रुपन्देही । जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।
सोमबार थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई जिल्ला कारागार रूपन्देहीमा थुनामा पठाउने निर्णय गरेको हो । अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जोशी कारागार चलान भइसकेको जानकारी दिए ।
यस प्रकरणमा सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए भने जोशीको पक्षबाट अधिवक्ता मनोजकुमार चौधरी र अपुर्व खतिवडाले बहस गरेका थिए ।
जोशीलाई समेत आरोपित बनाइएको यो ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतका अन्य व्यक्तिहरू थिए । उनीहरूले बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लागेको थियो ।
यही प्रकरणमा लामिछानेलाई अदालतले एक करोड धरौटी मागेको थियो । जोशी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवम् सञ्चालक थिए भने लामिछाने प्रबन्ध निर्देशक थिए ।
प्रतिकृया दिनुहोस