• शुक्रबार-असोज-४-२०८१

गिरिजा प्रसादले गल्ती गर्नुभयो, त्यसले कांग्रेसलाई धोका भयो

जनताले हामी कसैलाई माफी दिने छैनन्


(उनको सिंगो परिवार नै नेपाली काँग्रेसमा आवद्ध रहेका कारण श्रेष्ठ बिद्यार्थीकालबाट नै सो पार्टीमा स्वत नजिक हुन पुगेका थिए । २०१५ सालमा मुलुकमा आम निर्वाचन भएको थियो । निर्वाचनपछि नेपाली काँग्रेसले दुईतिहाई जनमत पाएर सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको उनी स्मरण गराउँछन् । तत्पश्चात बीपी कोइराला मुलुकको पहिलो निर्वाचत प्रधानमन्त्री बन्न पुगे । सोही बखत तत्कालीन राजाको भ्रमण गण्डकी अञ्चलको पोखरामा भएको थियो । राजासँगै प्रधामन्त्री कोइराला पनि पोखरा आएकोले श्रेष्ठलाई पहिलोपटक भेट गर्ने अवसर जुरेको थियो । तर, २०१७ सालमा राजा महेन्द्रले कु गरेर पंचायती व्यवस्था लागु गरे । त्यसपछि वीपी कोइराला ८ वर्ष जेल परे । बीपी जेलबाट रिहा भएसँगै ०२५ सालदेखि भने उनीसँग निरन्तर भेटघाट भइरहने गरेको श्रेष्ठले बताए । उनी ०२५ सालमा नै गण्डकी अञ्चलको तत्कालीन छात्र समितिको सभापति चुनिएका थिए । ०४६ सालमा मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि भएको आम निर्वाचन भएको थियो । त्यसबखत श्रेष्ठ स्याङ्जाका जिल्ला सभापति रहेका थिए । त्यसबखत उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित मात्र भएनन् कि चारवटै क्षेत्रबाट काँग्रेसलाई चुनाव जिताएर ह्याट्रिक गरेको उनको दावी छ । पार्टीले स्पष्ट रुपमा बहुमत हासिल गरेसँगै गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो । उक्त सरकारमा श्रेष्ठलाई वाणिज्य मन्त्री बन्ने अवसर मिलेको थियो । त्यसयता उनी पटक पटक मन्त्री बनिसकेका छन् । निरन्तर पार्टीमा संघर्ष र निष्ठाको राजनीतिमा बिश्वास राख्दै उनी अगाडि बढिरहेका छन् । ०६३ सालमा तत्कालीन विद्रोही माओवादी र सात राजनीतिक दलका बिचमा शान्तिपूर्ण १२ बुँदे संझौता हुँदा उनी तत्कालीन नेपाली काँग्रेस प्रजातान्त्रिको कार्यबाहक सभापति रहेका थिए । सोही हैसियतमा उनले हस्ताक्षरसमेत गरेका थिए । हाल, संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर ०८१ असार ३१ गते नयाँ सरकार गठन गरेका छन् । वर्तमान सरकार, मुलुकको समसामयिक राजनीति र आगामी दिनमा नेपाली काँग्रेसले खेल्नुपर्ने भूमिकालगायत विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रामहरी चौंलागाईंले वरिष्ठ नेता श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः सम्पादक)


० संसदका दुई ठूला दल मिलेर सरकार गठन गरेका छन, तपाईंको विचारमा संसदीय व्यवस्थामा यसलाई कति उचित मान्न सकिएला ?
–मुलुकको राजनीतिको लागि यो अन्तिम प्रयोग र अस्त्र हो । राजनीतिको अन्तिम अस्त्र हामीले प्रयोग गरेका छौं । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस र दोस्रो पार्टी नेकपा एमाले मिलेर दुई महिना अगाडि सरकार गठन गरेका छन् । यी दुई दलले पनि ठीक ढंगले मुलुक संचालन गर्न सकेनन् भने धेरै पछुताउनु पर्छ । एउटा सत्तामा र अर्को प्रतिपक्षमा बस्नुपर्ने मुख्य प्रतिस्पर्धी पार्टीहरु नै  मिलेर संयुक्तरुपमा सरकार गठन गरेका छौं । यो हाम्रो राजनीतिमा अन्तिम अप्सन र अवसर पनि हो । यो अप्सन खेर गयो भने हामीले साँच्चिकै पछुताउनु पर्ने अवस्था आउन सक्छ ।


