• बिहीबार-असोज-३-२०८१

माधवले वामदेव र भीमलाई भित्र्याउलान् ? 

 

काठमार्डाै । एकीकृत समाजवादी (एस) भित्रको घरझगडा निरन्तर बढ्दो क्रममा रहेको छ । रित्तो भाँडो धेरै बज्छ भन्ने उखान चरितार्थ गर्दै एसभित्रको घरझगडा भाँडभैलोतिर जाने खतरा पनि देखिन थालेको छ । पार्टीका नेताहरु एक अर्कोप्रति विश्वस्त हुन नसक्ने अवस्थामा देखिएका छन् । अविश्वासकै वीचमा नेताहरुवीच भेटघाट हुने गरेको छ । तर, पार्टी बैठकहरु बस्न गरेका छन् । 


तर, निर्णय कार्यान्वयन हुन पनि झन् जटिल हुने गरेको छ । त्यसैले, अचेल एसका नेताहरुको बोलीको ठेगान पनि हुने गरेको छैन । 

 


  कसको लागि के बोलिदिने भन्ने शक्ति केन्द्रको आडमा बोल्न थालेका छन् । विचौलियादेखि विदेशीसम्मका लागि बोलिदिने रोग एसभित्र देखिन थालेको छ । त्यसैको पछिल्लो रुप भने एसका प्रमुख सचेतकसमेत रहेका मेटमणि चौधरीमा देखिएको छ । दाङबाट निर्वाचित चौधरी शहरी विकास मन्त्री पनि भइसकेका थिए । तर, उनी बोल्ने क्रममा राष्ट्रिय अखण्डतालाई नै तिलाञ्जली दिने गरी बोलेका छन् । 

 


चौधरीले केही दिनअघि ऋषि धमलासँगको एउटा अन्तर्वार्तामा कालापानी क्षेत्रबारेमा बोलेका थिए । त्यसमा उनले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालको नभएको बताएका थिए  । उक्त भूमिमा भारतीय दावी पुग्ने भन्दै उनले विवादित अभिव्यक्ति दिएका थिए । कालापानी क्षेत्रमा नेपालको दावी नपुग्ने र भारतीय भूमि हो भनेर सार्वजनिक रुपमा बोलेका चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ । २०८१ भदौ २७ गते बिहीबार चौधरीलाई ३ दिने स्पष्टीकरण सोधेको थियो । राष्ट्रिय अखण्डताविरुद्ध बोलेको भन्दै चौधरीलाई स्पष्टीकरण सोधेर महासचिव घनश्याम भुसालले पत्र त थमाएका छन् । तर, उनलाई कारबाही गर्ने मनसाय भने देखिएको छैन । 

 


सार्वजनिक अभिव्यक्तिसहित नेपालको चुच्चे नक्साको विषयमा विरोध गरेकै वापत विगतमा सरिता गिरीलाई जसपाले सांसद पदबाटै हटाएको थियो । अनि, शरत्सिंह भण्डारीले विगतमा रक्षामन्त्रीबाट राजीनामा दिनु परेको थियो । तर, अहिले चौधरीको विषय भने मौनजस्तै बनेको छ । सार्वजनिक टिकाटिप्पणीको विषय पनि कम बनेको देखिन्छ । यसले चौधरी कारबाहीबाट बच्ने संभावना देखिएको छ । साथै, नेपालीले राष्ट्रियताको विषयमा चासो नै कम दिन थालेछन् भन्ने जस्तो पनि देखिन्छ भन्दै एसभित्रै अहिले टिप्पणी हुन थालेको छ । त्यसो त, माधव नेपालको रक्षकको रुपमा देखिएका चौधरीलाई महासचिव भुसाल पक्षले कारबाही गर्न खोजेपनि अध्यक्ष नेपालले जोगाउने चर्चा पनि एसभित्र भइरहेको छ । 

 


एसभित्रको गुटबन्दीले पनि चौधरीको अभिव्यक्ति छायाँमा परेको एसभित्र टिप्पणी भइरहेको छ । अन्य ४ जना सांसदहरु असन्तुष्ट भएर कतिपय बैठकमा समेत आउन अस्वीकार गरिरहेका बेलामा चौधरीलाई पनि कारबारही गरेर बिच्क्याउन नहुने लाइनमा पनि अध्यक्ष नेपाल रहेको बताइएको छ । त्यसैले, अध्यक्ष नेपाल मौन देखिएका छन् । तर, एसभित्र भने चौधरीलाई कारबाही भने गर्नेपर्ने दबाब बढिरहेको स्रोत बताउछ । विगतमा सांसद गिरी बर्खास्तमा गरेको उदाहरण दिँदै एसभित्र चौधरीको विषयमा प्रश्न उठ्ने गरेको हो ।

 


यता, पार्टीभित्र बढ्दो असन्तुष्टि व्यवस्थापनका लागि अध्यक्ष नेपालले असन्तुष्ट नेताहरुलाई भेटेर नै पार्टी फुटाउन लागेको हो भन्दै प्रश्न गर्न थालेका छन् । आफूनिकटका नेताहरुलाई बोलाएर पार्टी फुटाउन लागेको हो ? भनेर अध्यक्ष नेपालले गाली गर्ने शैलीमा प्रस्तुत हुन थालेपछि असन्तुष्टि झन् बढ्न थालेको खबर छ । फकाउने भन्दा पनि थर्काउने रणनीतिमा रहेका अध्यक्ष नेपालले नेताहरुलाई छुट्टाछुट्टै बोलाउने गरेका छन् ।

 

यतातिर अध्यक्ष नेपाल आफ्ना असन्तुष्ट नेताहरुलाई फकाउने भन्दा थर्काउने रणनीतिमा रहेका नेता वामदेव गौतम र भीम रावललाई भने जसरी पनि फकाउने नीतिमा रहेका छन् । त्यसका लागि आफ्नो विश्वासपात्र निजी सचिवालयमा काम गरेका मोहन गौतमलाई खटाएका छन् । भीम रावललाई फकाउने जिम्मा गौतमलाई दिएको भन्दै एसभित्र हाँसोको विषय पनि भइरहेको छ । सहअध्यक्ष दिएर भएपनि भित्र्याउनुपर्ने मत नेपालपक्षीय नेताहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस