• शनिबार-श्रावण-१२-२०८१

करेन्टद्वारा माछा मार्न खोज्दा माधवलाई एन्टीकरेन्ट

 

राष्ट्रिय दल पनि बन्न नसकेको माधव नेपाल काँग्रेसको फेरो समातेर ‘बैतरणी तर्न हिडेको’ हुन् भन्ने फेरि पुष्टि भयो । धमिलो पानीमा करेन्ट लगाएर माछा मार्न हिंडेका नेपाल स्वयम्लाई सत्तारुपी एन्टीकरेन्टको झट्का लाग्यो । बौद्धिक नेता झलनाथ खनाललगायत समूह एमालेमा समाहित हुने पक्कापक्की जस्तै छ । 


साउनको मुँढो
साउन महिनामा पानी जमेको खेतमा कुनै रुख ढालियो, ढल्यो भने त्यसमा केही महिनासम्म थोरै पालुवा पलाएको देखिन्छ, हुन्छ । खेतमा पानी रहुन्जेल ती पालुवा हलक्क बढ्दै पनि गएका हुन्छन् । झट्ट हेर्दा रुख ढले पनि, जरा नभए पनि मुँढोमा पालुवा आएकोले रुख बाँचेको जस्तो भान पर्न पनि सक्दछ । जरा नभएको, कुनै आधार नभएको, मरिसकेको मुँडोमा यसरी आउने पालुवाको आयु त्यो खेतको गरामा जमेको पानी नसुकेसम्म मात्र हुन्छ, हो ।

 

जब खेतको पानी सुक्न थाल्दै जान्छ मुँडोमा पलाएका पालुवाहरू विस्तारै मर्न, सुक्न, ओइलाउन र विलाउन थाल्दै जान्छन् । यो प्रकृतिमा देखिएको, देखिने सत्य हो । माधव नेपाल एण्ड कम्पनीद्वारा ढालिएको एमालेको वृक्षबाट नेपाली कांग्रेस र प्रचण्डबाट चोइट्याइएको हाँगो पनि त्यै पानीको खेतमा रहेको मुँढो समान रहेको छ । देउवा, प्रचण्ड तथा कम्युनिष्ट विरोधी तत्वबाट पालित, पोषित र सञ्चालित–सिञ्चित पानीको खेतमा ढलेको मुँडोरुपी एस पार्टी अब विस्तारै सुक्न थालेको अवस्था छ । 


 राजनीतिक भविश्य भएका, राजनीति र जनताको धार बुझ्न सक्ने नेता–कार्यकर्ता मूल घर एमाले फर्किसकेका छन् । कतिपय फर्किने तयारीमा रहेका छन् । माधव नेपाल चाहिँ ज्यालामा नमिलेको हिसावकिताव जस्तो घाँडो भएर बसेका छन् । कुनै समय घगडान भनिएका वामदेव गौतम रुझेको विरालो जसरी काँन समाएर गल्ती भयो भन्दै एमालेमा आउने ओलीसँग ‘जिम्मेवारी’ माग्दैछन् । माधव नेपाल चाहिँ राजनीति धमिलो भएको बेला काँग्रेसले देला र खाउँला भन्दै देउवाको दैलो चाहार्दै दौडेको देखिन्छ । तथापि उनको त्यो चाहना पूर्ति नहुँदै उनको घैँटो सोम शर्माको जस्तो गरी फुटेको छ ।


चाँखेहरूले खाल हल्लाउने ?
अर्काको बुइ चढेर अग्लो भएँ भन्ने सोच्ने माधव नेपाल प्रवृत्ति र चुनावी परिणामले च्याँखेको हैसियतमा राखेका भुँइफुट्टाहरू सत्ताको खेलोफड्कोबाट भुँडी भर्न तम्सेका देखिन्छन् । च्याँखेहरू मिसन चौरासीमा होइन इलामको चुनावी परीक्षामै फेल भए । जनताले तिनलाई समर्थन गर्दैनन् भन्ने कुरा प्रमाणित भयो । लोकतन्त्रको यात्रामा सात दशक भन्दा बढी लडेका एमाले जस्ता दललाई धारे हात लगाएर र सरापेर मुलुक बन्न सक्दैन भन्ने देखियो । आउने चौरासीमा एमालेले एकल बहुमत ल्याउने संकेत इलामबाट देखिएपछि माधव नेपाल लगायतका नयाँ भनिएका राजनीतिका च्याँखेहरूको ओंठमुख सुकेको छ । राजनीति धमिलो भएको देखेर बहुमतको गठबन्धनमा करेन्ट लगाएर माछा मार्न अघि बढेका माधव नेपाललाई सोही करेन्टले ‘एन्टी करेन्ट र व्याक फायर’ भएको छ । नेपाल अहिले भिजेको मुसा जस्तो भएका छन् ।


