काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव यतिबेला केन्द्रीय समितिको बैठकमा व्यस्त छन् । २०८१ जेठमा केन्द्रीय सदस्य र पार्टी पदाधिकारी चयन नै नगरी महाधिवेशन सकेका अध्यक्ष यादवका लागि पदाधिकारी चयन फलामको चिउराजस्तै भएको छ । केन्द्रीय समितिका सदस्यहरुको नाम त बल्ल तल्ल निर्वाचन आयोगमा पठाएका थिए । महाधिवेशन सकेको एक महिनापछि २०८१ असार २७ गते निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको सूची पठाएर अध्यक्ष यादवले एउटा असन्तुष्टि रोकेका थिए । त्योभन्दा ठूलो अससन्तुष्टि चाहिँ पदाधिकारी चयनमा देखिएको छ ।
त्यही असन्तुष्टिलाई थप मलजल नहोस् भन्नका लागि उनले पदाधिकारी चयन प्रक्रिया नै अगाडि नबढाउने संकेत दिन थालेका छन् । पार्टीभित्र बढ्दो असन्तुष्टिलाई व्यवस्थापन गर्नुपर्ने बाध्यतमा रहेका यादवले जसलाई पदाधिकारीमध्ये सहअध्यक्ष र महासचिव बनाउँछन् त्यसपछि लफडा भइहाल्ने संभावना रहेको छ । सहअध्यक्षका लागि तीन जना नेताहरुको दावी छ । तीनजनामध्ये सबैभन्दा ठूलो डर राजकिशोर यादवसँग रहेको छ । उपेन्द्र यादवका लागि अहिले टाउको दुुखाईको पात्र नै राजकिशोर यादव रहेका छन् । चुनाव गराउने हो भने सहअध्यक्षमा सहजै राजकिशोरले जित्ने संभावना रहेको छ । किनभने केन्द्रीय समितिमा पनि यादव बाहुल्य बनाउन खोजिएको छ र जसपालाई यादवको पार्टीजस्तो बनाउने मनोविज्ञान केन्द्रीय सदस्यमात्र होइन ,उपेन्द्र यादव स्वयम् को देखिन्छ । तर, राजकिशोरलाई अगाडि लैजान उपेन्द्र यादवको मनले दिएको छैन ।
विगतमा धोका दिएका राजकिशोरलाई अगाडि लैजान नचाहेका कारण रकम चेम्जोङलाई अगाडि सार्न खोजेका छन् । तर, उनको पक्षमा पार्टीभित्र ठूलो माहोल भने छैन । अनि चेम्जोङलाई सहअध्यक्ष बनाईयो भने केही सांसद लिएर राजकिशोर यादवले पार्टी नै छोड्ने संभावना रहेको पनि चर्चा भइरहेको छ । त्यसले पनि उपेन्द्र यादवको टाउको दुखाइरहेको छ । त्यसमा लालबाबु राउत पिल्सिएका छन् । उनी पनि सहअध्यक्षको दाबेदार हुन् ।
पार्टीभित्र राम्रो पहँुच भएका राउतलाई मुख्यमन्त्री नदिएको कारण उनले सहअध्यक्ष पाउनुपर्ने दाबी पनि गरिरहेका छन् । तर, उपेन्द्र यादवले निर्वाचन आयोगमा बुुझाएको सूचीमा भने रकम चेम्जोङको नाम दोस्रो नम्बरमा रहेको छ । आफूपछि चेम्जोङको नाम राखेर पठाएको सूचीमा निकै तल राजकिशोर यादवको नाम रहेको छ । त्यसले गर्दा एउटै पदमा पनि त्यसरी लफडा देखिन थालेपछि यादवलाई समस्या पर्नु स्वभाविक हो । तर, पछिल्ला दिनमा महासचिव पनि त्यही हालत देखिएको छ ।
माओवादी छोडेर आएका रामकुमार शर्मामात्र होइन, प्रवक्ता मनिष सुमन दीपक कार्कीससहितका आधा दर्जन नेता महासचिवका लागि दाबेदार रहेका छन् । जसपाको विधानमा पदाधिकारी हुन केन्द्रीय समिति भइसकेको हुनुपर्ने व्यवस्था रहेको छ । तर, शर्मा केन्द्रीय समितिमा भएका व्यक्ति होइनन् । उनी त भर्खरै सूचीमा रहेका व्यक्ति हुन् । त्यसैले, पनि लफडा भएको हो । त्यसैले, आइतबारबाट जारी केन्द्रीय समितिको बैठकमा जसपाले राजनीतिक विषयमा छलफल गरेपनि आफ्नो सांठनिक निर्णयमा भने केही पनि गर्न नसक्ने अनुमान भइरहेको छ । (साँघु साप्ताहिक, २०८१ साउन २८)



