• सोमबार-कार्तिक-१२-२०८१

रवि : सरकार भन्छ भ्रष्ट, सडक भन्छ निर्दोष !

 

२०७९ मंसिर ४ गतेको आम निर्वाचनमा पहिले पहिलेका चुनावहरूभन्दा फरक नयाँ कुरा र परिणाम देखाप¥यो । पाँच छ महिना पहिले मात्र संस्थापन भएको नयाँ पार्टीले १०.७० प्रतिशत (दश दशमलव सत्तरी प्रतिशत) जनताको मत पायो । प्रतिनिधिसभा २० स्थानमा विजयी प्राप्त गरी देशको चौथो ठूलो संसदीय दल बन्न सफल भयो । 


२०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भयो । १० दिन पछि २०८१ असार १७ गते निर्वाचन आयोगमा दल दर्ता भयो । मंसिर ४ मा निर्वाचन भएको थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टीले अरु दलहरु झैं प्रान्तीय निर्वाचन लडेन । महाभ्रष्ट शीर्षस्थ नेताहरु नेतृत्वमा रहेका पुराना दलहरु रास्वपाबाट आत्तिए । 


राजधानी शहर काठमाडौंका ४ निर्वाचन क्षेत्रबाट चितवनका २ र ललितपुरको १ निर्वाचन क्षेत्रमा समेत यसको विजय भयो । नेपाली कांग्रेसका नेता गगन थापाविरुद्ध भने रास्वपाले कुनै उम्मेद्वार खडा गरेन मात्रै होइन सहानुभूति राखेर विजयी बन्न मद्दत ग¥यो । गगन थापाले २१,३०२ मत ल्याएर एमालेका उम्मेद्वारलाई ७४४७ को सानदार अन्तरले हराउनु भयो ।  काठमाडौं क्षेत्र नं. ६ बाट रास्वपाका शिशिर खनालले १४२०४ मत ल्याई एमालेका उम्मेद्वारलाई ५२५३ राम्रो अन्तरका साथ विजय प्राप्त गर्नु भयो । क्षेत्र नं. ८ बाट विराजभक्त श्रेष्ठले ४२१४ मतको राम्रो अन्तरले नेपाली कांग्रेसका उम्मेद्वारलाई हराउनु भयो । 


  काठमाडौं निर्वाचन क्षेत्र २ बाट पहिले चर्चामा धेरै नरहनु भएकी सोबिता गौतमले १५२२९ राम्रो मत पाएर विजयी हुँदा एमालेले ११५५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि १११०४ मत पाएको थियो । काठमाडौं क्षेत्र नं. १ बाट मात्र १२५ मतको अन्तरले नेपाली कांग्रेसका प्रकाशमान सिंहले ७१४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, पूर्व संचारकर्मी रविन्द्र मिश्रले पनि ७०१८ मत प्राप्त गर्नुभएको थियो । रवि लामिछानेले चितवनबाट ४९३०० मत प्राप्त गरेर विजयी भएपछि नागरिकता मुद्दा खडा गरियो । उहाँको प्रतिनिधिसभा सदस्यता समेत खोसियो । तर सर्वाेच्च अदालतले फेरि नागरिकता लिने बाटो खोलिदिएपछि भएको उपनिर्वाचनमा उहाँले पहिलेभन्दा झन् धेरै बढी ५४२७६ चितवनमा जनताले दिँदा नेपाली कांग्रेसका उम्मेद्वारले ११२५१ पाउँदा ४३०२५ को रेकर्ड मतान्तरको साथ विजयी हुनुभयो । 


भ्रष्टाचार, अनाचार र दुराचारको भण्डाफोर गर्ने लोकप्रिय संचारकर्मी रहँदै उहाँमाथि कहिले अमेरिका र नेपालको दोहोरो नागरिकता कहिले पुडासैनीको आत्महत्यालाई दुरुत्साहन गरेको मुद्दा लगाइयो र फसाइयो । तर, चितवनका जनताले र अरु ठाउँका जनतामा पनि उहाँलाई झुट्टै फसाएर थुन्न र उहाँ आवाज दबाउन षड्यन्त्र गरेको हो भन्ने धारणा बलियो भयो । थुनामा राखिएको चितवनमा उहाँको पक्षमा जनता प्रदर्शनहरु गरिराखे । पछि रवि लामिछानेले न्यायालयबाट मुक्ति पाउनुभयो । 


एउटा पनि सहकारी खडा गरेर जनताको बचत रकमको दुरुपयोग नगरेका रवि लामिछानेमाथि सहकारी ठगको आरोप षड्यन्त्रकारी भ्रष्टहरुले मुद्दा खडा गरेर थुनामा राखेका छन् । नवोदित जनतामा उदयमानी नयाँ पार्टीलाई समाप्त पार्ने दाउ उखेल्न, तोड्न, फोड्न सकिन्छ भन्ने दुरासयका साथ हिरासतमा राखिएको छ । 


तर, अब एउटा रवि लामिछानेलाई थुनेर एउटा आवाज बन्द गरेर तिमी भ्रष्ट षड्यन्त्रकारीहरु केही गर्न सक्ने छैनौ । किनभने धेरै धेरै मात्रै होइन असंख्य आवाजहरु सडकमा उठिसकेका छन् । तिमीहरुको षड्यन्त्र, भ्रष्टाचार, दुराचार, अनाचार र अत्याचारका विरुद्ध ! 


सडकमा धरानका रमेश प्रसाइँको स्वर घन्किराखेको छ । तिनीहरुका विरुद्ध तोशिमा कार्की, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, हरि ढकाल, सुमना श्रेष्ठ, मनिषा झा, सोबिता गौतम, असिम शाह, अनिल शाह, अशोक चौधरी, निशा डाँगी, सन्तोष परियार, बिनिता कठायत, स्वर्णिम वाग्ले, बिन्दवासिनी कंसाकार, शिव नेपाली, लक्ष्मी तिवारी र लाखौं नेपालीको आवाज उठिसकेको छ रविको रिहाइका लागि । 


पोखरा, काठमाडौं, चितवन, विर्तामोड, इटहरी, धनगढी देशभरी आन्दोलनका रुपमा आवाज उठिराखेको छ रविको लागि । भ्रष्ट षड्यन्त्रकारी तिमीहरु षड्यन्त्र स्वयं तिमीहरुका लागि नै बुम¥याङ बन्दैछ । अर्कालाई खसाल्न खनेको खाल्डोमा तिमीहरु स्वयं खस्दैछौं । (लेखकको निजी विचार) (साँघु साप्ताहिक, २०८१ कात्तिक १२)
 

प्रतिकृया दिनुहोस