• शुक्रबार-असोज-४-२०८१

चालु आ.व.मा कुन कुन सचिव घर जाँदै ? : उमेरहदका कारण अवकाश हुनेहरुको नालीबेली

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारका १७ सचिवहरूले अवकाश पाउने छन् । ती मध्ये मुख्यसचिव लिलादेवी गडतौला र डा. तोयानारायण ज्ञवाली ०५८ वर्षे उमेर हदका कारण निजामती प्रशासन सेवाबाट अवकास भइसकेका छन् । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार चालु आर्थिक वर्षमा २ हजार १ सय १९ जना नेपाल निजामती सेवामा कार्यर कर्मचारीले अवकाश पाउँनेछन् । जसमध्ये १८ जना  विशिष्ट श्रेणी (सचिवस्तर) का अधिकृतहरु रहेको बताइन्छ ।


चालु आर्थिक मसान्तसम्ममा नेपाल प्रशासन सेवासहित, संसद, परराष्ट्र, इन्जिनियरिङ, नेपाल न्याय, नेपाल लेखा परीक्षण सेवाका विशिष्ट श्रेणीका कर्मचारीले अवकाश पाउने सम्भावित सूचीमा रहेका छन् । नयाँ निजामती सेवा ऐन आउन नसकेको र ०४९ को ऐन अनुसार नै संचालन हुँदै आएको अवस्था छ । सो ऐन अनुसार निजामती सेवामा कार्यरत कर्मचारीहरुको उमेर हद ५८ वर्ष पूरा भएपछि अनिवार्य अवकासमा जाने कानूनी प्रावधान रहेको छ । सचिव भएर ५८ वर्ष पुग्नुअघि नै ५ वर्ष सचिवका रुपमा सेवा अवधि पूरा हुने भएकाहरूले पनि अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ ।


०८१ साउन १ देखि आगामी असार मसान्तसम्म अवकाश हुने पहिलो विशिष्ट श्रेणीकी कर्मचारीमा निवर्तमान मुख्यसचिव गड्तौला हुन पुगेकी छिन् । उनी गएको १५ भदौमा ५८ वर्षे उमेर हदका कारण नेपाल न्याय सेवाबाट अवकाश भइसकेकी छिन् । उनी पछिका वरिष्ठ राष्ट्रिय योजना आयोगका तत्कालीन सचिव ज्ञवालीले घर गइसकेका छन् । उनले आफू सिनियर हुँदाहुँदै पनि सरकारले मुख्यसचिवमा बढुवा नगरेर चौथो नम्वरका एकनारायण अर्याललाई मुख्यसचिवमा बढुवा गरेकोमा असन्तुष्टि जनाउँदै २०८१ भदौ १३ गते नै राजीनामा दिएका थिए ।


आगामी २०८१ कात्तिक ५ गते सचिव रामकृष्ण सुवेदी पनि सचिवको पाँचवर्षे कार्यकाल पूरा गरी अवकाशमा जाँदैछन् । उनी पनि मुख्यसचिवको दावेदार रहेका थिए । तर, आफू भन्दा जुनियरलाई मुख्यसचिव मानेर राजीनामा नदिई अवकाशको समय कुरेर बसिरहेका छन् । २०८१ मंसिर १३ गते सचिव मणिराम गेलाल ५८ वर्षे उमेर हदका कारण अवकाशमा जानेछन् । उनी इन्जिनियरिङ सेवाका सचिव हुन् । सचिव गेलाल हाल शहरी विकास मन्त्रालयमा कार्यरत रहेका छन् ।


को को अवकाश हुँदै ?
२०८१ मंसिरमा न्याय सेवाका सचिव तोयानाथ अधिकारी कार्यकाल बिट मार्दै घर जानेछन् । हाल कानून आयोगमा कार्यरत अधिकारी ५८ वर्षे उमेर हदका कारण अवकाश पाउनेको सूचीमा परेका छन् । आगामी २०८१ माघ २० मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत सचिव दिनेश भट्टराई पनि अवकाशमा जाने सूचीमा दर्ज  भएका छन् । उनी पनि ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर घर जान लागेका हुन् । उनी पनि मुख्यसचिवको रेशमा रहेका थिए । तर, सरकारले उनलाई पत्याएन ।


