• बुधबार-माघ-२-२०८१

माधव नेपाललाई कांग्रेसको भर 

 

काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी विभाजनको डरले आक्रान्त भएको छ । एमालेले रणनीतिक  रुपमा पार्टी विभाजनको रणनीतिमा लागेको छ । त्यसमा केही सांसद र नेताहरुसमेत सक्रिय रहेका छन् । त्यसरी नै कांग्रेस र माओवादी केन्द्र भने एसको विभाजन रोक्ने उपायको खोजीमा रहेका छन् ।  माधव नेपाललाई एमालेभन्दा बाहिर राखेर १० सीटको पार्टी कायम राख्दा संभावित समीकरणमा सहज हुने अनुमान सहित प्रचण्ड र शेरबहादुर देउवा एसको बचाउमा रहेको बताइएको छ । 


एमाले भने जतिसक्दो चाँडो पार्टीका सांसदलाई आफ्नो पार्टीमा ल्याउने र संसदको पहिलो पार्टी बन्ने रणनीति लिएको छ । त्यसो गर्दा एमालेलाई भोलीका दिनमा संविधानको धारा  ७६ को उपधारा ३ अनुसार संसदको पहिलो पार्टीले सरकार बनाउने उपायमा पनि काम लाग्ने रणनीतिमा देखिन्छ । जसपा  नेपालबाट विभाजित अशोक राईको समूहलाई पनि आफ्नो पार्टीमा ल्याउने एमालेको नीति रहेको छ । तर, अदालतमा उनीहरुको पार्टी विभाजनसम्बन्धी विषय अलमलमा रहेका कारणले राईको समूहले निर्णय लिने  संभावना रहेको छैन । त्यसैले केही अलमलमा परेको देखिन्छ ।

 

त्यसो त, कांग्रेस पनि एमालेको उक्त रणनीतिबारे जानकार नै  रहेको छ । कांग्रेस र माओवादीले नै बनाएको पार्टी भएका कारण एसलाई छुट्टै अस्तित्वमा राख्न चाहेको देखिन्छ । माओवादी केन्द्र र कांग्रेसका लागि एसलाई बाहिर राख्दा नै फाइदा हुने भएकोले उक्त प्रयास भइरहेको छ । एसभित्र चाहिँ प्रमेश हमालसहितको टोली  माओवादी केन्द्रसँग एकता गर्नुपर्ने लाइनमा देखिएका छन् भने राजेन्द्र पाण्डेसहितको टोली भने एमालेमा जानुपर्ने लाइनमा रहेको एस स्रोतको भनाइ छ । 

 

अहिले आफ्नो  पार्टी बचाउने र बनाउने भन्दा पनि एमाले  र माओवादी मध्ये कुनमा जाने भन्ने चाहिँ बहस देखिन थालेको छ । पार्टीले गरिखादैन भन्दै नेताहरु पार्टी कार्यालयमै निराशा व्यक्त गरिरहेका छन् । अहिले पछिल्ला दिनमा प्रधानमन्त्री केपी ओलीले भने एसलाई  कमजोर बनाउने नीति लिएका छन् । त्यसक्रमा उक्त पार्टीबाट पहिला राजनीतिक नियुक्ति खाएकाहरुलाई हटाउन खोजिरहेका छन् । त्यसले पनि उनीहरु पार्टी छोड्ने कि जागिर भन्ने अन्यौलमा पर्न थालेका छन् । 

 

केही भने जागिर जोगाउन पनि पार्टी छोड्नतिर लागेका छन् । त्यसैले, अहिले एस संकटको भूमरीमा परेको छ । त्यही संकटमा परेका कारणले पदाधिकारी चयनमा पनि समस्या भइरहेको छ । एसले पनि पदाधिकारी बनाउन सकेको छैन । माधव नेपाल पुरानै पदाधिकारीलाई दोहो¥याउने प्रयासमा रहेका छन् । तर, पुरानाबाट पार्टी नचल्ने भन्दै अर्को पंक्ति चाहिँ नयाँ पुस्ताबाट पनि पदाधिकारी बनाउनुपर्ने तर्क गरिरहेका छन् । (साँघु साप्ताहिक, २०८१ साउन २८) 
 

प्रतिकृया दिनुहोस