• बिहीबार-बैशाख-२०-२०८१

मन्दिरको जलमा ढल मिसाइ दिंदा धर्म होला र ? नगरपालिका माैन !

काभ्रे , ७ वैशाख । काभ्रेपलान्चोक जिल्लाको प्रवेश्वद्वार साँगामा ढल व्यावस्थापन नहुँदा नजिकैको विकटेश्वर खोला दुषित बनेको छ । काठमाडाैं उपत्यकासँग जोडिएको साँगामा खुल्ला ढल छाडिएपछि  सडकको किनार हुँदै विकटेश्वर खोलामा मिसिनाले मन्दिरलाई नै असर पुगेको स्थानीय बताउछ्न् ।

 

खुल्ला रुपमा बगाइएको ढलले मन्दिर परिसरमा रहेको घाटलाई समेत असर पुगेपछि आगामी दिनमा धार्मिक सम्पदालाई समेत  धक्का पुग्ने स्थानीयको भनाइ छ।

 

 खुल्ला नालीमार्फत ढल बगेपछि स्थानीयहरुले आयोजनामार्फत नयाँ र व्यवस्थित ढल निर्माण गर्न अनुरोध गरेका छन् । स्थानीय सुकदेव जोशीका अनुसार पटक पटक वडा कार्यालयमार्फत आयोजनालाई व्यावस्थित ढलका लागि अनुरोध गर्दा पनि चासो दिइएको छैन ।


‘स्थानीयहरुले ढल र फुटपाथको व्यवस्थापन लागि माग गरे पनि आयोजना र निर्माण व्यावसायीले टार्दै आएका छन् ,'उनले भने,'त्यसको सही सूचना समेत स्थानीयलाई दिएका छैनन् ।’

 

अर्का स्थानीय राजेन्द्र जोशीले आयोजनाले निर्माण गरेको कार्य अलपत्र छाड्दा सर्वसाधारणलाई थप सास्ती खेप्नु परेको बताउँछन् । उनका अनुसार साँगाको पुरानो बजारमा ढल ब्यवस्थापन, पुराना मन्दिर, पोखरी, धारा तथा अन्य संरचनाको ब्यवस्थापन चुनौतीपूर्ण बने पनि आयोजना सहज होस् भन्ने हेतुले स्थानीयले गरेको सहयोगलाई आयोजनाको तर्फबाट बेवास्ता गरिएको छ ।

 

ब्यवसायी र आयोजनाले स्थानीयहरुको भावनामा खेलवाड गरेर बेवास्ता गरिरहे भने आन्दोलन गर्ने स्थानीयले  चेतावनी दिएका छन् ।  साथै, निर्माण कार्यमा केही  जानकारी नगराएको भन्दै स्थानीयहरुले तत्काल अधुरो कार्य पूरा गर्न, ढल तथा खानेपानीका संरचनाहरु ब्यवस्थित गर्न, पुरातात्विक संरचनामा क्षति नपुर्याइ कार्य गर्न माग गरेका छन् ।

 

नगरपालिकाले समेत स्थानीयहरुको मागलाई वेवास्ता गरेको स्थानीयको आरोप छ ।  नगरपालिकालाई साँगाको पुरानो बजारमा भएका समस्या समाधानका लागि कुनै चासो र चिन्ता नभएको  स्थानीय राजेन्द्र जोशीले साँघुकर्मीलाई बताए ।

 

  भक्तपुर सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तार पछि सडक फराकिलो त हुन्छ। तर,  प्रमुख दुई मार्ग अरनिको र विपी हुँदै गुड्ने सवारी साधनको चाप धान्ने गरी निर्माण गरिएको सडक विस्तारका क्रममा क्षतविक्षत भएको ढल ब्यवस्थापन नहुँदा स्थानीयका साथै  धार्मिक सम्पदालाई असर परेको  र वातावरण प्रदुषित हुन गएकाे छ ।

 

प्रतिकृया दिनुहोस