• आइतबार-पौष-२१-२०८१

‘जनवादी केन्द्रीयता’ विरोधी ‘अराजक’लाई ‘छुट’ दिनुपर्ने ?

 

एमाले जस्तो लोकतान्त्रिक विधि, पद्धति र प्रणालीमा चलेको कुनै पार्टी छैन । व्यक्ति जतिनै ठूलो पदको वा हैसियतको भएपनि पार्टीको संस्थागत निर्णय भन्दामाथि हुँदैन । जनवादी केन्द्रयता र लेलिनवादी संगठानात्मक सिद्धान्तको प्रमुख आधार विरूद्ध नेतृत्व र नीतिलाई खुइल्याउने कार्य गर्ने जोकोहीलाई कारबाही गर्नु पर्दछ । एमालेको नेतृत्व, पार्टी र संस्थागत निर्णय विरूद्ध सार्वजनिक–सामाजिक सञ्जालमा बोल्नेलाई एमालेको पदमा बस्ने नैतिक अधिकार हुन्छ र ?

 

जनवाद र केन्द्रीयता
एमाले पार्टी माक्र्सवादी–लेलिनवादी दर्शन र जनताको बहुदलीय जनवादी सिद्धान्तद्वारा निर्देशित र सञ्चालित रहेको छ । लेलिनवादी संगठानात्मक सिद्धान्तमा प्रत्येक सदस्य कन्द्रीय महाधिवेशनको फैसला र नीतिद्वारा निर्देशित हुन्छ, हुनुपर्दछ । केन्द्रिय कमिटी अन्तर्गत तल्ला कमिटी हुन्छन् । व्यक्ति संगठन मातहत हुन्छ । व्यक्तिले आफ्ना धारणा आफ्नो कमिटीको बैठकमा विधिवत राख्न पाउने हुन्छ । फरक मत र विचार राख्न पाइन्छ । त्यसरी आफूलाई लागेको धारणा विधान, विधि, पद्धत्ति र अभ्यास अनुसार राख्न पाउने कुरा ‘जनवाद’ हो ।

 
यद्यपि आफूलाई लागेको भन्दा फरक तरिकाको वा फरक विचारको निर्णय पार्टी वा कमिटीबाट हुनसक्छ । चित्त नबुझेपनि आफूलाई लागेको भन्दा फरक निर्णय मान्न व्यक्ति बाध्य हुनुपर्दछ । कम्युनिस्ट पार्टी कुनै विचारविहीन अराजक भीड होइन । व्यक्तिलाई कमिटीको निर्णयले नियन्त्रण गर्ने कुरा हुन्छ । त्यो जनवादी केन्द्रीयता हो । 


व्यक्ति आफूलाई लागेको विचार र धारणा आफ्ना कमिटी वा बैठकमा विधिवत राख्न स्वतन्त्र हुने भए पनि संस्थागत निर्णय वा पार्टी कमिटीको आधिकारिक धारणा नमान्ने र जथाभावी सार्वजनिक अभिव्यक्ति दिने, पार्टीको निर्णय र फैसलाको सार्वजनिक ढंगले ‘पखाल्ने’ र विरोध गर्ने छुट कमिटीका कुनै पनि सदस्यलाई हुँदैन । जनवादी केन्द्रीयताको आधारभूत मान्यता र मर्म हो यो । एमाले यही मूल्य र सिद्धान्तद्वारा सञ्चलित रहेको प्रस्टैछ । कमिटीमा पद वा जिम्मेवारी लिएर आफू एमालेको ‘नेता’ बन्ने र आफूलाई चित्त नबुझेका कुरा चाहिँ कमिटीमा विधिवत होइन जथाभावी सार्वजनिक गर्ने कोही नेता हुन्छ ? उसलाई त्यसरी अराजक हुने छुट वैधानिक, सार्वजनिक र नैतिक रूपमा कसले दियो ?