० त्यस्तो अवस्था आउन नदिनका लागि तपाईंको विचारमा यी दुई दलले अवका दिनमा के कसरी अगाडि बढन पर्ला त ?
–हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजीले के के त्याग गरेर हुन्छ सरकारलाई सफल बनाउ लाग्नु पर्छ  । भोलको आफ्नो कार्यकाल सफल बनाउन पनि उहाँले त्यो त्याग गर्नुप¥यो । नेकपा एमालेका अध्यक्ष केपी ओली यतिखेर प्रधानमन्त्री हुनुुहुन्छ । उहाँले जसरी म पनि भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको मुख हेर्दिन भन्नु भएको छ । त्यो भनेर मात्रै हुँदैन । मेरो बिचारमा तेरो र मेरो पार्टीका नभनिकन व्यवहारमा पनि उतार्नु पर्छ । उहाँका सन्तान छैनन् । त्यसैले सम्पूर्ण नेपालीलाई आफ्नै छोराछोरी सम्झेर देशको उन्नति र प्रगतितर्फ अग्रसर हुनुपर्छ ।


० भ्रष्टचार रोक्न सुशासन कायम गर्न वर्तमान सरकारले सक्ला त ?
–जति पनि चर्चामा आएका भ्रष्टाचारका फाइल जति छन, ती सबै खोल्नु पर्छ । त्यसमा शेरबहादुर देउवाजीले पनि पुरै साथ र सहयोग गर्नुपर्छ । शेरबहादुरजी पनि छैठौँ पटक प्रधानमन्त्री हुने सुरसारमा हुनुहुन्छ । अब उहाँको पनि यो अन्तिम अप्सन हो । उहाँले पनि त्याग, तपस्या र बलिदान गरेर समग्र रूपमा मुलुकको हितलाई ध्यानमा राखेर अगाडि बढ्नै पर्छ । प्रधानमन्त्री ओलीको पालामा हुन नसकेका राम्र कामहरूलाई आगामी आफ्नो कार्यकालमा सकेर निष्पक्ष रुपमा आम निर्वाचन गराउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । 


० तपाईंले यस्तो सुझाव दिंदै गर्दा पार्टी सभापति शेरबहादुर देउवाकै श्रीमती र हाल परराष्ट्र मन्त्रीको भूमिकामा रहेकी डा. आरजु राणा माथि विभिन्न आरोप लागेका छन्, एमालेबाट मन्त्री भएकाहरूमाथि पनि ललिता निवासको जग्गा लिएको आरोप बाहिर आएकै छ, अनि उनीहरुलाई सरकारले कसरी कारबाहीको दायरामा ल्याउ भनेर कसरी विश्वास गर्न सकिन्छ ?
–आरोप लाग्नु एउटा कुरा हो भने प्रमाणित हुनु अर्को विषय । आरोप विधिवत रूपमा प्रमाणित नभएसम्म लागेर केही हुनेवाला छैन । त्यसलाई कानूनी रुपमा अनुसन्धानको दायरामा ल्याएर प्रमाणित गर्न सक्नुपर्छ । अनुसन्धान पश्चात आरोप साँच्चिकै पुष्टि र ठहर भयो भने त्यसको करबाही उनीहरुले भोग्नै पर्छ ।

 

० नेपाली काँग्रेसका सभापति देउवाले आफ्नै श्रीमतीमाथि छानबिन गर्ने आँट गर्नु होला त ?
–छानबिन गर्नेक्रममा फलानाको श्रीमती, छोरा, भाइ भन्ने कुरा हुँदैन । अनुसन्धान र छानबिन गर्दा आफै परेपनि तयार हुनुपर्यो । प्रधानमन्त्री ओली र सभापति शेरबहादुरमाथि नै आरोप लागेर छानबिन गर्नुपर्ने अवस्था आयो भयो भने तयार हुनुप¥यो । यो वा ऊ भन्ने कुरै छैन र हुँदैन पनि । यो किसिमले सरकार अगाडि बढ्न तयार भएन भने त्यसपछि नेपाली जनताले हामी कसैले माफी दिँदैन र दिने छैनन् पनि । 


