• शुक्रबार-जेठ-४-२०८१

प्रधानाध्यापकलगायतको मिलोमतोमा शिक्षक सरुवा गरेको भन्दै विद्यार्थीद्वारा तालाबन्दी

 

काभ्रे, २६ चैत्र । काभ्रेको एक विद्यालयमा प्रधानाध्यापकदेखि वडा अध्यक्षसम्मको मिलिमतोमा स्थायी शिक्षकलाई अचानक सरुवा गरेको भन्दै विद्यार्थीहरुले नै गेटमा ताला लगाएका छन् ।

 

भुम्लु गाउँपालिका २, मा रहेको श्री अरुणोदय माविका विद्यार्थीहरुले राम्रो पढाउने  शिक्षक सरुवा गरेको भन्दै  गेटमा तालाबन्दी गरेका हुन् । लामो समयदेखि अरुणोदयमा अध्यापन गराउँदै आएका स्थायी शिक्षक गजेन्द्र सञ्जेल विद्यार्थीदेखि अभिभावकको  रोजाइमा परेका थिए । 

 

सोही  कुरालाई लिएर स्कुल बन्द गरेर विद्यार्थीहरु आल्दोलनमा उत्रिएका छन् भने सम्पूर्ण पठनपाठन रोकिएको छ । शिक्षक सञ्जेलका अनुसार उनलाई गाउँपालिकाले  गत चैत २२ गते सरुवाको पत्र थमाएको थियो । कक्षा १२ सम्म पढाउँदै आएका उनलाई अहिले बेख्सिम्लेस्थित वनदेवी माध्यमिक विद्यालयमा सरुवा गरिएको छ । 

पीडित शिक्षक श्री गजेन्द्र सञ्जेल

 

वडाध्यक्ष सुजन भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष धुर्व भण्डारी र प्रधानाध्यापक निर्माला खड्काको मिलिमतोमा गाउँपालिकाले बिनाकारण सञ्जेललाई सरुवा गरेको विद्यार्थीको आरोप छ ।

 

विद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै उनलाई फिर्ता नल्याएसम्म तालाबन्दी जारी रहने चेतावनी दिए पनि बिना सहमति ताला काटेपछि आज पनि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

 

‘मेहनती शिक्षक श्री गजेन्द्र सञ्जेलको सरुवा यस विद्यालयका प्र.अ, वि.व्य.स र वडाध्यक्षको सिफारिसमा भुम्लु गाउँपालिका परिवारबाट यस श्री अरुणोदय मावि, सिम्थलीबाट श्री वनदेवी मावि बेख्सिम्लेमा सरुवा गरेकोले सरुवा गर्नुको कारणसहित, उहाँको पारिवारिक अवस्थाका साथै अपाङ्गताका आधारमा पनि उहाँलाई पायक पर्ने विद्यालय अरुणोदय माध्यमिक विद्यालयमा नै सरुवा गर्न पहल गरिदिनुहुन र विद्यालयमा भएको वा भइरहेको राजनीतिक क्रियाकलापमा भुम्लु र सिम्थलीका वडाध्यक्ष, श्री अरुणोदय माविका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, भुम्लु शिक्षा शाखा तथा भुम्लु गाउँपालिका परिवारलाई ध्यानाकर्षण गर्न विनम्र अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । 

शिक्षक सञ्जेल भने आफूलाई कुनै कारण नदेखाइ सरुवा गरेकोमा दुखित छन् । " के कारणले मलाई सरुवा गरियो, थाहा भएन् । उहाँहरुले एकाएक बोलाएर सरुवा पत्र थमाइदिनुभयो । त्यहाँ हुँदा १२ कक्षासम्म पढाउँदै आएको थिए । वैशाख २ गतेबाट हाजिर हुन भन्नुभएको छ’, उनले भने ,"मलाई राजनीतिक  पहुँचमा यस्तो गरिएको हो ।"

 

विद्यालयकी प्रधानाध्यापक निर्मला खड्का भने सञ्जेललाई गाउँपालिकाले काजमा सरुवा गरेको बताउँछिन्  । तर, खड्काले नै अगाडि सरुवाको लागि सिफारिस गरेर पठाएको बताइन्छ ।

 

शिक्षक दरबन्दी निकै कम भएको उक्त विद्यालयमा प्राविमा जम्मा चार जना शिक्षकको दरबन्दी छ भने माविमा पनि अपुग छ । माविका शिक्षकले प्राविसमेत धान्दै आएको उक्त विद्यालयमा किन अपांग शिक्षकलाई सबै मिलेर सरुवा गरियो अझै खुल्न सकेको छैन ।

 

सिम्थलीको एक मात्र मावि विद्यालय अरुणोदय पटक-पटक विवादमा तानिनाले विद्यार्थीको पढाइमा समेत असर परेको छ । अरुणोदय विद्यालयमा यस अघि पनि विद्यार्थीमाथि निर्घात कुटपिट, विद्यालयमा चोरीको सिसीटिभी फुटेज हुँदा पनि मौन जस्ता कुराले विवादमा तानिएको थियो ।


स्मरण रहोस् उक्त विद्यालयकी प्र. अ निर्मला खड्का र वि.व्या.स का अध्यक्ष धुर्व भण्डारी मामा भान्जी हुन भने वडा अध्यक्ष सुजन भण्डारी सोही स्कुलमा पढेका निर्मलाका विद्यार्थी हुन् ।
 

 

प्रतिकृया दिनुहोस