• शुक्रबार-जेठ-४-२०८१

शिक्षकहरूबाटै छात्राहरू यौन दुर्व्यवहारमा परेपछि...

 

पछिल्लो समय विद्याको मन्दिर भनिने विद्यालयका शिक्षकबाट नै बालिकाहरूमा अनेक किसिमको शोषण हुँदै गइरहेको घटनाहरु सार्वजनिक हुन थालेका छन् । अझ निजी विद्यालयको त कुरै  नगरौं । कहिले यौन शोषण, कहिले निर्घात कुटपिट जस्ता घटनाहरू समाजिक सञ्जालमा देखिंदै र छरपस्ट हुँदै आएका छन् । स्थानीय तहबाट बालमैत्री सहजकर्ता राखेर बालबालिकालाई विभिन्न किसिमको शोषणबाट मुक्त गराउन र बुझाउनको लागि प्रत्येक सरकारी विद्यालयमा बालक्लब  समेत गठन गरिदै आएको छ । उक्त क्लबले कतिपय सरकारी विद्यालयमा भएका यौन शोषणलाई अहिले छताछुल्ल पारेको  छ ।


सिन्धुपाल्चोकको एक  विद्यालयमा बाल क्लब गठन भएपछि विद्यार्थीहरूले सहजकर्ता माझ सयौं दिनको शिक्षकबाट भएको शोषणलाई छताछुल्ल पारेका हुन् । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नम्बर ६, स्थित कमला देवी माध्यमिक विद्यालयमा सयौं दिनदेखि दुई शिक्षकबाटै विद्यालयका ८० प्रतिशत छात्राहरू यौन शोषणमा परिरहेका थिए । तर, बालबालिकाले शिक्षकको डरले न घरका अभिभावकलाई भन्न सक्थे, न त विद्यालयमा नै कुरा राख्न सक्थे ।


तर, अपराध कहिले छिप्दैन भने जस्तै २०८० मङ्सिर २० गते गाउँपालिकाबाट बालक्लब गठन गर्नको लागि बालमैत्री सहजकर्ता शान्त माया गोले उक्त विद्यालयमा पुगिन् । त्यसपछि   सोही वडाका  शिक्षक कविराज पौडेल र सुरेन्द्र कोइरालाले  विद्यार्थीमाथि यौन  दुव्र्यवहार गरेको आरोप लगाएपछि घटना  छताछुल्ल भयो ।


गोलेले सबै विद्यार्थीहरुलाई जम्मा गरेर बाल क्लब गठन गर्दै गर्दा विद्यार्थीहरुलाई शोषणलगायतका बारेका बुझाउदै तिमीहरूलाई विद्यालयबाट कुनै शोषण भएको छ कि छैन ? भनेर सोद्धा विद्यार्थीहरुले मुन्टो निहु¥याएर बसेको बताइन्छ । बालबालिकामा केही डर जस्तो देखेपछि उनले फकाएर सोधेकी थिइन । त्यस पश्चात् सबै छात्राहरूले हामीलाई दुई जना सरले सँधै शरीरका विभिन्न भागमा सुम्सुमाउनुहुन्छ भन्दै सहजकर्ता गोले समक्ष दुखेसो पोखेका थिए । 


“मलाई अरु केही कुरा थाहा छैन । म बाल क्लब गठन गर्न पालिकाबाट विद्यालयमा पुगेकी थिएँ । त्यहाँ जाँदा विद्यार्थीहरुले दुई जना सरले हामीलाई दुव्र्यवहार गर्नुहुन्छ भनेपछि मैले माइनुट बनाएर  विद्यालय प्रशासनमा दिएकी हुँ, सहजकर्ता गोलेले भनिन्, “यौन दुव्र्यवहार गरे नगरेको त्यहीँ शिक्षक र बहिनीहरूलाई थाहा होला । गल्तीको सजाय सबैले भोग्नुपर्छ । मैले आफ्नो कर्तव्य पूरा गरेकी हुँ ।”


 बुझेअनुसार शिक्षक पौडेल र कोइरालाले विगत १२ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराउँदै आएका थिए । विद्यालयका प्रधानध्यापक सुन वीर तामाङको अनुसार, आरोपित शिक्षकद्वय पौडेल सामाजिक र कोइराला स्वास्थ्य विषयका शिक्षक हुन् । उनीहरु दुबैको उमेर ४० कटिसकेको छ ।


विद्यालय प्रशासनले थाहा पाएकपछि विद्यालय.व्यवस्थापन समिति सहित  सबै अभिभावक भेला गराएर २०८० मङ्सिर २१ गते बैठक बसेको बताइन्छ । उक्त बैठकबाट विद्यार्थीहरूले हो भनेपछि गाडी रिजर्भ गरेर अभिभावकसहित विद्यार्थीहरु जाहेरी दिन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौतारा पुगेका थिए ।


विद्यालयको ८० प्रतिशत छात्राहरु नै आफूहरूलाई शिक्षकले यौन दुव्र्ययवहार गरेको जाहेरी दिन गएपछि जिल्ला प्रहरी कार्यालयले सबैको पर्दैन । अहिले दुई जनाले जाहेरी दिए हुन्छ । पछि बयान दिन सबै आउनुहोला भनेकोले दुई जना छात्राले मात्र जाहेरी दिएको जाहेरी दिन पुगेकी एक छात्राले बताइन् ।


उनले भनिन्,“हामीलाई सँधै एकान्तमा जिस्काउने सुमसुमाउने गर्नुहुन्थ्यो । नत्र आफूलाई ज्ञान दिने शिक्षकलाई किन यस्तो गर्नु र ?’’


“मैले सेवा गर्न थालेको दुई वर्ष भयो । उनीहरु म भन्दा पनि सिनियर हुन् । अरु बेला त्यस्तो थाहा भएन । थाहा पाउन साथै हामीले छात्राहरुलाई कानूनी सहयोग समेत ग¥यौं’’ विद्यालयका प्रधानाध्यापक सुन वीर तामाङले बताए ।


जाहेरी लगत्तै २०८० मङ्सिर २२ गते उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको बताइन्छ । अहिले आरोपीहरु विरुद्ध अनुसन्धान भइरहेको बताइएको छ ।
विद्यालय जस्तो ठाउँमा आफ्नो बालिकाहरूले सुरक्षित तवरले शिक्षा लिन नपाएको भन्दै अभिभावकहरुले कडाभन्दा कडा कारबाहीको माग  गरेका छन् । साथै कडा  कारबाही नभएमा विद्यालय समेत बन्द गर्ने घोषणा गरेका छन् । (साँघु साप्ताहिक, २०८० पुस २)
 

प्रतिकृया दिनुहोस