० तपाईंकै पार्टीको उपसभापति धनराज गुरुङ पनि सहकारी अनियमितता काण्डमा जोडिएको विषय बाहिर आएको छ, यसबारेमा तपाईं के भन्नुहुन्छ ?
–उहाँको बारेमा भर्खरै समाचारमाध्यम र संसदमा चर्चा हुँदै आएको छ । प्रश्न उठेपछि अब छानबिन हुन्छ होला नै । छानबिनको लागि उहाँ पनि तयार हुनुपर्छ । धनराजजीले बद्मासी गरेको पुष्टि भएमा उनी पनि उम्किन पाउनुहुन्न । कारवाहीको दायरामा आउनैपर्छ । 


० ०७९ मङ्सिरको चुनावमा वामपन्थीसँग मिलेर नेपाली कांग्रेस संसदमा सबैभन्दा ठूलो दल बनेको थियो तर सरकारको नेतृत्व भने अहिलेसम्म लिन सकेको छैन, यसमा कांग्रेसको कमजोरी कति देख्नु हुन्छ ?
–हाम्रो कमीकमजोरी भयो होला । संसदमा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले निर्वाचन पश्चात सुरुमै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चित्त बुझाएर हाम्रो पार्टीको नेतृत्वमा सरकार गठनका लागि सहमत गराउन सक्नुपर्दथ्यो । चुनावी गठबन्धनको मुख्य पात्र र दल पनि माओवादी र त्यसका अध्यक्ष प्रचण्डजी नै हुन् । तर, उहाँ नेपाली काँग्रेससँगबाट असन्तुष्ट भएर एमालेसँग जानुभयो । नेकपा एमालेले त्यसबखत हाम्रो पार्टीका सभापनि शेरबहादुरजीलाई तपाईंलाई मेरो दलका ७८ जना सांसदहरुको हस्ताक्षर जतिबेला भन्यो त्यतिबेला तपाईंको समर्थनमा उपलव्ध गराउँछौं भनेको पनि थियो ।


० किन त्यो सहमति किन कार्यान्वयन हुन सकेन त ?
–हामीलाई एमालेले थाङ्नामा सुताएर पछि माओवादी अध्यक्ष प्रचण्डलाई सपोर्ट गरेको थियो । त्यसको फल त हामी सबैले राजनीतिक दलले भोग्यौं पनि । माओवादी अध्यक्ष प्रचण्डले पनि एमालेलाई पनि थाङ्नामा सुताएकै हुन । अनि कांग्रेसलाई पनि सुताएको हामी सवैले महसुस गरेकै विषय घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । यिनै विषलाई मनन गरेर संसदका प्रमुख दुई दल कांग्रेस र एमाले एकै ठाउँमा उभिएका छन् । 


० वर्तमान सरकार छिमेकी मुलुक भारतको रुचि नहुँदा नहुँदै गठन भएको भन्ने विषयहरू बाहिर आएका छन, प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणको निम्तोसमेत दिएको छैन भनिन्छ, यसबारे तपाईं के प्रतिक्रिया रहेको छ ?
–प्रधानमन्त्री ओलीलाई छिमेकी मुलुक भारतले नबोलाउने भन्ने हुँदैन, बोलाउँछ नै । प्रधानमन्त्री ओलीजीको निम्ता बोकेर परराष्ट्र मन्त्रीजी आरजु दिल्ली जानु भएको होइन र ? उहाँले निम्ता पनि दिएर आउनुभएको छ । पहिला भारतको प्रधानमन्त्री आउने होला अनि नेपालको उता जाने होला । यो कुनै ठूलो आशंकाको विषय भएन । 


