• शनिबार-श्रावण-१२-२०८१

आर्थिक वर्षको अन्तिममा जथाभावी सरुवाको खेती : मन्त्री महासेठको चर्तिकलाले कर्मचारीमा आतंक

 

काठमाडौं । आर्थिक वर्षको अन्तिम समयमा चालु आर्थिक वर्षका विकास निर्माणका आयोजनालाई तीव्रगतिमा अगाडि बढाउदै सम्पन्न गर्नुपर्ने दायित्व र जिम्मेवारी विकासे मन्त्रालयमा कार्यरत कर्मचारीको काँधमा रहेको हुन्छ । 


ठिक यही समयमा नेकपा एमालेको तर्फबाट उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा रहेका रघुवीर महासेठले उल्टै कर्मचारीको सरुवा गरेर कर्मचारीको हूर्मत लिने काम गरेको गुनासो बाहिर आएको छ । जसका कारण विकास निर्माणको कार्य अलपत्र पार्दै आफ्नो स्वार्थसिद्ध गर्ने रणनीति मन्त्री महासेठले अख्तियार गरेको बुझिएको छ ।


विकास निर्माणको गति अगाडि बढ्ने समय बैशाख, जेठ र असारमा मन्त्री महासेठले मन्त्रालयअन्तर्गतका विभिन्न निर्देशनालय, आयोजना, योजना कार्यालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयमा कार्यरत सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) र डिईहरुको सरुवा गरेका छन् । उनको यो कार्यलाई मन्त्रालयमातहत कार्यरत कर्मचारी भदौ महिनामा देखाइने गाइजात्रा मन्त्री महासेठले जेठ महिनामा नै देखाएको भन्दै असन्तुष्टि जाहेर गरेको बताइएको छ ।

 

बिना कारण आर्थिक मसान्त समाप्त हुनु अगावै हचुवाको भरमा  प्राबिधिक कर्मचारी सुई, सिनियर डिभिजनल इन्जिनियर (सिडिई) हरूलगायतको सरूवा गर्दा सडक विभाग, विभिन्न सडक आयोजना र डिभिजन सडकका प्रमुख, सुई र सिडिईहरू कतिबेला आफ्नो सरूवा होला भनेर त्रासमा बस्न बाध्य भएका छन् । जसका कारण निर्माण कामको अनुगमन गर्न छाडेर, फिल्ड भिजिटमा नगई पद जोगाउन शक्तिकेन्द्रमा भनसुन गराउन र थैली, कोसेलीपात बोकेर मन्त्री महासेठ, पत्नी जुली कुमारी महतोको चाकडी, चाप्लुसी र जीहजुरीमा धाउन बाध्य हुँदै आएको सडक विभाग स्रोतले जानकारी दिएको छ ।


 विकासे मन्त्रालयमातहतका विभाग, आयोजना र कार्यालयहरुका लागि बैशाख, जेठ महिनादेखि असार १५ गतेसम्म काम गर्ने मुख्य समय हो । यो समयमा प्राबिधिक कर्मचारीले फिल्डमा दैनिक १२ घण्टा खटिएर सडक र पुल निर्माणको कामको रेखदेख र अनुगमन गर्ने समय पनि हो । तर, यसरी देशभर भइरहेका सडक, पुलको निर्माण कार्यलाई नै गम्भीर असर पुग्नेगरी मन्त्री महासेठले गतसाता संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, दमकमा कार्यरत सुईहरू र केही सडक आयोजना प्रमुखहरूको सरूवा गरेका छन् ।


मन्त्री महासेठले मोटो रकम हात पार्दै भर्खरै सरूवा भएका, सरूवा भएको महिना दिन अवधि पनि पूरा नभईसकेका सुई र योजना प्रमुखहरूलाई विनाकारण सरूवा गर्दा देशभर नै सडक र पुल निर्माणका काम प्रभावित हुने आशंका बढेको छ । यही कारण सचिव गोपाल प्रसाद सिग्देल, महाशाखा प्रमुख सुई, सडक विभाग, डिभिजन कार्यालय, निर्देशानलय, योजना कार्यालयमा कार्यरत कर्मचारीहरू मन्त्री महासेठको यस्तो कार्यशैली प्रति असन्तुष्ट देखिएका छन् । जसले गर्दा मन्त्रालय अन्तर्गतका इन्जिनियर, सिडिई र सुई कसको कतिबेला सरूवा हुन्छ भनेर काम छाडेर मन्त्रीको चाकडी गर्दै रिझाउन उनीहरु बाध्य भएका छन् ।

