• आइतबार-भदौ-२३-२०८१

एसडी मुनीलाई किन आश्चर्य हुनेछ ?

 

सुमना श्रेष्ठ मन्त्रीबाट हटेर जाने भएपछि शिक्षा मन्त्रालयले बुद्धको मूर्ति दिएर भव्य विदाई गर्दा हरेक कर्मचारीको हातमा फूलको गुच्छा थियो । यसरी दिल खोलेर शिक्षा मन्त्रालयका कर्मचारीहरुले विदाई कुनै मन्त्रीको पहिला चाहिं भएको थियो कि थिएन भनि पत्रकारले लेखे । सुमना आफ्नो झोला पिठ्युँमा लिँदै विदा भइन् । 


यसपटक १ सय ३१ दिन (चार महिना) गृहमन्त्री रहेका रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै विदाई हुँदा गृहसचिव एकनारायण अर्याल, आईजीपी बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहित उपस्थित कर्मचारीहरुले हातमा पुष्प गुच्छासहित विदावारी गरे । 


 एकाएक पुष्पकमल दाहालको सरकार ढल्ने पृष्ठभूमिमा थियो । रवि लामिछाने गृहमन्त्री रहँदा बेचन झालाई भारतीय प्रहरीले भारतमा पक्राउ गरी नेपालको सशस्त्र प्रहरीलाई गड्डा चौकी सीमा पारी सुम्पिने घटना भनि लेखि पहिले नै प्रकाशित छ । रवि लामिछानेको ठाउँ अब कांग्रेसका रमेश लेखकले लिइसकेका छन् । यो पहिले नै कुरा ‘जनआस्था’ मा पहिले पढिसकेँ कि बेचन झाले इन्कारी बयान दिँदैछन् । २० दिन बयान नदिएर २१औं दिनमा मात्र उनले स्वयं आफू पनि बेकसुर रहेको र अरु कसैको नाम पनि नक्कली भुटानी शरणार्थी काण्डमा नलिएको समाचार र टिप्पणीहरु ‘योहो’ टेलिभिजनमा हे¥यौं । उल्टै हामीहरुले के देख्यौं कि बेचन झा पक्राउ परेपछि प्रहरी बयानमा पोलिएर सोधपुछ गरिने सम्भव व्यक्ति भनेर नाम लिइएको व्यक्ति पनि पहिले नै मन्त्री भएर शक्तिको आसनमा विराजमान भई सक्नुभएको छ । योहो टेलिभिजनमा २१ दिन पछि इनकारी बयान दिएका छन् भनि खबर सुनेँ । नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका कयौं पहिले पनि धरौटीमा छुटेर स्वतन्त्र भई मुद्दाको पुर्पक्षमा रहेका छन् । 


२०८१ साउन ४ गते योहो टेलिभिजन हेर्दा प्रत्यक्ष सुनें कि बेचन झालाई बयान दिन २० दिन रोक्न पनि केपी ओलीले भनेर पठाएका थिए । २१ औं दिन बेचन झाको इनकारी बयान आयो । उनले स्वयं आफू पनि बेकसुर र अरु पनि बेकसुर भनि इनकारी बयान दिएको कुरा योहो टेलिभिजनले बताएको थियो । यसको साथै पूर्व उपप्रधानमन्त्री र गृहमन्त्रीहरु नारायणकाजी श्रेष्ठ र रवि लामिछानेको यस घटनाबारे टिप्पणीहरु पनि हामीहरुले टेलिभिजनमा हे¥यौैं । बेचन झाको भविष्य के होला भन्ने विषय अहिले छोडौं । लाग्छ उनलाई क्लिन चिट दिइने प्रबन्ध वर्तमान सरकार र गृहमन्त्री रमेश लेखकले दवावमा परेर गर्नेछन् । तर, यस लेखको प्रारम्भमा नाम थियो–यसपटक शिक्षा मन्त्रालयका कर्मचारीहरुले ऐतिहासिक र सानदार विदाई गरेर पठाइएकी निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठको । 


