• बिहीबार-असोज-१७-२०८१

रास्वपा : रवि जेल गए वाग्ले समूह अघि बढ्ने : पार्टीमा दुई धार, मुकुल ढकाल अर्काे आतंक

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि उनकै पार्टीभित्र पनि दुई धार  देखिएको छ । यो दुईधारमा पछिल्ला दिनमा उपसभापति स्वर्णिम वाग्लेले अघोषित रुपमा नेतृत्व  लिएका छन् । २०८१ असोज १ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा  भएको रास्वपाको राष्ट्रिय भेलामा पनि त्यसको संकेत देखिएको थियो ।

 

रास्वपा स्रोतका अनुसार, उपसभापति  वाग्लेकै ग्रिनसिग्नलमा शिशिर खनालले सहकारी छानबिन प्रतिवेदनमा हस्ताक्षर गरेका हुन् । संसदीय विशेष छानबिन समितिमा खनालले रास्वपा पार्टीबाट प्रतिनिधित्व गरेका थिए । सभापति  लामिछानेलाई कारबाही गर्ने अवस्थासहितको प्रतिवेदन तयार  भएमा त्यसमा नोट अफ डिसेन्ट लेख्नुपर्नेमा पार्टीभित्र बढ्दो कित्ताकाटका कारणले रास्वपाकै सांसद  शिशिर खनालले हस्ताक्षर गरेको बताइएको हो ।  


 नेताहरू वाग्ले, खनाल, मनिष झासहितको  पुराना  कांग्रेसहरु एकातिर रहेको र उनीहरु लामिछानेको विकल्पमा तयार हुने गरी अगाडि बढ्ने संकेत देखाउन थालेको रास्वपाका नेताहरु बताउँछन् । त्यस्तो  अवस्थामा  तोसिमा कार्की, सुमना श्रेष्ठहरुले पनि  लामिछानेलाई छोड्ने अनुमान भइरहेको छ ।


मुकुल ढकालले बाहिर बसेर लामिछानेमाथि प्रहार गरिरहेका बेलामा पार्टीभित्रै पनि सभापति रवि लामिछानेको प्रतिरक्षामा पनि ठूलो पंक्ति सशक्त रुपमा नदेखिएका कारणले पनि यस्तो अनुमान भएको बताइन्छ ।


   त्यसो त, काठमाडौंका चर्चित सांसद, युवा नेता विराजभक्त श्रेष्ठ पनि सभापति रवि लामिछानेसँग धेरै नजिक छैनन् । उनी पनि वाग्लेकै समूहमा लाग्ने अनुमान गरिएको छ । लामिछानेले पछिल्ला दिनमा भने सोविता गौतमलाई पनि टाढा राखेको रास्वपा स्रोत बताउछ  ।


सांसद सोविता गौतम पनि लामिछानेसँग असन्तुष्ट रहेकी छिन् । त्यसैले, सभापति लामिछानेको नेतृत्वमा रहेको रास्वपाभित्र निकट भविष्यमा धाँजा फाट्ने संभावना रहेको स्रोतको दावी छ ।
त्यसो त, पार्टीबाट निकालिएका महामन्त्री मुकुल ढकालले भने पार्टीमा आफू फर्किने दावी गरिरहेका छन् । गैरकानूनी रुपमा महामन्त्रीबाट हटाइएका कारण निर्वाचन आयोगले आफूलाई फिर्ता गराउने भन्दै पार्टीभित्र मुकुल ढकालले सन्देश दिएर आतंक पनि सिर्जना गरिरहेका छन् ।


महामन्त्री मुकुल ढकाल फिर्ता भए भने त्यसले पनि रवि र वाग्लेहरुलाई समस्या भने पार्ने बताइन्छ ।  रविका विरूद्ध सडकमा उत्रिएका महामन्त्री मुकुल ढकालसँग उपसभापति वाग्लेको समूह पनि रुष्ट रहेको अवस्था छ । (साँघु साप्ताहिक, २०८१ असोज १५–२१)
 

प्रतिकृया दिनुहोस