 

कामको चापाचाप हुने समयमा इन्जिनियर, सिडिई, सुई र आयोजना प्रमुखहरू सरुवा थमौतीका लागि काठमाडौं आइपुग्दा फिल्डमा निर्माण कार्य अवरूद्ध हुन पुगेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्री महासेठले बढी कमिशन हात पार्नका लागि मध्य जेठमा सडक र पुलको निर्माण कार्य तीव्रगतिमा गर्नुपर्ने बेलामा सिडिई, सुई र आयोजना प्रमुखहरूलाई सरूवा गरेको गुनासो एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्षसमेत पु¥याएका छन् । सरुवामा पनि खासगरी एमाले निकट कर्मचारीहरुलाई नै छानीछानी सरुवा गरेको जानकार स्रोतले बताएको छ ।


स्रोतकाअनुसार, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, कर्मचारी प्रशासन महाशाखाका सहसचिव बाबुराम गौतम र सचिव  सिग्देलले मुख्य काम गर्ने सिजनमा कर्मचारीको सरूवा गर्दा त्यसको नराम्रो असर पर्नसक्ने सुझाव दिएको बताइएको छ । तरपनि मन्त्री महासेठले सुनुवाई नगरेको स्रोत बताउँछ । दुई महिना पछि साउन भदौ महिनामा सबै कर्मचारीहरूको सरूवा गर्दा सकारात्मक सन्देश प्रवाह हुने सुझाव उनीहरुले दिएका थिए ।


तर, मन्त्री महासेठले कर्मचारीहरुको सेटिङ भत्काउनका लागि यतिखेर सयम खर्च गर्दै आएका छन् । उनी उच्च कर्मचारीले दिएको सुझावलाई वेवास्ता गर्दै एकलौटी रुपमा मन्त्री महासेठ अगाडि बढेकोे मन्त्रालय स्रोतले बताएको छ । मन्त्री महासेठले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका सुई अर्जुनप्रसाद अर्याललाई सडक सुधार तथा विकास आयोजना मिनभवनमा सरूवा गरेर थन्काएका छन् । सुई ज्ञानेन्द्र झालाई अर्याल कार्यरत रहेको बवरमहलस्थित कार्यालयमा सरूवा गरेका छन ।


पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्देशनालयका प्रमुख सुई कुबेर नेपालीलाई हटाएर भर्खरै खुला प्रतिस्पर्धाबाट लोकसेवा पास गरेका अनुभविहीन सुई थानेश्वर खत्रीलाई पदस्थापना गरिएको छ । कालीगण्डकी करिडोर योजनाका प्रमुख शंकर पौडेललाई हटाएर संगिता अधिकारीलाई पठाएका छन । मदन भण्डारी लोकमार्ग योजना सुर्खेतका प्रमुख शम्भु अर्याललाई पनि हटाएर नरेन्द्र भट्टलाई खटाएका छन् । मन्त्री महासेठले ठुलो बजेट भएका संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय र आयोजना प्रमुखको आर्थिक वर्षको अन्तिम समयमा सरूवा गरेर निर्माण कामलाई नै प्रभावित पारेको गुनासो निकै बढेको छ ।


यति मात्र होइन, उनले आर्थिक मसान्तको आखिरी अवस्थामा कर्मचारी सरूवा गरेर आतंक सिर्जना गरेको आरोप खेप्दै आएका छन् । सरुवा थमौती गर्न निर्माण व्यवसायीहरूलाई आफ्नो थमौतीको लागि भन्दै कमिशन असुल्न दबाब दिन गरेको गुनासो निर्माण कम्पनीका प्रतिनिधिहरूले गरेका छन् । जसका कारण मन्त्री महासेठका कारण व्यवसायीहरु पनि यतिबेला आतंकित हुन पुगेको बताउछन् ।


निर्माण सम्पन्न भैसकेका कामको बिल पेश हुँदा पनि सरकारले अर्बौं रकमको भुक्तानी दिएको छैन । यस्तो अवस्थामा आयोजना, डिभिजन कार्यालयहरूले कमिशनको दर बढाउन अनावश्यक दबाब दिंदा निर्माण व्यवसायीहरूममा न रातमा निन्द्रा नत दिनमा चयनको अवस्था आएको एक निर्माण व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा बताए । (साँघु साप्ताहिक, २०८१ जेठ २८) 
 

प्रतिकृया दिनुहोस