• शनिबार-पौष-६-२०८१

बिपीलाई एकै पटक गणेशमानको सय सलाम 

 

एक सय दुई वर्ष अघि विपी कोइरालाका पिता कृष्ण प्रसाद कोइरालाले पत्रकािरताको अभ्यास गर्नुभएको रहेछ । हालै मेरो नयाँ मित्र हुनुभएका ‘शिक्षक’ म्यागेजिनमा लेख्नु हुने देवेन्द्र उप्रेतीले १०२ वर्ष अघि सन् १९२२ को सूर्यविक्रम ज्ञवाली सम्पादक र रामचन्द्र अधिकारी (मनमोहन अधिकारीका पिता) प्रकाशक रहेको ‘जन्मभूमि’ नामक पत्रिकामा ‘हाम्रो उन्नति’ शीर्षक लेखको कृष्णप्रसाद कोइराला रहेको फोटोकपी देखाउनुभयो । मैले पनि उहाँलाई कमसेकम एक सय वर्ष पहिले कृष्णप्रसाद कोइरालाले लेखेको पुस्तक ‘कृष्ण विनोद’ देखाएँ । 


विश्वेश्वर प्रसाद कोइरालाले ‘पिताजीको कथा र व्यथा’ नामक लेख, आत्मवृत्तान्त पुस्तक इत्यादिमा लेखेको पढेको थिएँ कि सुब्बा देवीप्रसाद सापकोटा र अन्य व्यक्तिहरुको उद्योगले एउटा पत्रिका ‘गोर्खाली’ प्रकाशनमा कृष्णप्रसाद कोइरालाको भूमिका थियो । एउटा प्रेस पनि किनियो ‘जन्मभूमि प्रेस’ (सन् १९१८) मा आजभन्दा १०६ वर्ष अघि । त्यो प्रेस नेपाली राजनीति जागरणको केन्द्र भयो, त्यस बेला । साथै पिताजी कृष्णप्रसाद कोइराला राजनीतिक मञ्चमा पनि भाषण गर्न थाल्नुभयो । त्यस समयको फूलमालाले ढाकिएको उहाँको छाती र कुममाथिको उज्यालो अनुहार मलाई सम्झना छ । घरभरि हामी सबै मख्ख पर्दथ्यौं, भनि बिपीले लेख्नुभएको हो । साहित्यकार शंकर कोइराला ‘टेकु भन्सारको रेल र खरिदार बा’को सम्झना’ मा लेख्नुहुन्छ, ‘बिरामी अशक्त खरिदार बा गोडामा बाक्लो उनी मोजा, बाक्लो स्वेटर, सिरकन टाउकोमा उनी टोपी, अलिपर मकलमा गोलको भर्भराउँदो आगो, अनि त्यस्तो बेला पनि अंग्रेजी अखबार (अमृत बजार पत्रिका)चश्मा लगाएर पढिरहनु भएको थियो ।’


छोरा बिपी कोइराला लेख्नुहुन्छ कि पिताजी ‘स्टेट्समेन’ र अमृत बजार पत्रिकाको पनि वार्षिक ग्राहक हुनुहुथ्यो । यी सबैबाट के देखिन्छ भने मेरा बाजे कृष्णप्रसादको अखबारहरु पढ्ने भोक भात खाने भोक जत्तिकै थियो । उहाँले पत्रकारिताको अभ्यास गरेको मात्र होइन स्वयं उहाँ पत्रपत्रिका अखबारहरुको अगस्ती–भोको पाठक पनि हुनुहुथ्यो । 


१११औं विपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियनद्वारा आयोजित ‘पत्रकारिताको सन्दर्भमा विपी ‘नामक कार्यक्रममा बोल्दै हरिहर विरहीले याद दिलाउनु भयो कि प्रधानमन्त्री रहेका बखत विपी कोइराला कम्युनिष्ट विचार राख्ने मदनमणि दीक्षितलाई ‘समीक्षा’ साप्ताहिकलगायत पत्रिकाको प्रकाशनका लागि आर्थिक सहयोग(मासिक रु.तीनसय) प्रदान गर्ने निर्णय गरेर राहत प्रदान गर्नुभएको थियो र भन्नुभएको थियो कि सरकारका कामहरुको आलोचना पनि हुनुपर्छ । मैले पनि स्वयं मदनमणि दीक्षित त्यो कुुरा लेखेको पढेको थिएँ । 


पर्चा, पम्पलेट, पुस्तिका, लिखित विचारहरु सैद्धान्तिक व्याख्यानहरु विपीको कति छन् कति । उहाँका डायरीहरु समेत सायद गुप्तचरहरुले संकलन गरेको मध्ये जवाहरलाल नेहरु लाइब्रेरी नयाँदिल्लीबाट कपी गरी ल्याई प्रकाशित भएका छन् । ८९ वर्ष अघि विपी कोइरालाले काठमाडौंबाट प्रकाशित गर्ने ‘शारदा’ मासिकमा वि.सं. १९९२ मा ‘चन्द्र बदन’ नामक कथाको अभिलेख छ । त्यसपछि ‘दोषी चश्मा’ कथा संग्रह, सुम्निमा, मोदीआइन, नरेन्द्र दाई, आत्मवृत्तान्त डायरी, जेल जर्नलहरु प्रकाशित भएका छन् । 


