• बुधबार-माघ-२-२०८१

गृह मन्त्रालय विवादस्पदहरुले भरिभराउ : गृहमन्त्री लेखक निरीह बनेकै हुन् र ? 

 


काठमाडौं । नक्कली लाइसेन्स, इम्बोस्ड नम्बर प्लेट जस्ता अनियमितताको छानबिन दायरामा परेका विवादित सहसचिवहरूलाई गृहमन्त्री रमेश लेखकले एकपछि अर्को गर्दै मन्त्रालयको जिम्मेवारी दिएर गाइजात्रा देखाएको चर्चा सुरु भएको छ । ०८१ साउन ३१ गते मन्त्री लेखकले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशकहरु डा. टोकराज पाण्डे र गोगनबहादुर हमाललाई मन्त्रालयमा भित्र्याएका छन् । मन्त्रालयमा रहेका सहसचिव नारायणप्रसाद भट्टराईलाई भने बाहिर पठाउन सकिरहेका छैनन् । सहसचिव भट्टराई, पाण्डेलगायत नै यतिखेर मन्त्रालयमा हर्ताकर्ता रहेको बताइन्छ ।


विभागमा रहँदा नक्कली लाइसेन्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निशानामा परेका सहसचिवहरुलाई मन्त्रालयमा निरन्तरता दिंदा भ्रष्टाचारीहरूको क्लव जस्तो हुने त होइन भन्ने खतरा रहेको मन्त्रालयमा कार्यरत केही इमान्दार कर्मचारीहरूले प्रश्न उठाएका छन् । २०८१ साउन ३१ मा मन्त्रालयमा भित्रिएका सहसचिवहरुलाई मन्त्री लेखकले लगभग एक महिनासम्म पनि जिम्मेवारी नदिएर किन मौन बसे ? भन्ने प्रश्नले जवाफ पाएको छैन ।


रवि लामिछानेले सहसचिव गोगनबहादुर हमाललाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए । यातायातदेखि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत रहँदा विवादमा परेका हमाललाई रवि लामिछानेले महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै आलोचना हुने गरेको थियो । उनलाई गृहमन्त्री लेखकले पनि महत्वपूर्ण जिम्मेवारी दिएर राखेका छन् । हमाल कुनै महत्वपूर्ण जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्ने चर्चा पनि छ । 


तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्था विभागबाट मन्त्रालयमा भित्र्याएका सहसचिवनारायण प्रसाद भट्टराईलाई रविले मात्र नभएर मन्त्री लेखकले समेत निरन्तरता दिईरहेका छन् । नारायणकाजी र रवि दुवैले बोकेका सहसचिवहरुलाई मन्त्री लेखकले पनि किन बोकेर निरन्तरता दिइरहेका छन भन्ने विषयमा नेपाली काँग्रेस निकट कर्मचारी यूनियनका नेताहरुले समेत भेउ पाउन नसकिरहेको बताउछन् । त्यसकारण पनि मन्त्री लेखको कार्यशैलीप्रति गम्भीर प्रश्न उठ्दै आएको गृह मन्त्रालय स्रोत बताउछ ।


मन्त्री लेखको यही गलत कार्यशैलीका कारण मन्त्रालयमा कांग्रेस र एमाले निकट राम्रा र इमान्दार कर्मचारी भित्रिन आनाकानी गरिहेको बताइएको छ । राम्रो काम गर्ने उपसचिव र सहसचिवहरूलाई सरकारले गृहमा सरूवा गर्न खोज्दा धेरैले नमानेको जानकार स्रोतले दावी गरेको छ । यसअघिका मन्त्री लामिछानेले गृह प्रशासनमा गरेको जथाभावी सरूवालाई लेखकले सच्च्याउन खोजे पनि सकिरहेका छैनन् । खासगरी, इलाका प्रशासक, सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको सरूवालाई तत्काल सच्याउने योजनामा मन्त्री लेखक रहेको बुझिएको छ ।

 

हालै मुख्यसचिवमा बढुवा भएका सचिव बैकुण्ठ अर्यालले साथ र सहयोग नगरेका कारण मन्त्री लेखकले चाहेर पनि कर्मचारीहरुको सरुवा गर्न सकेका थिएनन् । अब मन्त्रालयमा आफू अनुकूलका सचिव भित्र्याएपछि भने लामो समयदेखि जिम्मेवारी पाउन नसकेका आधा दर्जन सहसचिव र झण्डै दुई दर्जन उपसचिवहरुलाई विभिन्न जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय र अन्य निकायमा खटाउने योजना मन्त्री लेखकको रहेको मन्त्रालय स्रोतले जनाएको छ । (साँघु साप्ताहिक, २०८१ भदौ २४)

प्रतिकृया दिनुहोस