• बिहीबार-असोज-१७-२०८१

नवरात्रको पहिलो दिन : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो (तस्बिरसहित) 



काठमाडौँ, १७ असोज । दुर्गापक्षको पहिलो दिन आज घटस्थापनाका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा घुइँचो लाग्ने गरेकामा आज दसैँको पहिलो दिन भएकाले भक्तजनको लर्को लागेको हो । 

 

राजधानीको मुख्य भागमा रहेको भद्रकाली मन्दिरसहित गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, भद्रकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

नवरात्रको पहिलो दिन काठमाडौँ महानगरपालिका वडा नं ११ स्थित भद्रकाली मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न लामबद्ध भएका भक्तजन । प्रत्येक वर्ष नवरात्रका अवसरमा देशभरका शक्तिपीठ देवीको मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लर्को लाग्ने गर्छ । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

 

यसैबीच, मन्दिर वरपरको जीर्ण सत्तल भत्काएर बनाउने काम भइरहेकाले भक्तजनलाई असहज भएको गुनासो गरेका छन् । विगतका वर्षमा सहज रुपमा दर्शन एवं पूजाआराधना गर्ने गरिए पनि यस वर्ष भद्रकाली मन्दिरलाई दाहिन बनाएर घुम्न नसक्ने गरी रोकिएको दर्शनार्थी सुमन खड्गीले गुनासो गर्नुभयो । दाहिने बनाएर घुम्ने ठाउँ भएपनि निर्माण पक्षले रोकेको जस्तो देखिएको उहाँको गुनासो छ । दुर्गापक्ष लागेपछि विवाहको साइत नभएपनि शुभ समय भन्दै विवाह गर्ने जोडी पनि मन्दिर परिसरमा देखिन्छन् ।

 

देशभरका शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएका छन् । देवीका भजन, मालश्री धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गरिएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । 

काठमाडौँ महानगरपालिका-१५स्थित शक्तिपीठ शोभाभगवती मन्दिरमा बिहीबार घटस्थापनाका दिन पूजा तथा दर्शन गर्दै भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस

 

नवरात्रका अवसरमा कम्तीमा पनि नौवटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जाने गरी योजना बनाएको बताउनुभयो । यसैगरी उपत्यका बाहिरका पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बागेश्वरीलगायत देशभरका देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको जनाइएको छ । 

वीरगञ्जको गहवामाई भगवतीको मन्दिरमा घटस्थापनाको दिन बिहीबार पूजापाठ तथा दर्शन गर्न लामवद्ध दर्शनार्थीको घुइँचो । तस्बिर : हिमाल लम्साल /रासस

 

नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरेमा मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ । 

 

दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन् । 

दाङको घोराही उपमहानगरपालिका-१८ अम्बापुरस्थित अम्बिकेश्वरी मन्दिरमा घटस्थापनाको दिन बिहीबार पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर : कुलदीप न्यौपाने /रासस

 

दसैँका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो पनि बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को लागेको दृखिन्छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्किन थालेका छन्भने कतिपय जाने तयारीमा छन् । 

 

काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् । यस वर्ष गत हप्ताको भारी वर्षापछि आएको बाढीपहिरोले कतिपय राजमार्ग अवरुद्ध हुँदा आवागमनमा समस्या भएको हो । अझै देशका विभिन्न भागमा वर्षा भइरहेकाले सचेततापूर्वक यात्रा गर्न सरकारले अनुरोध गरेको छ ।
---

 

प्रतिकृया दिनुहोस