• आइतबार-भदौ-२३-२०८१

राजदूत सिफारिस गर्ने आधार के के हुन् ?

 

‘जान्नेलाई छान्ने’ बुकुल्टो नारा दिने ‘रविको स्वतन्त्र’ पार्टीले राजदूत छान्न निवेदन मागेपछि विवाद भइरहेको छ । राजदूत कस्तो पद हो ? किन राजदूत नियुक्ति गरिन्छ ? राजदूतको न्यूनतम मापदण्ड के के हुन् ? भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र देशको सार्थक प्रतिनिधित्व कसरी गराउने भन्ने आधारभूत कुरामा नै रवि रास्वपाको दल प्रष्ट छैन । आलोकाँचो हर्कत, बचपनापन र सस्तो प्रचारवाजी मात्र गरियो । ‘चिचिलोको तमतमाइँला’ बुद्धिले कूटनीतिक मूल्य बुझेन । 


कूटनीति के हो ?
कूटनीति राजनीति र विदेश नीतिको नरम तथा बौद्धिक नीति हो । यसमा द्वन्द्व, हमला, झगडा, हस्तक्षेप र दमनको अस्त्र प्रयोग गरिँदैन । कूटनीति विदेशमा गरिने देशको नीतिको विस्तारित रुप हो । कूटनीतिमा सैन्य कूटनीति, व्यापरिक कूटनीति, राजनीतिक कूटनीति, विदेश नीति आदि अनेक खालका नीति समावेश हुन सक्दछन् । कूटनीति देश–देशका बिचमा र भूराजनीतिमा गरिएका हुन्छन् । देशले आफ्नो सरकारी प्रतिधिधि पठाएर गर्ने कूटनीति पहिलोस्तरको (ट्र्याक वान डिप्लोमेसी) हो । देशका चर्चित व्यक्तिहरू, खेलाडी, चलचित्रकर्मी, व्यापारी, उद्योगी, पर्यटक, लेखक र पूर्वकूटनीतिज्ञ आदिको सहयोग र समन्वयमा गरिने कूटनीति दोस्रो तहको (ट्याक्ट टू डिप्लोमेसी) हो । अन्तर्राष्ट्रिय सम्बन्धको विकास र विस्तार गर्न दुवै नीतिको प्रयोग गरिने गरिएको पाइन्छ । 

 

राजदूत के हो ?
विदेशमा वा देशले खटाएको नियोगमा मुलुकको आधिकारिक सरकारी प्रतिनिधित्व गर्ने राजदूतावासमा रहने प्रमुख व्यक्ति राजदूत हो । राजदूतलाई ‘भेयना कन्भेन्सन अल ल अफ डिप्लोमेटिक रिलेसन’ सन् १९६१ नामको अन्तर्राष्ट्रिय कानूनले निश्चित अधिकार, सुविधा र छुट आदि दिएको छ । मुलुक अनुसार राजदूत पठाउने आ–आफ्नै कानून, प्रचलन र अभ्यास रहेका छन् । राजदूत देशको सरकारी प्रतिनिधिको पद हो । तसर्थ उसले देश र मुुलुकको सरकारको नीति, निर्देशन, राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुन र अभ्यास तथा देशको स्वार्थ एवम् हितमा कार्य गर्दछ, गर्नुपर्दछ । 

 

 कुशल, सक्षम र योग्य राजदूतले गर्ने कूटनीतिले देशको छवि उच्च हुने सम्भावना हुन्छ । असक्षमबाट कूटनीतिक गिर्ने वा मुुलुकको बृहत् हितमा कार्य नहुने आदि हुन सक्दछ । एउटा राजदूतको कूटनीतिक क्षमताको कारण दुई देशबिचको सम्बन्ध सुधार हुने, विदेशमा मुलुक बढी चिनिने र देशको हितका धेरै काम हुने हुन सक्दछ । राजदूतको कार्यशैली, प्रस्तुति तथा आवश्यक सक्रियताले देशको धेरै हित सुनिच्चित हुन सक्ने सम्भावना रहन्छ । अर्काेतर्फ राजदूतका कार्य, गतिविधि, प्रस्तुति र सक्रियता भएन भने देशले पाउनु पर्ने प्रतिफल नपाउने अवस्था हुन्छ । यसर्थ राजदूतको पदलाई सम्मानित, मर्यादित र उच्च ओहोदाको पद मानिएको हो । यही कारण यस्ता पदमा व्यक्तिको छनोट र प्रस्तावित गर्दा हल्का, खेलाँची र केटाकेटीपना देखाउने र सस्तो प्रचारवाजी गर्ने तरिका गर्नु हुँदैन । जुन सस्तो तरिका रवि लामिछानेले अपनाए । 

 