त्यसपछि भने नेपाल स्वास्थ्य सेवाका सचिव डा. रोशन पोखरेल ०८१ फागुन ११ गते अवकाशमा जाने छन् । उनी पनि ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर  स्वास्थ्य मन्त्रालयबाट विदा हुने छन् । यसैगरी २०८१ फागुन १२ गते भ्रष्टाचार आरोपमा मुद्दा दायरका कारण निलम्बनमा रहेका प्रशासनतर्फका सचिव टेकनारायण पाण्डेको अवकाश हुने भएको छ । हाल उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका छन् ।  पाण्डेपछि प्रशासनतर्फका सचिव मधुकुमार मरासिनी अवकाश हुने सूचीमा रहेका छन् ।


उनी ५८ वर्षे उमेर हदका कारण आगामी २०८१ फागुन १६ गते घर जाने छन् । सचिव मरासिनी पछि ०८१ फागुन १८ गते सचिवको ५ वर्षे कार्यकाल पूरा गरेर अवकाश जान लागेका एकनारायण अर्याललाई भने सरकारले मुख्य सचिवमा बढुवा गरेकाले ३ वर्ष जागिर खानेछन् । आगामी २०८२ सालको वैशाख २ गते सचिवको ५ वर्ष सेवा अवधि पूरा गरेर हाल भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत सचिव अर्जुनप्रसाद पोखरेलले अवकाश पाउने छन् । सचिव पोखेरलसँगै सोही २ वैशाखमा नेपाल न्याय सेवाकी सचिव निर्मला पौडेल भट्टराईले पनि अवकाश हुने छिन । प्रशासकीय अदालतमा रजिस्ट्रारको भूमिकामा रहेकी उनी ५८ वर्ष उमेर पुगेर अवकाश हुने हुन् ।


अधिकांश पाँचवर्षे कार्यकालका कारण अवकाशमा
२०८२ वैशाख २५ गते प्रशासनतर्फका सचिव विनोदप्रकाश सिंहको अवकाश पाउने छन् । हाल उनी महालेखा नियन्त्रक रहेका छन् । सिंह पनि ५८ वर्षे उमेर हदका कारण निजामती प्रशासनबाट घर जान लागेका छन् । २०८२ वैशाख ३० गते प्रशासन सेवाका अर्का सचिव डा. गणेशप्रसाद पाण्डेय अवकाशमा जाने  छन् ।


हाल उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको भूमिकामा रहेका छन् । उनी पनि ५८ वर्ष उमेर पुगेका कारण आवकाश जान लागेको बताइन्छ  । २०८२ जेठ २८ गते नेपाल न्याय सेवाका सचिव उदयराज सापकोटाको अवकाश हुनेछन् । हाल सत्य निरुपण तथा मेलमिलाप आयोगमा कानून सचिव रहेका उनी विशिष्ट श्रेणीमा ५ वर्षे सेवा अवधि पूरा गरेर विदा हुन लागेका हुन् । २०८२ जेठ ३० गते संघीय संसद सेवाका सचिव सुदर्शन खड्काको अवकाश हुने भएको छ ।


उनी पनि ५ वर्षे सचिवको कार्यकाल पूरा गरे बिदा हुन लागेको बताइएको छ । २०८२ असार ५ गते हाल परराष्ट्र सचिव रहेकी सेवा लम्सालले अवकाश पाउने भएकी छिन् । तर, सरकारले उनलाई अवकाश नहुँदै राजदूतमा नाम सिफारिस गरिसकेको छ । उनी पनि ५८ वर्षे उमेरहदका कारण अवकाशमा जाने सूचीमा रहेकी थिईन । २०८२ असार ६ गते महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक (विशिष्ट श्रेणी) बासुदेव शर्मा अधिकारी पनि ५८ वर्षे उमेर हदका कारण सेवाबाट विदा हुने सूचीमा रहेका छन् ।  
 

प्रतिकृया दिनुहोस