• मंगलबार-असोज-१-२०८१

गृहका सहसचिव र उपसचिवहरूको बिजोग  !


काठमाडौं । आफूलाई प्रशासनिक सुधार र सुशासनका लागि अब्बल प्रशासक दावी गर्दै आएका निवर्तमान गृहसचिव एवं कनिष्ठ भएर पनि मुख्यसचिव बन्न सफल भाग्यमानी एकनारायण अर्यालले मन्त्रालयमा सरुवा भएर आएका ६ जना सहसचिव र १८ जना उपसचिवहरूलाई लामो समय जिम्मेवारी नदिएर बरण्डामा सीमित राखेको गुनासो कर्मचारीहरुले गरेका छन् । मन्त्रालयमा सरुवा भएर भित्रिएका उनीहरूलाई लामो समयदेखि जिम्मेवारी नदिई सचिव अर्याल भने मुख्यसचिवमा बढुवा भएर हिजो २०८१ भदौ १६ गते आइतवारदेखि जिम्मेवारीसमेत सम्हालिसकेका छन ।


हाल गृहमा कास्की जिल्लाबाट सरूवा भएर भित्रिएका सहसचिव बासुदेव घिमिरेसहित ६ जना सहसचिव कुर्सीबिहीन रहेका छन् । ०८१ साउन ३१ गते मन्त्री रमेश लेखकको रोजाईमा चारजना सहसचिवहरु भित्रिएका थिए । डा. टोकराज पाण्डे, वसन्त अधिकारी, गोगन बहादुर हमाल र रमेश ढकाललाई मन्त्रालयमा भित्र्याएको थियो । तरपनि उनीहरु दुई सातादेखि वरण्डामा सीमित हुँदै आएका छन् । त्यति मात्र होइन, मन्त्रालयमा भित्रिएका करिब १८ जना उपसचिवहरूले जिम्मेवारी नपाएर बरण्डामै हाजिर गर्दै आएका छन् । कतिपय उपसचिवहरु मन्त्रालयमा भित्रिएको दुई महिना भन्दा बढी समय बितिसकेको स्रोतले बताएको छ ।


  स्रोतकाअनुसार, कतिपय सहसचिवहरुलाई अघिल्लो सरकारले ९–१० महिना अगाडिबाट बिभिन्न जिल्ला र निकायमा खटाएको भएपनि मन्त्रालयले फिर्ता गर्न सकेको छैन । उनीहरु  बिभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी सहायक सिडिओ भएर कार्यरत रहेका छन । त्यस्ता दर्जनौ अधिकारीहरूलाई मन्त्री लेखकले फिर्ता बोलाउने आँट नगरेको भन्दै नेपाली काँग्रेस निकट कर्मचारी संघले उनको कार्यशैलीप्रति आपत्ति जनाएका छन । ती कर्मचारीलाई अन्यत्र सरूवा गरी सक्षम, काबिल र मन्त्री निकटका सहसचिव र उपसचिवलाई जिम्मेवारी दिन निवर्तमान गृह सचिव अर्याल र मन्त्री लेखकले कुनै चासो नदिएकोमा संघका पदाधिकारीहरुले आश्र्चय प्रकट गरेका छन् ।

 

मन्त्रालयका कतिपय कर्मचारीले त मन्त्रालयमा भित्रिएका सहसचिव र उपसचिवहरुलाई समयमा उचित जिम्मेवारी दिन नसकेकोका सचिव अर्याललाई सरकारले मुख्यसचिवमा बढुवा गरेकोमा आश्चर्य मानेका छन् । कतिपयले त नवनियुक्त मुख्यसचिव अर्यालले निजामती प्रशासनलाई अवका दिनमा कता पु¥याउने हुन् भन्ने प्रश्नसमेत उठाएका छन । ०८१ असार असार ३१ गतेदेखि मन्त्रालयको नेतृत्व  गर्दै आएका र राजनीतिक रुपमा शालिन, भद्र र स्पष्टवक्ता भनिएका मन्त्री लेखकले पनि समयमा कर्मचारीलाई जिम्मेवारीमा खटाउन नसक्दा आलोचित हुँदै आएका छन् ।


  निवर्तमान सचिव अर्याललाई निर्देशन दिएर मन्त्रालयको बरण्डामा रहेका सहसचिव र उपसचिवहरूलाई जिम्मेवारीमा खटाउन ढिलासुस्ती गरेको भन्दै कर्मचारीहरु पनि असन्तुष्ट हुन पुगेका छन् । त्यति मात्र होइन, पछिल्लो समय विवादित पृष्ठभूमिका सहसचिवहरूलाई भित्र्याइएको भन्दै कर्मचारीहरुले आपत्ति प्रकट गर्दै आएका छन । खासगरी यातायात क्षेत्रको बेथिति र अनियमिततासँग जोडिएका सहसचिवहरूलाई निवर्तमान सचिवको सल्लाह र सुझावका आधारमा उनीहरुलाई भित्र्याइएको भन्दै कर्मचारी यूनियन सम्वद्ध कर्मचारी रुष्ट हुन पुगेका हुन् ।


यातायात क्षेत्रका चर्चित र विवादित ‘खेलाडी’ सहसचिवहरु पाण्डे, हमालदेखि उपसचिव हुँदा यातायात कार्यालयमा राइँदाइँ गरेका अर्का विवादित पात्र बसन्त अधिकारीसम्म यतिखेर गृह मन्त्रालयमा थुप्रिएका छन । जिम्मेवारी नपाएपनि यस्ता विवादित सहसचिवहरुको मन्त्रालयमा हालीमुहाली चल्न गरेको स्रोतले जानकारी दिएको छ । निजामती प्रशासनमा अर्थ र परराष्ट्रपछि गृह मन्त्रालयलाई आकर्षक र मालदार मानिन्छ । (साँघु साप्ताहिक, २०८१ भदौ १७)  
 

प्रतिकृया दिनुहोस