के चाहिँ होइन ?
राजदूत केवल विश्वविद्यालयको डिग्री मात्र प्राप्त गरेको मान्छेले प्रतिनिधित्व गर्ने पद पनि हुन सक्दैन । राजदूत कुनै एउटा विषयमा धेरै जानेर विज्ञ भएको मान्छे छान्ने विषय पनि होइन । राजदूत ‘गोरखाको लिगलिगकोटमा दौडेर को पहिला हुन्छ त्यै राजा हुन्छ भने जस्तो’ गरी छान्ने पद पनि होइन । 


एउटा विषयको डिग्री हुनु र देशको सार्थक र अर्थपूर्ण प्रतिनिधित्व गर्न सक्नुमा फरक कुरा हुन्छ । डिग्री हुनु आधारभूत र अत्यावश्यक हो । त्यो चाहिन्छ, चाहिन्छ । तथापि भूराजनीति, कूटनीति, देश, समाज र मूलतः मुलुकको समग्र राजनीतिक–संवैधानिक प्रणाली नबुझेको र त्यसको सार्थक अपनत्व, अनुभूति र प्रतिनिधित्व गर्नै नसक्ने मान्छे डिग्री भए पनि राजदूतको लागि सर्वाधिक अयोग्य हो । 

 

राजदूतमा राजनीतिक मान्छे होइन, हुनुहुन्न भन्ने जस्तो सस्तो, बचपना, हल्का र काँचो तर्क पनि गरिन्छन् । केवल जेल परेको, अध्ययन–अनुसन्धान नगरेको, भूराजनीति नबुझेको र पूरानो पार्टी सदस्य मात्र भएको मान्छे चाहिँ अयोग्य हुँदै हो । हल्का ढंगले राजनीतिक मान्छे होइन, हुँदैन भन्ने तर्क कूटनीतिलाई नबुझ्नेहरूको प्रचारवाजी मात्र हो । योभन्दा वाहियात तर्क अर्काे  हुँनै सक्दैन । जबकि अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको आधारधूत तत्व भनेको भूराजनीति हो । 

 

अर्थात् राजनीतिशास्त्रलाई अलग गरेर कूटनीति बुझ्नै सकिन्न । गाँठी कुरो यही हो । राजदूतको सार्वजनिक आवेदन माग गरेको विषय कतिलाई सही लाग्न सक्ने भए पनि राजनीतिशास्त्र, भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय राजनीति, देशको संविधान, शासन व्यवस्था र सरकारको प्राथमिकतालाई अन्यत्र पन्छएर ‘क्षणिक टाँइफाइँलाई आधार मानेर’ छानिएका कुनै पनि व्यक्ति कूटनीतिमा कच्चा र बच्चा हो । यस्तो प्रमुख र आधारभूत कुरामा नै रवि र उनको समूह अप्रष्ट रह्यो । 

 

राजदूत कसरी छान्ने ?
राजदूत कसरी प्रस्तावित गर्ने वा छान्ने भन्ने देश–देशका आ–आफ्ना संविधान, कानून, विधि, प्रक्रिया र अभ्यास रहेका हुन्छन् । अमेरिका, बेलायत, भारत आदि मुलुकहरूमा हेर्ने हो भने सत्ता र सरकार परिवर्तन भएसँगै सरकारले राजदूतहरूको पनि आवश्यकता अनुसार परिवर्तन गर्ने गरेको देखिन्छ । यसमा परराष्ट्र मन्त्रालय वा विभागमा कार्य गर्दै आएका उच्च सरकारी अधिकारी र राजनीति, कूटनीतिक, सार्वजनिक, प्रशासनिक र अन्तर्राष्ट्रिय सबन्धसम्बन्धी क्षेत्रमा कार्य गरेका वा विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका प्राध्यापक आदिबाट समेत छनोट गरी नियुक्ति गर्ने अभ्यास तथा प्रचलन रहेको देखिन्छ । 


यसरी हेर्दा सरकारले उपयुक्त ठानेका, छानेका र देशको कानुन अनुसारको मापदण्डमा पर्नेहरूलाई नियुक्ति गरेर पठाइने गरिएको पाइन्छ । नेपालको अभ्यास हेर्दा परराष्ट्र सेवाका उच्च अधिकारी र राजनीतिक क्षेत्रबाट आधा–आधाको संख्यामा नियुक्ति गरिँदै आएको छ । चीनमा उसको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा काम गर्दै आएका र विश्वविद्यालयमा अध्यापनरतहरूलाई राजदूत बनाउने अभ्यास रहेको छ । यस्तो राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास र  प्रचलन विपरीत रविको पार्टीले गरेको तरिका केवल सस्तो प्रचारवाजी मात्र हो । जसको कुनै अर्थ छैन । त्यो देखाउनको लागि मात्र गरिएको हो । खासमा उसले पनि गर्ने चाहिँ पुरानै विधि हो । आफूलाई चाहिएको मान्छे ल्याउने हो । सकियो † जुन विगतदेखि चलनमा रह्यो ।

