• शनिबार-भदौ-२२-२०८१

मालपोतका नासु र भूमाफियाको सेटिङ : हनुमन्तेको ७ रोपनी बगर दर्ता गर्न चलखेल

 

काठमाडौं । काठमाडौं उपत्यकालगायतका देशका प्रमुख शहरका सार्वजनिक जग्गा दर्ता गर्ने क्रम रोकिन सकेको छैन । सर्वोच्च अदालतले नै नदी किनाराभन्दा २० मिटर छाडेर मात्र घर बनाउन पाउनेगरी आदेश दिइसक्दा पनि अतिक्रमण गर्ने क्रम रोकिन सकेको छैन । 


यस्तै भूमाफियाको समूहले भक्तपुुरमा खोलाको बगरसमेत अतिक्रमण गर्ने प्रक्रिया अगाडि बढाएको खबर छ । भक्तपुरको हनुमन्ते खोलाको बगर दर्ता गर्ने भूमाफियाको गिरोह सक्रिय भएको हो । साविक दिब्यश्वरी बालकोटको वडा नम्बर ३ र हाल सूर्यबिनायक नगरपालिका वडा नम्बर १५ मा पर्ने हनुमन्ते खोलाको बगर दर्ता गर्न भूमाफियाको गिरोह दौडधुपमा लागेको छ । स्रोतका अनुसार, मालपोत कार्यालय भक्तपुरका नायबसुब्बा यदु आचार्य र मणि भण्डारीको मिलेमतोमा साविक दिब्यश्वरी बालकोट वडा नम्बर ३ र हाल सूर्यबिनायक नगरपालिका १५ को हनुमन्ते खोलाको बगरको कित्ता नं. १५२३ र २ मध्ये १२ बर्गमिटर र ३५६०.५० र बर्गमिटर(झन्डै ७ रोपनी) सरकारी जग्गा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएका छन् । 


नदीको बगर स्वतः सरकारी जग्गा हो । तर, भूमाफिया भण्डारी र नासु आचार्यले हनुमन्ते खोलाको उक्त जग्गा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको स्रोतको दावी छ । सरकारी जग्गा र नदीको बगर दर्ता हुनबाट रोक्ने काम सरकारका निकायहरुको हो, तर ती निकायले चासो नदिंदा हजारौ रोपनी सरकारी जग्गा संरक्षणको अभावमा भूमाफियाको अतिक्रमणमा पर्दैआएका छन् । ७ रोपनी हनुमन्ते खोलाको बगर अतिक्रमण गरी दर्ता गर्ने र प्लटिङ गरी करोडौंमा बिक्री गर्नेगरी भण्डारीको समूह लागेको नापी स्रोत बताउछ । नदी किनारामात्र होइन, बगर समेत अतिक्रमण गरी घडेरी बनाउने, बस्ती बसाल्ने र हरेक बर्ष हनुमन्ते र मनोहरा खोलामा आउने बाढीले भक्तपुरका बस्ती डुबानमा पर्ने गरेका छन् । 


 सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले उपत्यकाका नदीबाट २० मिटरभित्र घर बनाउन नपाउनेगरी नक्सापासमा रोक लगाइसकेका छन् । तर नदीकिनारमा मात्र होइन, बगर नै अतिक्रमण गर्ने क्रम रोकिन सकेको छैन । काठमाडौंका मेयर साहले सरकारी जग्गा र नदी किनारामा हुने संभावित क्षति र डुबान रोक्न यस्तो कदम चाले पनि उपत्यकाका अन्य पालिकाले भने अदालतको आदेश पालना गराउन गम्भीर हुन नसक्दा भक्तपुरको हनुमन्ते किनाराका जग्गामात्र होइन, बगरसमेत अतिक्रमण गर्न भूमाफिया लागेको भन्दै स्थानीयहरुले गुनासो गरेका छन्  । 


हाल चावहिल मालपोत कार्यालय बसेको ठाउँ नजिकै धोवीखोलाले धार परिवर्तन गर्दा खाली भएको बगरको १२ आना जग्गा मारवाडी सेवा समितिका पूर्वअध्यक्ष तथा गणपति जापानीज पेन्ट कान्साइ नेरोलिकको ट्रेडमार्क चोरीमा मुछिएका कैलाशचन्द्र गोयलले अतिक्रमण गरेका छन् । काठमाडौंको अनामनगरका धेरै जग्गा धोबीखोलाले धार परिवर्तन गरेपछि २०४८ पछि नै अतिक्रमणमा परेका थिए । सरकारका उच्च ओहोदामा बसेका न्यायाधीशसमेत उच्च प्रशासकहरुले नै त्यस क्षेत्रको जग्गा हड्पेको आरोप छ । 


अक्सिडेन्टल स्कूलले अतिक्रमण गरी पर्खाल लगाएको जग्गा त मेयर बालेन साहले खाली गरिसकेका छन् । अनामनगर धोवीखोला, देवीनगर धोबीखोला किनार अतिक्रमण गरी घर बनाएका भद्रा घले लगायतका धेरै घर र जग्गा मेयर साहले २ बर्षअघि भत्काई खाली गराएर प्रशंसा कमाएका छन् । (साँघु साप्ताहिक, २०८१ भदौ १७)
 

प्रतिकृया दिनुहोस