• आइतबार-भदौ-२३-२०८१

भन्सारका डीजी निरौला असुल्न व्यस्त !

 

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धन समस्यामा परेर नयाँ सरकार गठन भएपछि भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला यतिखेर निकै आत्तिन पुगेका छन् । उनले हतार–हतार विभिन्न भन्सार कार्यालयहरूमा आफू निकट भन्सार अधिकृत कर्मचारीहरूको सरुवा गरेर लाखौं असुली गरेर विभागबाट विदा हुने तरखरमा लागेको खबर छ । नयाँ सरकार गठन भएर अर्थ मन्त्रालयको नेतृत्व फेरिएपछि आफ्नो सरूवा हुने निश्चित ठानेर उनले विभिन्न भन्सार नाकाहरूबाट कम भन्सार मूल्यांकन गराई सामान आयात गर्न लाइन खुलाएको समेत चर्चा चल्दै आएको छ ।


सहसचिव निरौला २०८० चैत १४ गते विभागको नेतृत्व सम्हाल्न पुगेका थिए । त्यसअघि उनी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका थिए । निवर्तमान अर्थमन्त्री वर्षमानको अरुची हुँदाहुँदै पनि उनी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निजी सचिव रहेका सहसचिव अर्जन भण्डारीलाई खुसी तुल्याएर विभागको महानिर्देशकमा जान सफल भएका थिए । प्रधानमन्त्रीका प्रमुख सचिव, स्वकीयहरूलाई घरघडेरी र सवारीसाधन जोडिदिने शर्तमा उनी भन्सार विभागमा पुगेको चर्चा चल्दै आएको छ ।


जबकि, नाथममा एक लाख तलव प्राप्त हुने पद छाडेर उनी भन्सार विभागमा मोटो थैलीको सपनादेखेर हानिएका थिए । अर्थ मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै बिभागबाट हट्ने संभावना बढेसँगै सात महिना अघि विभिन्न भन्सार कार्यालयबाट भन्सार महसुल निर्धारणमा विवादमा परेर विभागमा तानिएका अधिकृतहरुलाई उनले पुन रसुवा र वीरगञ्ज भन्सार कार्यालयमा खटाएर शुभ लाभ हात पारेका चर्चा चलेको छ । भन्सार विभागमा लामो समयदेखि बसिरहेका अधिकृतहरूलाई कुनै जिम्मेवारी नदिई महानिर्देशक निरौलाले निरन्तर ठूला भन्सार कार्यालयहरुमा बसेर ‘तर’ मारेका बद्नाम कर्मचारीहरूलाई पुन जिम्मेवारी दिएर स्वार्थ पूरा गरेको भन्दै अर्थ मन्त्रालयमा लिखित उजुरी परेको स्रोतले जानकारी दिएको छ । 


महानिर्देशक निरौलाले मोटो थैली बुझेर मिलेमतोको आधारमा सरुवा गरेको उजुरी परेपछि अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले निरौलासँग यस विषयमा लिखित रुपमा पत्र नै पठाएर जवाफ माग गरेको स्रोतले बताएको छ । मन्त्रालय स्रोतका अनुसार, विभागमा भएको सरुवाका विषयमा केही अधिकृतहरुले उजुरी गरेको र राजस्व सचिव घिमिरेले महानिर्देशक निरौलासँग सोधपुछसमेत गरेको जानकार स्रोत बताउँछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नियमित रुपमा सरुवा गर्नु अगावै उनले आकर्षक र मालदार भन्सार कार्यालयमा अधिकृतहरुको मनपरी सरुवा गर्नुले पनि उनको नियतमा शंका उत्पन्न गरेको बताइन्छ ।