 शासन शक्तिमा इमानको सँधै खडेरी र अनिकाल रहेको मुलुकमा यसपटक सुमना श्रेष्ठको विदाईको बारे सोच्दा मैले केही महिना अघि एउटा इमान भएको जिल्ला न्यायाधीश सरुवा भई अन्य जिल्ला जान लाग्नु भएको बखत मोरङ जिल्ला अदालतमा काम गर्नु भएका न्यायाधीश रोमनाथ अधिकारीलाई मोरङ जिल्ला बार एसोसिएसनले दोसल्ला ओढाई र कानून व्यवसायीहरुले फूलको माला र पुष्पगुच्छासहित विदा गरेको घटना पनि सम्झिन पुगेँ । रोमनाथ अधिकारी नेपालको कर्मचारीतन्त्रमा मात्र एउटा जिल्लास्तरको अदालतमा मात्र १६ महिना रहँदा उहाँको इमान, न्याय र निष्ठाको सानो झलक देखाएर उहाँले इज्जत र सम्मान आर्जित गर्नुभएको थियो । न्यायाधीशको इमान र बेइमानी दुबै सबैभन्दा पहिले कानून व्यवसायी र सहकर्मी कर्मचारीहरुले देख्दछन्, जान्दछन् । 


प्रधानमन्त्रीदेखि पुलिस, पाले, कार्यालय सहयोगीसम्म धेरैले भ्रष्टाचार गर्न दिगमिग नमान्ने वातावरणमा एउटा सानो जिल्ला तहको पदवालाले पनि इमान र निष्ठाका साथ काम गर्दा जनताले सम्मान गरेका दुर्लभ दृश्यहरु पनि कहिलेकाहीँ नेपाल राज्यमा पनि देखापर्दछन् । कहिले कुनै कारण कहिले अर्कै कारणले एकले अर्काेलाई पालो दिँदा व्यक्तिहरु उही रहेपनि सरकारहरु सँधै अस्थिर रहिरहने र विदेशीको खुला वा गुप्त हस्तक्षेपको सिकार मुलुक रहिरहने राजनीतिक वातावरण नेपालमा यथावत छ । 


राजतन्त्र पञ्चायतकालदेखि मन्त्री हुँदै आएका शरत्सिंह भण्डारी आजको गणतन्त्रमा विश्व रेकर्ड राख्ने २०औं पटक यसपाला पनि मन्त्री भएका छन् । सबैभन्दा पछिल्लो प्रचण्ड प्रधानमन्त्री रहँदा राजनीतिमा भर्खर नयाँ उदाएका केही व्यक्तिहरु पनि मन्त्री भएका थिए, जसको दल पनि नयाँ थियो । शक्ति केन्द्र परिचालन गरेर नेपालमा सत्ता नै उलट पुलट गर्न सक्ने हैसियत राखेका बेचन झा पक्राउ पनि रवि लामिछाने गृहमन्त्री हुँदै भएको हो । अहिले ३ वर्षपछि फेरि चौथो पटक प्रधानमन्त्री भएका ओलीको सरकारमा पनि कांग्रेसका तर्फबाट कहिले मन्त्री नभएकी नयाँ मन्त्री आरजु देउवालाई परराष्ट्र मन्त्री हुने सौभाग्य उपलब्ध भएको छ । 


अर्काेतिर शेरबहादुर देउवा पनि छैठौं पटक प्रधानमन्त्री हुने उनका विश्वासी ज्योतिषीको भविष्यवाणी कुरेरै बसेका छन् । २०८१ असार ३० गतेकै ‘नागरिक दैनिक’ मा भारतीय लेखक पूर्व कूटनीतिज्ञ नेपालविद् भनि कहलिएका एसडी मुनिको कुरा पनि पढें, ‘नेपालको पछिल्लो राजनीतिक परिवर्तन पनि अवसरवादी र चलखेल गर्नेहरुको म्युजिकल चेयर हो । नेपाली कांग्रेस र एमाले बिचको गठबन्धन बाँकी अवधि टिके आफ्ना लागि आश्चर्य हुनेछ ।’ (साँघु साप्ताहिक, २०८१ साउन ७)
 

प्रतिकृया दिनुहोस