० चुनाव आउँन अझै तीन वर्ष बाँकी छ तर अहिलेदेखि नै नेपाली कांग्रेस र एमालेले हामी एक्लै चुनाव लड्छौं भनेर घोषणा गर्नुको कारण के होला ?
–आगामी निर्वाचन त नेपाली काँग्रेसले एक्लै लड्ने हो । अहिले पनि हामीले १ सय ६५ सिटमा ६० प्रतिशत ल्यायौं भन्दा हुन्छ । ०१५ सालमा दुई तिहाई बहुमत, ०४८ सालमा साधारण, २०५६ मा १ सय १३ सिट जितेको थियो । ०५१ सालमा तत्काली प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गल्ती गर्नुभयो, दुई तिहाई ल्याउँछु भनेर आफूसँग भएको बहुमत सरकार र संसद बिघटन गर्नुभयो । त्यसपछि हामीलाई अलिकति धोका भयो । बहुमत ल्याएको पार्टी ०५१ सालमा संसदमा दोश्रो पार्टी बन्न पुग्यौं । फेरि हामीले कृष्ण प्रसाद भट्टराईजीलाई अगाडि सारेर चुनावमा गयौं ।


० त्यसपछि के परिणाम आयो त ?
–०५६ सालमा भएको आम निर्वाचनमा नेपाली काँग्रेसले स्पष्ट बहुमत फेरि ल्यायौं । आगामी ०८४ सालमा हुने निर्वाचनमा पनि नेपाली जनताले काँग्रेसलाई माया गर्नुहुन्छ । त्यसका लागि हामीले संगठन चुस्तदुरुस्त बनाउनु प¥यो । पार्टीमा गुटबन्दी गर्नु भएन, अनुशासनमा राख्नुप¥यो । हामी बलियो हँुदै जाने हो भने १ सय ६५ मध्ये ९०–९२ सिट सजिलै जित्न सक्छौं । समानुपातिक तर्फबाट ४०–४२ सिट ल्यायौं भने बहुमत पुग्छ । त्यसको लागि नेपाली काँग्रेस एक्लै चुनाव लड्ने हो । हामीले एक्लै लड्ने भनेर बैठकबाट पास ग¥यौं अनि एमालेले पनि पास गरिसक्यो । समाचारहरूमा सुनिएअनुसार नेकपा माओवादी पनि अब एक्लै चुनाव लड्ने तयारी गर्दैछ । 

 

० यो घोषणा र निर्णय छोरा जन्मिनु कहिले कहिले कन्दनी बाट्नु अहिले भनेजस्तो उखानसँग मेल खाएन र भन्या ?
–यसको लागि लक्ष्य राख्नै पर्छ । सोही ढंगले संगठन विस्तार गर्नुपर्छ । त्यही ढंगले संगठन निर्माण गरेर सारा नेता तथा कार्यकर्तालाई अनुशासित बनाउनु पर्छ । चुनाव घोषणा भएपछि मात्र जनताको घरदैलोमा जाने होइन, अहिलेदेखि नै योजना बनाएर अगाडि बढ्नु पर्छ । 

 

० यसको लागि नेपाली काँग्रेसले के कस्ता कार्यक्रम र योजना अगाडि सारेको त ?
–हामीले एकसय दिनको कार्यक्रम बनाएका छौं । एउटा निर्वाचन क्षेत्रमा एकजना नेता  सय दिन गएर बस्ने र वडा वडामा तहमा संगठनहरू निर्माण गर्ने । यी योजना एकैचोटी चुनाव घोषणा भएपछि जान्छु भनेर त भएन नि । बीपीले नेता तथा कार्यकर्ताहरुलाई त्यसबखत पनि गाउँमा बस्ने उनीहरुको आवश्यकता अनुसार विकास गर भन्नु हुन्थ्यो । कृषि, बाटोघाटो लगायतका कामहरू गर भन्नु हुन्थ्यो । अहिले पनि यो विषय उत्तिकै सान्दर्भिक छ । अव नेता तथा कार्यकर्ताहरु गाउँ गाउँमा गएर सारा युवाहरूलाई कांग्रेसप्रति आकर्षित गर्नुप¥यो । 

 

