• मंगलबार-भदौ-३१-२०८२

मुगुमा चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन


मुगु, ३१ भदौ : आसन्न दसैँतिहारजस्ता ठूला चाडपर्वलाई ख्यालगर्दै सोमबारदेखि यहाँ सहुलियत मूल्य पसल सञ्चालन गरिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयद्वारा सञ्चालन गरिएको पसलमा सहुलियत दरमा दैनिक उपभोग्य सामग्री राखिएका छन् । 

 

पसलमा उपभोक्ताले चामल, तेल, चिनीलगायत प्रमुख खाद्य सामग्री छुट मूल्यमा खरिद गर्न सक्नेछन् । बजारमा सामान्यतया महँगो मानिने रिम्स जिरा चामलदेखि अरुवा सोना चामल, मध्यम तथा मोटा चामलसम्म सस्तो मूल्यमा पाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै सूर्यमुखी, तोरी र सोयाबिन तेल तथा चिनी पनि छुटमा बिक्री गर्ने तयारी गरिएको छ ।

 

सहुलियत पसलबाट कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । हरेक चाडपर्वमा बजारमा अचानक मूल्य बढ्ने, उपभोक्तालाई ठगिने तथा व्यापारीले कृत्रिम अभाव सृजना गर्नेजस्ता समस्या देखिने भएकाले यसपालि समयमै सहुलियत पसल सञ्चालन गरिएको शाखा प्रमुख केशव गिरीले जानकारी दिनुभयो ।

 

स्थानीय उपभोक्ताले भने सहुलियत पसलले आफूहरूलाई प्रत्यक्ष राहत पुगेको बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सहुलियत पसल नियमित रूपमा सञ्चालन हुने र आवश्यकताअनुसार थप सामग्री उपलब्ध गराउने तयारी गरिएको छ । 
–––

 

प्रतिकृया दिनुहोस