 हालै एमालेले डा. भीम रावल सहितका ‘नेता’लाई कारबाही गरेपछि सामाजिक सञ्जालमा एमाले नेतृत्वविरुद्ध ‘स्यालहुइया’ पाराले विरोध गर्ने गरिएका छन् । एमालेविरोधी, लोकतन्त्रविरोधी, प्रतिगामी र ‘गतिछाडाहरू’ वा ‘माकुनेमा रहेका पूर्वएमालेहरू’को ‘लहैलहै’मा लागेर केही एमालेका ‘असल’ मान्छेसमेत ‘होहो’ गर्दैछन् । विधि, पार्टी निर्णय र अराजक गतिविधि गर्ने जोकोहीलाई विधिअनुसार कारबाही गर्नैपर्दछ । होइनभने अनुशासनहिनहरूको झुन्ड तयार हुन्छ । यो विषयलाई लिएर एमालेको विरोध गर्नेहरू अराजक समूह र विचारविहीन हुन् । जनवादी केन्द्रीयताको भावना र मर्म नबुझेकाहरूको ‘चियाको कपमा तुफान’ ल्याउने प्रयास मात्र हो ।

 

यस्तोमा जनवादी केन्द्रीयताको अर्थ, मर्म र भावना नबुझ्ने अराजक र पार्टी विरोधीलाई कारबाही गर्नु अत्यावश्यक छ । एमाले पार्टी कुनै ‘रत्नपार्कको विचारविहीन भीड’ होइन । पार्टी अनुशासन तोडेर फेरि सामाजिक सञ्जालमा ‘ठूला’ चर्का कुरा गर्ने पार्टीको नेता हुन्छ ? शरीरमा रहेकोे आफ्नै अंग वा भाग त कुनै घाउले दुःख दियो वा पिलो आयो वा पाक्यो भने काटेर फाल्नुपर्दछ । शरीर भनेर खटिरा र ‘घाउ’ पाल्ने कुरा हुँदैन । संस्थागत निर्णयको विरुद्ध बोल्नेलाई पार्टीमा नेता मान्नुपर्ने संस्कृतिले एमालेलाई ‘राप्रपा वा रास्वपा’जस्तो बनाउँदछ ।


कस्तो संस्कृति ?
जनवादी तथा प्रगतिशील राजनीतिक र सामाजिक संस्कृति अगाल्ने राजनीतिक पार्टी एमाले हो । माक्र्सवादी सांस्कृतिक चेतना तथा लेलिनवादी संगठानात्मक सिद्धान्तलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्ने दल एमाले हो । तत्कालीन नेता मदन कुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादी सिद्धान्त (जबज) सहितको लोकतान्त्रिक प्रजातान्त्रिक परिपाटीलाई अंगाल्ने पार्टी हो छाडा, अराजक र पार्टी विरोधी गतिविधिलाई ‘टुलुटुलु’ हेरेर सहने नेतृत्वको अर्थ हुँदैन । माक्र्सवादी तथा प्रगतिशील सिद्धान्त मान्ने भएपछि आफ्ना व्यवहार, विधि, मान्यता, मूल्य, कार्यप्रणाली, तरिका तथा व्यवहारहरू पनि विज्ञानवादी, प्रगतिशील तथा वस्तुगत हुनै पर्ने मानिन्छ । 


अवैज्ञानिक र अवस्तुवादी मूल्य र मान्यता, जनविरोधी प्रचलन र  संस्कार तथा सामन्ती चिन्तन एमालेको संस्कृतिमा पर्दैन र हुँदैन । आफूले भनेको मात्र ठिक भन्दै संस्थागत निर्णयका विरूद्ध बाहिर बोल्ने छुट नेतालाई कसले दियो ? त्यो हुन सक्दैन । त्यो तरिका प्रगतिशील संस्कृति हो ? के त्यो जनवादको मान्यतामा पर्दछ ? त्यो आचरण जनवादी संस्कृति हो ? यसैले अहिले फेरि जनवादी मूल्य, संस्कार तथा संस्कृतिका सन्दर्भमा विचार–विमर्श र चिन्तन गर्नुपर्ने अवस्था देखियो । 