विपी कोइरालाको दाजु मातृकाप्रसाद कोइरालाका पनि केही कथा वि.सं. १९९० का दशकमा ‘शारदा’ मा प्रकाशित भएका छन् । विपीका भाइ तारिणीप्रसाद कोइराला पत्रकार, साहित्यकार, गीतकार, कविता लेख्ने कथाकार र संचारकर्मी हुनुहुन्थ्यो । ‘कसैको गुलाबी इशारा कि मन डगमगाई गयो’ जस्तो गानादेखि ‘आज देशको क्रान्ति युद्धमा हाम्रो एक प्रकार हो, लड्दालड्दै भरे गरौंला, यो एउटा नै नारा हो’ सम्मका गीतहरु रेकर्ड भएका छन् । 


अग्निवाटिका, फालिएको सामान, सर्पदंश, चित्रलेखा, तारिणीप्रसादका समग्र कथाहरु, कविता कोष इतयादि प्रकाशित छन् । २००७ मा ‘प्रजातन्त्र रेडियो नेपाल’ का संस्थापक र २००८ मा ‘रेडियो नेपाल’ का संस्थापक निर्देशक रहनु भएको सर्वविदितै छ । नेपाल रेडियो छाडेर फेरि २००९ पछि विराटनगरमा ‘कल्पना’ प्रेस खडा गरी कल्पना, आँधी, तुफान एउटा प्रतिबन्ध गरेपछि अर्को साप्ताहिक प्रकाशनहरु गरिरहनु भयो । 


विपी कोइरालालाई उहाँका कयौं भक्तहरुले ‘महामानव’ भनि सम्बोधन गर्दछन् । भारतीय लेखक र पत्रकार भोला चटर्जीले ‘प्रोस्टे«ट अफ ए रेभलुशनरी’मा उहाँलाई नेपालको म्यान अफ द सेन्चुरी भने । 


नेपाली राष्ट्रिय कांग्रेसको स्थापना वि.सं. २००३ माघ १३ गते (२६ जनवरी १९४७), स्थापना गरी जनताप्रति उत्तरदायी सम्पूर्णरुपले प्रत्यक्ष र प्रतिस्पर्धात्मक जनताद्वारा निर्वाचित प्रतिनिधिसभाको स्थापनाका लागि संघर्षहरु र त्यसको प्राप्ति उहाँको जीवनको अमर गाथा हो । 


हामीहरुले आज हेर्दा २०२५ सालमा राजा महेन्द्रले ८ वर्ष पछि विपीलाई काराबास मुक्त गरेपछि विदेशीको गुप्तचालमा परी फसी ‘संसदीय प्रजातन्त्रको पुनस्र्थापना’ को निम्ति भारतमा बसी हिंसात्मक इन्सर्जेन्सी उठाउनु, ओखलढुंगा काण्ड, हरिहरपुर काण्ड, हवाई जहाज हाइज्याकिङ काण्ड इत्यादि उहाँको हिमालयन बलन्डर अर्थात् हिमालय आकारका ठूला राजनीतिक महागल्ती थिए । 


तर, सन् १९७५ अप्रिल ९ (वि.सं.२०३१ चैत २७ गते) इन्दिरा गान्धीले सिक्किमलाई भारतमा गाभेको देखेपछि बीपी गहिरोरुपले सशंकित हुनुभयो कि नेपालीहरु माझ विभाजनले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा ठूलो खतरा आउन सक्छ । इन्दिरा गान्धीको खतरनाक विस्तारवादी छिमेक नीतिको आभाष हुँदै गयो । भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीको इमरजेन्सी तानाशाहीका दिनहरुमा भारतका राजनीतिक दलका धेरै ठूला नेताहरु यहाँसम्म कि आफ्नै पिता नेहरुका सहकर्मी मोरारजी देसाई स्वयं कांग्रेसी सांसद चन्द्र शेखर सिंहहरुलाई समेत थुनेकी थिइन । त्यो समय इन्दिरा गान्धीको तानाशाही विरोधी आन्दोलनको नायक र विपीका पुराना राजनीतिक गुरु जयप्रकाश नारायणको विदाईको साथ सन् १९७६ डिसेम्बर ३० (वि.सं. २०३३ पुस १६ गते) विपी, गणेशमान सिंहका साथ पटनाबाट काठमाडौं आई पक्राउ पर्नुभयो । 


विपी कोइराला स्पष्ट सोच भएको ठोस राष्ट्रवादी हुनुहुन्थ्यो भन्ने कुरा चीनका प्रधानमनत्री चाउएनलाईसँग सीमा प्रोटोकल सही गरी नेपाली चिनियाँ कर्मचारीहरुको संयुक्त टोली खटाई उत्तरी सीमाना सदासर्वदाका लागि स्पष्ट कोर्न लगाउनुभयो । ब्रिटिश गुलामीबाट एक साथ सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएका थिए । भारतसँग १९४७ मै दौत्य सम्बन्ध भयो भने पाकिस्तानसँग थाइल्याण्ड, मलेसिया, फिलिपिन्सभन्दा पनि पछि विपी कोइराला प्रधानमन्त्री भएको बखत २० मार्च १९६० (वि.सं. २०१६ चैत ७ गते) तेह्र वर्ष पछि भयो ।

 

त्यस समय प्रधानमन्त्री विपी कोइराला नक्साल नागपोखरी पश्चिम रिमालहरुको घर भाडामा बस्नुहुन्थ्यो । त्यसदिन मन्त्री रहनु भएका गणेशमान सिंह पुगी बिपीलाई केही नबोली दनादन सलाम गर्न थाल्नुभयो । विपीले हाँस्दै, ‘के भयो गणेशमान जी ?’ भनि सोद्धा नबोली एक सय सलाम गरेपछि भन्नुभएछ, ‘तेह्र वर्षसम्म कसैले आँट नगरेको काम पाकिस्तानसँग दौत्य सम्बन्ध गर्ने साहसलाई मैले सय पटक सलाम गरेको हो ।’ 
 

प्रतिकृया दिनुहोस