कर्मचारीहरुले पनि महानिर्देशक निरौलाले गलत मनसायका साथ राम्रै थैली बुझेर आकर्षक र मालदार भन्सार कार्यालयमा सरूवा गरेको गुनासो गरेका छन् । विभागका महानिर्देशक निरौलाले भने आफूले कानून अनुसार रिक्त ठाउँमा कर्मचारी पदस्थापन, सरुवा र कामकाजमा खटाएको दावी गर्दै आएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । आफ्नो अनुकूल नहुँदा केही कर्मचारीले गुनासो गरेको जवाफ उनले मन्त्रालयलाई दिएर उम्किने प्रयास गर्दै आएका छन् । रसुवा, वीरगन्ज, भैरहवा, विराटनगर, सुख्खा बन्दरगाहा सिर्सिया, काकरभिट्टा, नेपालगन्ज र कृष्णनगर भन्सारकार्यालयलाई राम्रो अतिरिक्त कमाई हुने आकर्षक र मालदार भन्सार कार्यालय रूपमा लिने गरिएको छ ।


यही २०८१ साउनमा शाखा अधिकृत र भदौमा उपसचिव सरुवाको सूची बनाईरहेका निरौलाले सत्ता गठबन्धन फेरिने संकेत पाएपछि ०८१ असार २३ गते तीन जना शाखा अधिकृतको काज सरुवा गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । नियमित सरुवा हुने समयसम्म आफू बिभागबाट हट्ने डर र भएका कारण उनले सरकार परिवर्तनको संकेत आउनासाथ एक महिना अघि काज सरुवा गरेर शुभलाभ हात पारेको स्रोतले दावी गरेको छ ।


 विभाग स्रोतकाअनुसार, महानिर्देशक निरौलाले लक्ष्मण बास्तोला र हंस रावललाई आकर्षक मानिने रसुवा भन्सारमा काज सरुवा गरेका छन् । गएको चैत महिनादेखि नै रसुवा कार्यालमा तीन जना अधिकृतहरुको पद रिक्त रहेका थियो । तर, यसअघि उनले सो पदमा कर्मचारी किन खटाएनन् र सरकार परिवर्तनको संकेत बाहिर आउनासाथ सरुवा गर्नुले पनि उनको नियत सफा नभएको स्पष्ट हुन्छ । मन्त्रालयले पनि लामो समयदेखि कार्यालय नबसेका तथा साना कार्यालयबाट आएका केही कर्मचारीलाई रसुवा र वीरगञ्ज जस्ता ठूला कार्यालयमा खटाउनु पर्ने सुझाव दिएको थियो ।


तर, महानिर्देशक निरौलाले आफूले मनमानी ढंगले काज सरुवा गरेर दुनो सोझ्याएको स्रोतले बताएको छ । महानिर्देशक निरौलाले ७ महिना अघि २ वर्षे कार्यकाल पूरा गरेर तातोपानी भन्सारबाट विभागमा भित्रिएका बास्तोला र वीरगंजबाट आएका रावललाई रसुवा कार्यालयमा खटाएका छन् । ठुला भन्सार कार्यालयको मुख नै नदेखेका अधिकृतहरु पनि विभागमा रहेका छन् । घुस लेनदेन नगरी पठाउने हो भने अवसर नपाएका शाखा अधिकृतहरु जान तयार थिए । तर, बिना घुस महानिर्देशक निरौलाले उनीहरूलाई खटाउन प्रस्ताव नगरेको स्रोत बताउँछ ।

 

०८१ असार २३ गते तातोपानी भन्सार कार्यालयबाट विभागमा भित्रिएका अर्जुन कार्कीलाई महानिर्देशक निरौलाले वीरगञ्ज भन्सार कार्यालयमा सरुवा गरेका छन् । कार्की नायब सुब्बाबाट फाइल बढुवा हुँदै शाखा अधिकृत भएका हुन् । नायब सुब्बा हुँदा निरन्तर ठूला भन्सार कार्यालयमा बसेका कार्कीले नियमित सरुवा हुने एक महिना अघि काज सरुवा मिालउन सक्नुलाई भने शंकास्पद रुपमा हेरिएको कर्मचारीहरु बताउँछन् । महानिर्देशक निरौलाले रसुवा भन्सारमा सरुवा गरेका बास्तोला २०८१ असार २३ गते नै उक्त कार्यालयमा हाजिर भइसकेका छन । (साँघु साप्ताहिक, २०८१ साउन ७)

प्रतिकृया दिनुहोस