० तपाईंले युवालाई आकर्षित गर्ने त भन्नुभयो तर यतिखेर प्रायजसो युवाहरू गाउँबाट शहर र शहरबाट विदेश पलायन भइरहेका छन्, अनि कसरी आकर्षित गर्नुहुन्छ ?
–०५२ सालमा जब १० वर्षे सशस्त्र विद्रोहको सुरुवात गरियो, त्यसको असर निकै गाउँघरमा निकै प¥यो । जसका कारणले गर्दा गाउँमा बस्ने हाम्रा बन्धु बान्धवहरूलाई सरकारले संरक्षण गर्न सकेन । काटमार र लुटपाट हुन थाल्यो । त्यसपछि गाउँबाट युवाहरु शहर र जिल्ला सदरमुकाम भागेका हुन् । तर यहाँ पनि सेफ भएनन् । अनि बेरोजगारहरु शहर हुँदै बिदेश पलायन हुन बाध्य भए । यो बिस्तारै बढ्दा बढ्दा अहिले गाउँघर रित्तो हुन थालेको छ । अर्को कुरा पञ्चायती व्यस्थाको समयमा पासपोर्ट उपलव्ध थिएन । ०४६ पछि पासपोर्ट लिन खुला भयो । त्यसपछि श्रम बजार खोज्न थाल्यौं । त्यसपछि खाडी मुलुक, मलेसियातिर लाखौं लाख युवाहरू गएका छन् । छिमेकी मुलुक भारतमा त पहिलेदेखि नै आउने जाने गरेकै थियौं । कोरिया, जापान, इजरायल, युरोपलगायत मुलुकमा पनि श्रम बजार खोजेर थोरै रकममा युवा जनशक्तिलाई पठाइने गरेको छ ।

 

० अब ती युवा जनशक्तिलाई मुलुकमा भित्राएर गाउँघरमा फर्काउन सकिन्छ त ?
–कतिपयले स्वदेशमै बसेर खेतीपाती गरेपनि बाँदरलगायत जंगली जनावरले सताएर विस्तापित हुनुपरेको छ । यी समस्या हल गर्न संघ, प्रदेश र स्थानीय सरकारले खासै पहल नगर्दा गाउँघरमा बसेर के गर्ने भन्ने उनीहरुको प्रश्न छ । यो समस्याको समाधान खोज्न अव ढिलाई गर्नु हुँदैन । मुलुकले राष्ट्रियस्तरमा यस्ता यावत समस्या सामाधान गर्दै विदेश पलायन भएका युवा जनशक्तिलाई फर्काएर रोजगारी सिर्जना गर्ने सक्षम व्यक्तिको खोजि गरिरहेको छ । मुलुकमा नेता त धेरै नै भए तर राजनेता हुन सकेनन् । राजनेता हुनको लागि उसले आफूलाई त्याग र बलिदान गर्न सक्नुप¥यो । जसले आफ्नो परिवारलाई भन्दा पनि सारा नेपाली जनतालाई सुशासन दिएर हित हुने काम गर्नुप¥यो । स्थायी सरकार मानिएका कर्मचारीतन्त्रले पनि सेवाग्राहीका लागि राम्रो काम गर्नु प¥यो । सरकारले कडा निर्देशन दिएर वा विश्वासमा लिएर अमनचयन गराउन सफल हुनुप¥यो । 


० तपाईंले यी कुरा बताइरहँदा यतिखेर गरिबका छोराछोरी पनि सकि नसकी अध्ययन नाममा विकसित मुलुक अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानलगायत मुलुकमा ऋण काडेर जानेक्रम निरन्तर बढ्दो छ, जसले गर्दा मुलुकको जनशक्ति मात्र नभएर ठूलो हिस्सामा पुँजी पलायन भइरहेको अवस्था छ, यसलाई रोक्न सरकारले के गर्नुपर्ला ?
–डाक्टर गोविन्द केसीको कारणले हाम्रा सारा नर्सिङ कलेजहरु बन्द भए । कलेज बन्द भइसकेपछि नर्स पढ्न हाम्रा चेलीहरू बाध्य भएर विदेश जानुप¥यो । भारतले भने बोर्डरहरूमा नर्सिङ कलेज स्थापना गर्दै लगेको छ । सरकारले कुरा नबुझिकन हचुवाका भरमा गलत एग्रिमेन्ट गरेको कारण यस्तो अवस्था आएका हो । नर्स भनेको अति आवश्यक मेनपावर पनि हो । नर्सहरू जहाँ र जुनसुकै मुलुकका लागि सहज रुपमा जान सक्छन् । अहिले पनि बेलायतबाट नर्सको माग भइरहेको छ । विदेशमा जाने युवाहरूले पनि बिहेवारी गर्नलाई पहिलो प्राथमिकता उनीहरुलाई नै दिन्छन् । यी विषयमा तत्कालीन सरकारहरुले बुद्धि र बिवेक पु¥याएको देखिएन । 

