• शुक्रबार-जेठ-४-२०८१

एनटिभी : ‘आसचपु’मा अनियमितता, फर्जी बिलको भोजन अख्तियारले खोज्ला ?

 

काठमाडौं । गृह मन्त्रालयमा रहेको ‘आसचपु’(आर्थिक सहायता, चन्दा पुरस्कार) शीर्षकको रकमको लुट वर्तमान सरकारले अन्त्य गरेपनि नेपाल टेलिभिजनमा व्यापार प्रवद्र्धन शीर्षकबाट भैरहेको भ्रष्टाचार भने टेलिभिजनभित्रै पन्पिरहेको साँघुले फेला पारेको छ । व्यापार प्रवद्र्धन गरेको भन्दै अध्यक्ष समिर शाहले होटल, रेष्टुराँ र गाडी चढेको बिल पेस गरेर ठूलो रकम अपचलन गर्दा विवाद भएको जानकारीमा आएको छ । शाहको कार्यकालमा व्यापार शून्यतिर ओरालो लाग्दा व्यापार प्रवद्र्धन शीर्षकको रकम गृह मन्त्रालयको “आसचपु” भन्दा पनि खतरनाक भ्रष्टाचार भएको स्रोतको भनाइ छ । 


स्रोतका अनुसार, व्यापार प्रवद्र्धन शीर्षकमा शाहले एक पटकमा रु. ९० हजारभन्दा बढी दरले बिलहरू तारन्तार पेस गरेपछि आन्तरिक लेखा परीक्षकले बेरुजु औंल्याएको थियो । त्यसरी बेरुजु औंल्याएको आ.ले.प. प्रमुख सुरेन्द्र बस्नेतलाई शाहले रिस पोख्दै गत वर्ष नै आ.ले.प. बाट हटाएका थिए । त्यसपछि व्यापार प्रवद्र्धन शीर्षकको रकमको श्वेतपत्र जारी हुनु पर्ने विषय उच्चस्तरमा उठेको थियो । तर, अध्यक्ष शाहले त्यस्तो स्वर निकाल्ने एक उच्च अधिकारीलाई ३ महिना घटुवा समेत गरेका थिए । फँसाइदिने धम्की दिंदै उनले कर्मचारीलाई तर्साएर “आसचपु”को बिल पेस गर्दै भुक्तानी लिंदै आएको आरोप छ । तर्साउन नसक्नेहरुका लागि, अरु केही कर्मचारीको लागि पनि त्यस्तो फर्जी बिल पेस गरेर पैसा बुझ्ने प्रचलन सुरु गराएको आरोप पनि छ । 


काठमाडौं भ्यालीबाहिर जाँदा अध्यक्षको टीएडीए कानूनले दैनिक रु.२५००। मात्रै हो तर अध्यक्ष शाहले गाडी र होटल प्रयोग गरेको र व्यापार बढाएको झुट्टो व्यहोरा जनाएर एक पटकमा रु. ९० हजार हाराहारीको बिल पेस गर्ने गरेको स्रोतको दावी छ । रु. १ लाखमाथिको बिल डीजीएममार्फत् भुक्तानी गर्नुपर्ने र रु. १ लाखभन्दा कमको बिल तलबाटै सुटुक्क भुक्तानी हुने नियम रहेकोले अध्यक्ष शाहको कोर टिमले अरुले थाहा नपाउने गरी व्यापार प्रवद्र्धन हैन, रात्रिकार्यक्रम प्रवद्र्धन गर्ने गरेको एनटीभीका पत्रकारहरु बताउछन् । 


 काठमाडौं भ्यालीभित्र भने अनामनगर र गैरी गाउँ लगायतका ठाउँका रेष्टुरेण्टहरुको बिलहरू (लगभग सबै फर्जी) पेस गरेर भुक्तानी लिने गरेको आरोप छ । टेलिभिजनको आ.व. २०७८।०७९ को बजेटमा व्यापार प्रवद्र्धन शीर्षकमा १ करोड ७० लाख थियो भने २०७९।०८० मा १ करोड २३ लाख । चालु २०८०।०८१ मा रु. ७० लाख रहेको छ । 


 स्रोतका अनुसार, महालेखा परीक्षकले पछिल्लो लेखा परीक्षण गर्नुअघिसम्म ब्याक डेट राखेर पुरानो आर्थिक वर्षको शीर्षकहरुबाट रकम लिने गरिएको स्रोतको दावी छ । व्यापार सुख्खा हुने तर प्रवद्र्धनको शीर्षकमा नक्कली बिलको थुप्रो लाग्दा कर्मचारीमा तनाव रहेको बताइन्छ । विज्ञापन एजेन्सीहरुसँग वर्षमा मुस्किलले २ पटक भोज भएपनि हप्तावारी प्रवद्र्धनको नाममा बिल पेस भैरहेको हुँदा बिल जारी गर्ने कम्पनी समेतलाई अख्तियारले छानबिनमा ल्याएर “आ.स.च.पु” भन्दा पनि खतरानाक भ्रष्टाचार गर्नेलाई कार्बाही गर्नुपर्ने एनटीभीका पत्रकारहरुले गरेका छन् । 


 त्यसो त एजेन्सीका लागि खर्च गर्ने बेग्लै ठूलो बजेट रहेको पनि स्रोत बताउछ । एजेन्सी प्रवद्र्धन प्रोत्साहन शीर्षकमा आ.व. २०७८।०७९ मा रु. १ करोड २५ लाख, २०७९।०८० मा रु. १ करोड ४० लाख र २०८०।० ८१ मा रु. १ करोड ३० लाख छुट्ट्याइएको छ । त्यसको खर्च पनि पारदर्शी छैन । खर्च पारदर्शी नगर्ने रणनीति अख्तियार गरी अध्यक्ष शाहले विगत सवा २ वर्षदेखि व्यापार प्रवद्र्धन र एजेन्सी प्रोत्साहनको नाममा करोडौं बजेटमा अनियमितता गरिएको पत्रकार र कर्मचारीहरु बताउँछन् । यस्तै भ्रष्टाचार रोक्न बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि सबै अफिसले रु.५००। भन्दा माथिको बिल वेबसाइटमा राख्ने बाध्यकारी व्यवस्था गरेका थिए । पछि गुपचुप नै नक्कली बिल बनाएर राज्यको ठूलो रकम हरेक निकायबाट भ्रष्टाचार भैराखेकोमा कुनै शङ्का छैन । 


 अख्तियारले व्यापार र एजेन्सी प्रोत्साहन शीर्षकको बिलहरू झिकाई कुनकुन विज्ञापनदाताको उपस्थितिमा के के कार्यक्रम गरेर करोडौं खर्च गरेको हो भन्ने अनुसन्धान गर्न जरूरी रहेको एनटीभीका कर्मचारीहरुको भनाइ छ  । (साँघु साप्ताहिक, २०८१ वैशाख १७)
 

प्रतिकृया दिनुहोस