रौतहट । रौतहटको पाँच वटा स्थानीय तहसहित केही सरकारी कार्यालय भवनमा भौतिक तथा कागजपत्रमा क्षति पुगेपछी सेवा सुचारु हुन सकेको छैन् ।
जेन–जी आन्दोलनको क्रममा चन्द्रपुर, गरुडा, कटहरिया, फतुवा विजयपुर र बौधीमाइ नगरपालिकामा क्षति पुगेकाले सेवा संचालनमा समस्या भएको हो ।
चन्द्रपुरमा रहेको डिभिजन वन कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सडक डिभिजन कार्यालय लागयतकोमा पनि भौतिक तथा कागजपत्रमा क्षति पुगेको छ ।
सरकारी कार्यलयका कागजपत्र कामै नलाग्नेगरि जलेकाले सेवा प्रवाहमा समस्य भएको हो । गरुडा नगरपालिका कार्यालयमा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट नगरपालिकामा भएको क्षतिका कारण तत्काल सेवा सुचारु गर्न नसकिने नगर प्रमुख कन्थमणि प्रसाद कलवारले जानकारी दिए । उनका अनुसार पालिकामा रहेका महत्त्वपूर्ण कागजपत्र जलेको छ ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, फर्निचर, कम्प्युटर, प्रिन्टर लगायत सबै सामग्री नष्ट भएकाले तत्कालै सेवा सुचारु हुने अवस्था नरहेको बताए । यद्यपी, अब छिटै बैकल्पिक भवनबाट कार्यालय संचालन गरिने उनले बताए ।
जिल्ला प्रशासन कार्यालय गौरले जेन–जी आन्दोलनको क्रममा करिब २० करोडभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । यद्यपि क्षतिको पूर्ण विवरण संकलनको काम जारी राखेकाले यो रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
गौर नगरपालिकामा ६४ लाख, जिल्ला प्रशासन कार्यालयमा ९ लाख, चन्द्रपुर नगरपालिकामा ३ करोड, मौलापुर नगरपालिकामा ५ करोड र कटहरिया नगरपालिकामा एक करोडको क्षति भएको प्रारम्भिक विवरणले देखाएको छ ।
यस्तै, डिभिजन वन कार्यालयमा २ करोड ५० लाख, प्रदेश लेखा कार्यालयमा २ करोड ६० लाख र फतुवा विजयपुर नगरपालिकामा ३० लाखको नोक्सानी भएको अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ ।
प्रतिकृया दिनुहोस