 

० तपाईंले सुरुमै दुईवटा शक्ति मिलेर सरकार गठन गर्नु भनेको अन्तिम राजनीतिक अस्त्र भन्नुभयो ठूला दलहरुले निकास दिन नसकेको कारण नै नयाँ वैकल्पिक शक्तिहरू उदाएको भनिन्छ नि ?
–त्यस्तो होइन, हरेक पटक निर्वाचन हुँदा वैकल्पिक शक्ति देखिन्छन् । ०६४ मा नेकपा माओवादी, राप्रपा, ०७०÷०७४ विवेकशील, अहिले घन्टी भनेर दौडिएका छन् । तर घन्टी यतिसम्म एक्स्पोज भइसक्योकि सो दलमा बेवकूफ र बद्मासहरूको जमघट रहेछ भन्ने कुरा सहकारी ठगी प्रकरणदेखि उपसभामुख इन्दिरा रानासमेतले गरेको हर्कतले पुष्टि गरेको छ । संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७औं सत्रमा भाग लिन २०२३ को फेब्रअरीमा अमेरिका जाँदा उपसभामुखले चार पुरुष र एक महिलालाई आफूसँग लाने गरी अमेरिकी दूतावासमा पत्र लेखेको विषय बाहिर आयो । उपसभामुखले त्यसबेला लेखेको पत्र २०८१ साउनको पहिलो साता सार्वजनिक भएको थियो । उहाँलाई सेफ ल्यान्डिङ गर्नको लागि आग्रह गरिएको पनि छ । हुन त जुन दलको सभापति त्यसबखत गोरखा मिडियाका डाइरेक्टर रहेका थिए, उनले त्यत्रो रकम अपचलन गरेको कुरा बाहिर आएको छ । यो प्रकरणमा उहाँले ९–९ घण्टा बयान पनि दिइसक्नु भएको छ । अव हेरौं परिणाम के आउँला ।


० ०४० सालमा राजा वीरेन्द्रले नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीलाई विकल्प खोज भनेर सुझाएको तत्पश्चात रूपन्देहीमा कार्यक्रम आयोजना गर्दा दमन गरेको भन्ने चर्चा सुनिदै आएको छ, त्यसको साक्षी तपाईं पनि भनिन्छ नि ?
–यो ०४० सालतिरको कुरा हो । त्यो बेलामा नेपाली काँग्रेसको सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाबाबु हुनुहुन्थ्यो । राजा वीरेन्द्रसँग भेटघाट हँुदा उहाँले नै गिरिजाबाबुलाई बोलाएर व्यवस्थाको विकल्प खोज भन्नु भएको रहेछ । त्यसपछि उहाँ रुपन्देहीका नेपाली काँग्रेसका जिल्ला सभापति पुष्पनन्द गिरीको घरमा कार्यक्रम राखेर पुग्नु भयो । त्यसबखत पार्टी प्यालेस  होटलहरुमा खासै कार्यक्रम हुँदैनथ्यो । त्यसैले पार्टी सभापतिको घरमा कार्यक्रम आयोजना गरिएको थियो । मण्डलेहरूले सत्ताको सपोर्टमा सारा सुकुम्बासीलाई उठाएर कार्यक्रम भइरहेको समयमा हामीमाथि आक्रमण गर्न पुगे । बिहानको कार्यक्रम सकेर खाना खाने समयमा एक्कासी आक्रमण गरेका थिए । उनीहरुको आक्रमणमा हाम्रा धेरै साथीहरू घाइते हुन पुगे । यादवनाथ आलोक पनि घाइते हुनुभयो । पछि उहाँको उपचारकोक्रममा मृत्यु नै भयो । एकजना चौधरी साथी पनि निकै घाइते हुनुभयो, उहाँको पनि उपचार गर्दागर्दै मृत्यु भयो । लुम्विनी अंचलका प्राय जिल्लाका नेता तथा कार्यकताहरूको ठूलै उपस्थिति रहेको थियो । त्यसबखत वर्तमान सभापति शेरबहादुर देउवालगायतका नेताहरू पनि त्यहीँ हुनुहुन्थ्यो । हामीमाथि आक्रमण भएपछि घरको माथिल्लो तलामा लगेर घोप्टे लगाएर बचाइयो । 

