचिव देव गुरुङ र उपाध्यक्ष पम्फा भुसालले साथ दिएका छन् । उनलाईं चाहिं पुरानो बादल समूहको उम्मेदवार भनेर पनि चर्चा गरिएको छ । त्यसैले,  अहिलेसम्म अध्यक्षका लागि बलियो दाबेदारका रुपमा यिनै देखिएको भएपनि अध्यक्ष उम्मेदवार को बन्छ भन्ने कुरामा भने प्रचण्डले कसलाई ग्रिन सिग्नल दिन्छन् ? भन्नेले पनि अर्थ राख्ने विद्यार्थी नेताहरु बताउँछन् । (साँघु साप्ताहिक, २०८१ असोज १५–२१) 
 

प्रतिकृया दिनुहोस