 

विगतमा कस्ता गल्ती भए ?
विगतमा गरिएका राजदूत नियुक्ति सम्बन्धी अभ्यास हेर्ने हो भने धेरै खालका विवाद, आलोचना र टिप्पणी हुने गरेका छन् । राजदूत सार्वजनिक चारो र सरोकार भएको पद पनि भएकाले यसरी चर्चा हुनु आवश्यक पनि छ । नेपाली काँग्रेसले चलाएका सबैजसो सरकार हुँदामा उसले आफ्ना आसेपासे, भाइभतिजा, नातेदार, म्यानपावर व्यवसायी, चन्दादातादेखि निजी स्वार्थ भएका ‘आउट डोर रोमान्टिक सेक्स पार्टनर’ समेतलाई नियुक्ति ग¥यो । यही कारण विगतदेखि राजदूत पद बढी आलोच्य र विवादित बन्यो । पार्टी गठनको मितिको हिसाबले पुरानो भए पनि राजनीतिक दल संस्थागत नुहुनु, लोकतान्त्रिक विधिमा नचल्नु, लोकतान्त्रिक प्रणाली आत्मसात गर्न नसक्नु र निजी हितमा मात्र लाग्नु जस्ता कारण काँगे्रसमा देखिए । 


एमालेले ठिक ठिकै ग¥यो 
विगतको अभ्यास हेर्ने हो भने नेकपा एमाले तुलनात्मक रुपमा विवाद नपरेका र केही व्यक्ति चाहिं कूटनीति बुझेकालाई पनि ग¥यो । एमालेले आफ्नो परराष्ट्र क्षेत्रमा कार्य गरेका, सबन्धित विषयमा विज्ञता हासिल गरेका, देश, शासन, पार्टी र राजनीति बुझेको व्यक्ति पनि नियुक्त भएका थिए  । त्यसैले एमालेले पनि ‘राम्रा मान्छे हाम्रा मान्छे होइन कि हाम्रा मान्छे राम्रा मान्छे’ नीति अख्तियार गर्दै आएकले थुप्रै पक्षमा एमालेले आफूलाई सच्चाउँदै अघि बढ्नु पर्ने जरुरी छ ।


सारमा
राजदूतको पद देशको प्रतिनिधित्व विदेश वा अन्तर्राष्ट्रिय नियोगमा गर्ने संवेदनशील पद हो । यसमा भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति पढेको, बुझेको, अध्ययन–अनुसन्धान गरेको, देशको संवैधानिक–कानूनी प्रणाली र देशको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, भौगोलिक र बदलिँदो आवश्यकता बुझेको, राजनीतिक प्रणाली र लोकतन्त्र बुझेको, लोकतन्त्रप्रति लगाव र अपनत्व भएको मानिस आवश्यक भएकोले त्यस्ता मान्छे पार्टीले प्रस्तावित गर्नु पर्दछ । राजनीतिक मान्छे हुँदैन भनेर हल्का ढंगले भन्ने र देशै नबुझेको, लोकतन्त्रप्रति विश्वास र अपनत्व नै नभएको, भूराजनीति एवम् राजनीति नै नबुझेको कुनै एक विषयको डिग्री होल्डरले मुलुकको सार्थक प्रतिनिधित्व गर्नै सक्दैन । त्यसको अर्थ छैन । 


यसर्थ समग्रतामा मूल्याँकन गरी राजदूत प्रस्तावित गर्नु पर्दछ । सस्तो, हल्का र केटाकेटीको ‘क्लास मनिटर चुने जसरी’ वा टोलमा उपभोक्ता समितिको कार्य समितिमा मान्छे छाने जसरी राजदूतको पद सडकमा लगेर आवेदन माग गर्ने कुराले देश, सरकार र मुलुकको हित गर्न सक्दैन । यस्तो हल्का अभ्यास अन्तर्राष्ट्रिय क्षेत्रमा देखिँदैन । बरु पार्टीको विदेश विभाग र केन्द्रीय कमिटीको बैठकबाट सम्भावित मान्छेहरूमध्येबाट छान्ने कुरा चाहिँ हुने गरेको देखिन्छ । सस्ता, हल्का र केटाकेटीको खेलको तरिकाले प्रणाली बलियो बन्न सक्दैन । रवि लामिछाने नेतृत्वको रास्वपाले पार्टीको संस्थागत स्वरुप ग्रहण गर्न नसकेको भद्दा उदाहरण हो यो । (साँघु साप्ताहिक, २०८१ असार २४) 
 

प्रतिकृया दिनुहोस