काँग्रेसको आखिरी छटपटी
    समाजमा रहेका पुराना बुढाबुढीबाट रुखमा भोट हाल्न लगाएर ‘व्याज खाइरहेको काँग्रेस’ अब ‘आखिरी र रहलपहलको पार्टी’ भएको छ । गएको प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा कम्युनिष्ट फुटेको र अपबित्र गठबन्धन भएको फाइदा उठाएर केही संख्या थपेको काँग्रेस अब आखिरीको सत्ताको जोडघटाउ गर्दै धमिलो पानीमा माधव नेपाल लगाएर करेन्ट लगाउन तम्सेको देखिन्छ । जनताको समर्थन, मत र भोटबाट काँग्रेसको अब दिनगन्ती सुरु भइसकेको छ । नेपाली काँग्रेसको व्याड नै सुकिसकेको देखिन्छ । देश र कांग्रेस चिनेका र बुझेका कुनै पनि युवा काँग्रेसमा जाँदैनन् । अहिले काँग्रेसको झन्डा बोक्ने र म काँग्रेस हुँ भन्ने साहस कसैमा देखिन्न । पुराना काँग्रेसीका छोरानातिले काँग्रेस पार्टी प्रजा परिषदको बाटोमा पुग्न सक्छ भन्न थालसिके ।

 

काँग्रेसको नेतृत्वसँग मुलुक बनाउने दृष्टिकोण, विचार, नीति, योजना, कार्यव्रmम र सीप केही पनि देखिन्न । सत्तामा जानको लागि जुुनसुकै व्यक्ति वा दललाई मन्त्री पद र पैसा बाँड्नेदेखि बाहेक उस“ग अब केही रहेन । सत्तामा पुगेपछि राज्यको ढुकुटी सक्ने, कमिशनमा रमाउने काम मात्र काँग्रेसले गरेपछि जनता अन्यत्र मोडिएका हुन् । यही मौका छोपेर माधव कुमार नेपाल सत्ताको चास्नीमा डुबुल्की मार्न काँग्रेसको पुच्छर समाउन पुगेका थिए । तथापि माधवको त्यो चाहना बेलुन फुटेजसरी प्याट्टै फुटेको छ ।


ओलीको विकल्प ओली
    नेपालको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक परिर्वतन, सुधार, समृद्धि र विकास हुन सक्दछ भने एमालेबाट मात्र सम्भव छ भन्ने कुरा प्रमाणित भयो । नेपालको राजनीतिमा अस्थिरता मच्चाउने च्याँखे  काँग्रेसको पुच्छर समाएर वैतरणी तर्न हिँडेका माधव नेपाललाई जनताले राम्रोसँग चिनेका छन् । एमालेले मात्र मुलुकमा राजनीतिक स्थिरिता र प्रगति गर्न सक्छ भन्ने कुरा दिनदिनै प्रमाणित हुँदैछ । एमालेको विकल्प एमाले मात्र हो । एमाले पार्टी जनतामा स्थापित, राजनीतिक संस्कृति, सत्ता सञ्चालनको अनुभव, नैतिकता, व्यवस्थापन, राज्य सञ्चालनको क्षमता, दक्षता तथा विकास प्रतिको दृष्टिकोण भएको पार्टी भएको प्रस्टै छ ।

 

 

यही कारण इलाम र बझाङमा एमालेप्रतिको जनविस्वास प्रकट भएको हो । ‘हुतीसुती’ र ‘वेयट’ नभएका परजीवी माधव नेपालबाट माँखो मर्दैन । अब माधव र एस पार्टीले मुलुक चलाउँछु भन्नु र ‘हुटिट्याउँले आकाश थाम्छु’ भन्नु एउटै हो । जुन सम्भव नै छैन । विकास, समृद्धि र प्रगतिको लागि जनविस्वास प्राप्त र स्थापित एमाले पार्टी चाहिन्छ । एमालेमाथि जनताको समर्थन हिजो थियो, आज छ र भोलि पनि रहनेछ भन्ने कुरा पटक–पटक प्रमाणित भएको छ । राजनीतिको पानी धमिलो भएको र प्रस्ट बहुमत नभएको मौका छोपेर पानीमा करेन्ट लगाएर माछा मारेर खाने माधव नेपालको चाहना सूर्य उदाएपछि शीतको आयु सकिए जस्तो भएको छ ।

 

कम्युनिष्ट आन्दोलन, जनता, पार्टी र आफू समेत संलग्न भएर बनाएको घरमा आगो लगाउने माधव नेपाल एण्ड कम्पनी लिक्विडेसन (विघटन–खारेजी) मा जाने चाहिँ पक्कापक्की भएको छ । पानी जमेको खेतमा ढलेको मुडामा पलाएको पालुवा जस्तो अवस्थामा रहेको माधव र उनको ‘संगठन’ खङ्रङ्ङैँ सुक्ने प्रस्ट भएको बेला माधव–देउवाले फालेका करेन्ट एन्टीकरेन्ट भएर झट्का चाहिँ उनीहरूतर्फ नै फर्कन थालेको देखिन्छ । धमिलो पानीमा करेन्ट लगाएर माछा मार्ने च्याँखेहरूलाई सर्वत्रबाट एक्लाउन ओलीलाई अर्थात एमालेलाई समर्थन गर्न आवश्यक छ । 
(टिप्पणीकारको निजी विचार)

प्रतिकृया दिनुहोस