• बुधबार-कार्तिक-७-२०८१

पत्रकार महासंघ अकर्मण्यतामा फस्दा श्रमजीवी पत्रकारका मुद्दा भाँडमा

 

काठमाडौं । मिडियामा कार्यरत श्रमजीवी पत्रकारहरुले भोग्नुपरेका समस्या झन् उकुज उल्टिने अवस्थामा पुगेका छन् । लामो समयदेखि मालिकहरुले पत्रकारको पारिश्रमिक दिएका छै्रनन् । पीडित पत्रकारहरुले आफ्नै बुतामा पटक–पटक ध्यानाकर्षण र दबाब दिइरहेका छन् । अन्नपूर्ण पोष्ट, राजधानी, माउन्टेन टिभी, नयाँ पत्रिका, इमेजलगायतका मिडियामा श्रमजीवी पत्रकारहरुको समस्या क्रोनिक बन्दै गएको त्यहाँ कार्यरत पत्रकारको भनाई छ । यी मिडियामा कम्तीमा तीनदेखि नौ महिनासम्मको पाकेको तलब नपाएको जानकारीमा आएको छ । 


तत्काल मिडिया मालिक र सरोकारवालाहरुसँग छलफल गरी श्रमजीवीका समस्या समाधान गर्ने गुरुत्तर दायित्व लिएर बसेको नेपाल पत्रकार महासंघ भने राजनीतिक लाभहानी र व्यक्तिगत स्वार्थका लागि सदस्यता शुद्धीकरणका नाममा अल्झेर बसेको छ । पत्रकार महासंघसँग भएको सहमतिपछि पनि मूलधारको मिडिया भनिने कान्तिपुरकै कतिपय पत्रकारले अझै तलव नपाएको गुनासो गरेका छन् । कान्तिपुरलगायतका मिडियाबाट अवकाश जान चाहनेहरुलाई पनि कानूनअनुसार उपदान र सेवा सुविधा नदिएका गुनासाहरु बढिरहेका छन् । यस्ता जल्दाबल्दा समस्यामा पत्रकार महासंघका पदाधिकारीलाई कुनै दरकार देखिँदैन । 


साना तथा स्वरोजगारमूलक मिडिया थला परेका कारण यसै पनि श्रमजीवी यता न उताको अवस्थामा अलपत्र छन् । तर, यस्तो जटिल स्थितिलाई टुलुटुलु हेर्दै पत्रकार महासंघका पदाधिकारी आपसी खिचातानीमै व्यस्त हुँदा पत्रकारको दैनिकी झन् झन् गिर्दो अवस्थाबाट गुज्रिएको छ । महासंघ कब्जा गर्ने राजनीतिक हानथापको चेपुवामा श्रमजीवी पत्रकार फसेका छन् । तर, अभिभावकीय भूमिका खेल्नुपर्ने पत्रकार महासंघ बैधानिकता नै समाप्त हुने डिलतिर धकेलिँदै छ । पत्रकारहरुको केन्द्रीय महाधिवेशनबाट २०८१ जेठ २६ गते निर्वाचन गर्ने जिम्मेवारी तोकिए पनि अहिलेसम्म सदस्यताको टुंगो लगाउन नसकेको अवस्था छ । जसले गर्दा नयाँ कार्य समिति आएर श्रमजीवीको मुद्दा संवोधन गर्ने बाटो समेत छेकिएको छ । 


सदस्यता बढाउने र घटाउने हानाथापका कारण नयाँ कार्य समितिका लागि निर्वाचन पनि नहुने र श्रमजीवी पत्रकारले न्याय पनि नपाउने विडम्वनापूर्ण अवस्था उत्पन्न भएको छ । यता मिडिया हाउसबाट शोषणमा परेका पत्रकारको भने नूनतेल किन्ने पैसा समेत नहुने अवस्था आइपरेको दुखेसो पोख्दै हिंडेका छन् । तर, जेठ २६ यता कामचलाउ अवस्थामा पुगेको महासंघ भने पत्रकारको जिम्मेवारी पनि लिन नसक्ने र चुनाव गराएर पत्रकार महासंघ नेतृत्व पनि हस्तान्तरण गर्न नसक्ने अकर्मण्तामा फसेको छ । पीडित पत्रकारले महासंघमा हालेका उजुरी समेत दराजमा षड्ने अवस्थामा छन् । कुनै पत्रकार गुनासा र समस्या लिएर गए कामचलाउन भइसकेको भनेर यतिबेला जिम्मेवारी समेत नलिने दुःखद् अवस्थामा पत्रकार महासंघ पुगेको छ । कामचलाउको नाममा अनैतिक बनेरै भए पनि अनन्तकालसम्म कब्जा गर्ने र पद भजाउने रणनीति हो कि भन्ने आशंका बाहिर गर्न थालिएको छ । 


यसैविच राजधानी न्युज पब्लिकेशन्सद्वारा प्रकाशित राजधानी दैनिकले नौ महिनादेखिको तलव नदिएपछि श्रमजीवी पत्रकार र कर्मचारी पुनः आन्दोलित भएको खवर छ । राजधानी प्रतिष्ठान शाखाले २०८१ जेठ २८ गते सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारहरु ससक्त आन्दोलनमा उत्रिने चेतावनी व्यवस्थापन पक्षलाई दिएको छ । 


पत्रकार कर्मचारीलाई तलव नदिने कार्य आफ्नो दायित्वको विषय मात्र नभै नैतिकता र मानवीय संवेदनाको विषय समेत रहेको भन्दै राजधानीका पत्रकारद्वारा विज्ञप्तिमार्फत व्यवस्थापन पक्षलाई खवरदारी गरिएको छ । आफ्नो हक अधिकारको विषय उठाएर पत्रकार अदालत गएपछि कतिपय पत्रकारलाई विगतमा भौतिक आक्रमणको प्रयास भएको र कार्यालय प्रवेशमा रोक लगाइएको भनाई समेत पीडित पत्रकारको छ । राजधानी दैनिकमा कार्यरत पत्रकारलाई नौ महिनादेखि कुनै पनि तलव सुविधा नदिएको तथ्य विज्ञप्तिमार्फत दिइएको छ । जस्का कारण दैनिक जीवनयापनमा जटिल समस्या आएको भन्दै विज्ञप्तिमार्फत ध्यानाकर्षण समेत गराइएको छ । 


व्यवस्थापक, संपादक र प्रशासन प्रमुखलाई चाँडो जिम्मेवार बनेर नैतिकता र मानवीय भावना देखाउन तथा आफ्नो दायित्व पूरा गर्न पत्रकारले चेतावनी दिएका छन् । ‘अन्यथा प्रतिष्ठान शाखा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिन चाहन्छ,’ राजधानी प्रतिष्ठान शाखाका अध्यक्ष ईश्वर विश्वकर्मा र सचिव भिम चन्द्र राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । राजधानीमा कार्यरत पत्रकारले पाउने तलव र कानूनी सुविधाका लागि सशक्त ढंगले दवावमूलक कार्यक्रम अघि बढाउन नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समिति र पत्रकारिता सम्बद्ध विभिन्न संघ÷संस्थालाई आग्रह गरिएको छ । तर जिम्मेवारी लिएर वार्ता, छलफल र कानूनी उपायमार्फत समाधान खोज्नुपर्ने तालुकवाला पत्रकार महासंघ भने आफै ‘राम राम’को अवस्थामा धकेलिएको छ । (साँघु साप्ताहिक, २०८१ असार ३)

प्रतिकृया दिनुहोस