 

० तपाईंहरु चाहिं कसरी बच्न सफल हुनु भयो त ?
–जब हामीमाथि ढुङ्गामुढाहरु प्रहार हुन थाल्यो, अनि गिरिजाबाबुलाई मैले प्रश्न गरें । तपाईंलाई दरबारबाट विकल्प खोज पनि भन्ने अनि विकल्प खोज्न हिँड्दा आक्रमण किन गरियो ? अब दरवारले दिएको सुझावलाई पुनर्विचार गर्न सुझाएँ पनि । त्यतिबेला शेरबहादुरजीको ओंठमा ढुंगाले लागेर चोट लागेको थियो । हरिप्रसाद, यादवनाथ आलोकलगायतका व्यक्तिहरू रक्ताम्य भएका थिए । मण्डलेहरुले हामीमाथि निरन्तर एक घण्टासम्म आक्रमण गरेका थिए । हाम्रो कार्यक्रम बिथोलेपछि उनीहरू तितरबितर भएका थिए । 


० अनि घाइतेहरूलाई उद्धार कसरी गर्नुभयो त ?
–आक्रमण रोकिएपछि सुरुमा घाइतेहरूलाई उद्धार गर्नेतर्फ लाग्यौँ । त्यसपछि त्यहाँबाट म भैरवातर्फ लागें त्यहाँ मेरो अफिस थियो । आक्रमणमा प¥यौं भन्दै सिडिओ अफिस, अंचलाधीश र रेडक्रसलगायतलाई हार गुहार ग¥यौं । घाइतेको उद्धारका लागि गाडी चाहियो भनेर माग ग¥यौं । तर, कतैबाट पनि सहयोग भएन । त्यसपछि मेरो आफ्नै ट्रकमा घाइतेहरूलाई हालेर उपचारका लागि तरखर गर्दैगर्दा बीच बाटोमा गिरिजाबाबुहरू पनि आउँदै हुनुहुँदो रहेछ । मैले सबैलाई त्यही ट्रकमा हालेर बुटवल  पुर्‍याएँ ।


० त्यसबखत बुटवलमा अस्पताल थियो त ?
–अस्पताल त थियो । साधारण घाइतेलाई त्यहीँ राख्ने र सिरियसलाई काठमाडौँ लैजाने योजना थियो । त्यसका लागि ट्रकमा तेल भरेर लाने तयारी गर्दा डाक्टरहरुले त्यही उपचार गरे । तर, केही दिनपछि यादवनाथ आलोक बित्नुभयो । हामीले उहाँलाई जहाजबाट लान कोसिस ग¥यौ । तर, त्यतिबेलाको पञ्चहरुले  टिकट लिन पनि दिएनन् । यादवको भाई पाइलट हुनुहुन्थ्यो । तरपनि केही सिप लागेन । त्यसपछि मैले गिरिजाबाबुलाई पंचायती व्यस्था ढाल्ने गरी आन्दोलनको कार्यक्रम बनाउनुस् भनेर सुझाव दिएको थिएँ ।


० नेपाली काँग्रेस एक्लैले आन्दोलन गरेर मुलुकमा बहुदलीय व्यवस्था आएको हो र ? 
–पंचायत फाल्न गणेशमानजीको निकै नै ठूलो योगदान रहेको छ । उहाँले हामी एक्लैले मात्र सक्दैनौँ, वामपन्थी दलहरुसँग सहकार्य गर्नुपर्छ भन्ने आइडिया अगाडि सार्नुभयो । वामपन्थीहरु विभिन्न सानोसानो गुटहरूमा विभाजित रहेका थिए । उनीहरूलाई पनि गोलबन्द गर्दै मनमोहनजीसहितलाई लिएर गणेशमान सिंहको आफ्नै निवासमा चाक्सीबारीमा सम्मेलन आयोजना ग¥यौ । त्यतिखेर म स्याङजा जिल्लाको पार्टी सभापति थिएँ । संघर्षका धेरै विषयहरू छन् । जुन विषय अहिले भनि साध्य नै छैन । 
 

प्रतिकृया दिनुहोस