जनवादी केन्द्रीयताको अर्थ, मर्म र भावना ‘नेता’लाई सिकाउनु पर्ने हो ? जनवाद नबुझ्ने कसरी एमालेको ‘नेता’ हुन सक्दछ ? निर्णय प्रक्रियामा पारदर्शी तथा समावेशी प्रक्रिया हुन्छ भने त्यो जनवाद हो । जनवादसँगै जनवादी संस्कृति गाँसिएर आएको हुन्छ । पार्टी र संगठनमा जनवादी पद्धति हुने तर व्यवहार तथा कार्य प्रक्रियामा सो अनुकूलको संस्कृति भएन भने त्यसमा मेल खाँदैन । संस्कृति के हो भन्ने सन्दर्भमा विभिन्न समाजशास्त्रीहरूले विभिन्न तरिकाले व्याख्या र विवेचना गरेका छन् । 


 समाजशास्त्री कोहेनले संस्कृतिलाई खाली चेक (ब्याल्याङ्क चेक) जस्तै हो भनेका छन् । उनले जसरी चेकमा वाहकले आफूलाई लागेको अंक भर्न सक्दछ त्यसरी नै मानव संस्कृति पनि मानिसले आफ्ना गतिविधिहरूलाई भर्न सक्दछन् । संस्कृति मानिस जन्मेदेखि नमरून्जेलसम्म गर्ने सिकाई, भोगाई, विधि, व्यवहार, संस्कार, पद्धति, खानपान, सीप, ज्ञान, धर्म–संस्कार, राजनीतिक–सामाजिक क्रियाकलाप, मानवीय गतिविधि जस्ता सबै मानिससँग गाँसिएका कुराहरू हाम्रा सामाजिक संस्कार तथा संस्कृति हुन् । संस्कृतिसँग समाज जोडिएको हुन्छ । 


संस्कृति मानव निर्मित कुरा हो । एमालेमा नेता भएकाले यतिकुरा पनि बुझ्नुपर्दैन ? सामाजिक रूपान्तरण तथा परिवर्तनमा संस्कृति तथा संस्कारको ठूलो भूमिका तथा अर्थ हुन्छ । समाज र मुलुकलाई प्रभावित पार्ने भनेको राजनीति र राजनीतिक नेतृत्वको माध्यमबाट हो । 


यसैले एमालेले आफूलाई जनवादी र जनवादी संस्कृतिको पर्याय मान्यो । सोहीअनुसार आफ्ना कार्य र व्यवहार पनि गर्दै आयो । नेताको सामाजिक चिन्तन, सोच, विधि, व्यवहार तथा संस्कृतिलाई हेरेर, देखेर तथा चर्चा एवम् चिन्तनको बारेमा जानकारी पाएर नै सामान्य नागरिकहरूले पनि आफ्ना धारणाहरू बनाउने र संस्कार तथा संस्कृति परिवर्तन गर्न थाल्ने भएकोले राजनीतिक नेतृत्व बढी जिम्मेवार बन्नु पर्दछ । 


पार्टीको विधि, विधान, निर्णय र नेतृत्वको निर्देशनविपरीत गएर आफ्ना अराजक धारणा सार्वजनिक गर्ने र नसच्चिनेहरू पार्टी विरोधी हुन् । जनविरोधी हुन् । जनवादको अर्थ र भावना नबुझ्ने अराजक र उत्ताउला मान्छे हुन् । अनुशासन कायम राख्न अराजक प्रवृत्ति र कार्य गर्नेहरूलाई कारबाही गर्नु आवश्यक छ । एमालेले आफ्नो संस्थागत निर्णयका आधारमा गरिएका कार्य र कारबाही सही छन् । विरोध गर्नुको कुनै तुक छैन । (साँघु साप्ताहिक, २०८१ पुस १५)
 

प्रतिकृया दिनुहोस