• शुक्रबार-जेठ-४-२०८१

उपसचिवहरूको बढुवा, अधिकृतहरुको सरूवा : प्रमुख प्रशासकीयहरूको सरूवामा बेथिति !

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साता ६ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको अवधि नपुग्दै सरुवा गरेको छ । मन्त्रालयले अघिल्लो २०८१ वैशाख १० गते सोमबार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा मन्त्रालयका उपसचिवहरूको सरुवा गरेको थियो । 


समय अवधि पूरा नभई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवहरू सरूवा गर्दा स्थानीय तहका नीति, विकास निर्माण, सेवा प्रवाह र अन्य काम कारवाहीहरूमा अस्थिरता उत्पन्न हुँदै आएको छ । यस्ता कार्यले निजामती प्रशासन सेवामासमेत बेथिति निम्त्याएको गुनासो छ ।


स्थायी सरकार मानिने निजामती कर्मचारीतन्त्रमा चरम राजनीतिक हस्तक्षेप गरेर प्रशासनिक संयन्त्रलाई भताभुङ्ग पार्न खोजेको आरोप कर्मचारीहरूले लगाउन थालेका छन् । मन्त्रालय स्रोतका अनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ । उनी बुटवल उपमहानगरपालिकाबाट गोकर्णेश्वरमा सरूवा भएको ९ महिना मात्र पुगेको बताइएको छ । पन्थी यसअघि रौतहटको गरूडा, ललितपुरको गोदावारी, कपिलबस्तुको बाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर मोजमस्ती गरिसकेका उपसचिव पन्थीलाई जनकपुर उपमहानगरपालिका खटाइनुलाई कर्मचारीले आश्चर्यका रुपमा लिएका छन् । उनी कार्यरत रहेको गोर्कणेश्वरमा भने मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाउन सकिरहेको छैनन् ।


मन्त्रालयले जनकपुर उपमहानगरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएर घटुवा सरुवा गरेको छ । सामान्यको अतिरिक्त समूहमा रहेका उपसचिव राजमणि निरौलालाई भने उदयपुर जिल्लाको दोस्रो ठुलो कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको छ । राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत कर्णाली प्रदेशमा सरुवा गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका उपसचिव दशरथ बुढालाई बर्दियाको राजापुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सरुवा गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत उपसचिव केशवप्रसाद उपाध्यायलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 


३२ शाखा अधिकृत को कहाँ पुगे ?
मन्त्रालयले गत साता नै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३२ जना शाखा अधिकृतहरुको पनि सरुवा गरेको छ । मन्त्रालयका अनुसार गृह मन्त्रालयमा कार्यरत शाखा अधिकृत ईन्द्रबहादुर क्षेत्रीलाई राष्ट्रिय योजना आयोगमा खटाइएको छ ।


अधिकृतद्वय रमेशप्रसाद रिजाल र विकास डङ्गोललाई ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयमा सरुवा गरिएको छ । विजय सापकोटालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गणेश विक्रम बस्नेतको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । गणेश तामाङ, सूर्यलाल विश्वकर्मालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र दुर्गा कुमारी दाहाललाई युवा तथा खेलकुद मन्त्रालयमा खटाइएको छ ।


मन्त्रालयले रामकृष्ण घिमिरेलाई सञ्चार तथा सूचना प्रविधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत शाखा अधिकृतद्वय रुद्र बहादुर पछाई र तीर्थराज कट्टेललाई भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको छ । अधिकृत हरिगोपाल कर्माचार्यको भने पर्यटन मन्त्रालयमा सरुवा भएको छ । मान सिंह धामीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सो मन्त्रालयका विश्वबन्धु रेग्मीको भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।


भूमि व्यवस्थाका शाखा अधिकृतहरू राज बहादुर विष्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सरोज भट्ट र प्रमोद तिम्सिनालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा गरिएको मन्त्रालयस्रोतले बताएको छ । राष्ट्रपतिको कार्यालयमा कार्यरत शैलेन्द्र ढकाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । सो मन्त्रालयमा कार्यरत सन्तोष कोइरालालाई भने अर्थ मन्त्रालयमा खटाइएको छ ।


पर्यटनका राजकुमार दुलाल, टंकबहादुर नेगी, लाल बहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रालयकी ईश्वरी अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । सञ्चार मन्त्रालय मन्त्रालयमा कार्यरत शम्भु बोगटीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयमा कार्यरत नारायण प्रसाद भण्डारीलाई भने भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ ।


सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेर काजमा निजामती कर्मचारी अस्पतालमा कार्यरत गौतम घिसिङको अर्थ मन्त्रालयमा सरुवा भएको छ । अतिरिक्त समूहमा रहेर काजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा कार्यरत दशरथ दत्त भट्टलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भित्राइएको छ । वन तथा वातावरण मन्त्रालयमा कार्यरत राजेश्वर पौडेललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा खटाइएको छ ।


राष्ट्रिय तथ्यांक कार्यालयका शिवनारायण महतोलाई सामान्य प्रशासन मन्त्रालय अन्र्तगत दरबन्दी रहने गरी मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पवन मिजार र विनाराज बुढाथोकीलाई क्रमशः शिक्षा तथा विज्ञान प्रविधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको बताइन्छ । 


१२ उपसचिव सहसचिवमा बढुवा
लोक सेवा आयोगले खुला प्रतिस्पर्धाका आधारमा प्रशासन, न्याय, लेखापरीक्षण र सरकारी वकिल समूहतर्फका गरी १२ जना उपसचिवलाई बैशाख १२ गते सहसचिवमा बढुवा सिफारिस गरेको छ । आयोगले  प्रशासन सेवाका नौ, न्याय, सरकारी वकिल र लेखापरीक्षण समूहतर्फ एक–एक जना गरी १२ जना उपसचिवहरूको सहसचिवमा बढुवा गरेको थियो ।


प्रशासन सेवातर्फ पहिलो नम्वरमा विनोद कुमार खडका, राजन पौडेल, पुरूषोत्तम शर्मा, कृष्णप्रसाद मैनाली, केशवराज सुवेदी, वेदप्रसाद भण्डारी, मिरा आचार्य, रविलाल शर्मा, ज्ञानहरि घिमिरे सहसचिवमा बढुवा भएका छन् । न्याय सेवातर्फ दीपक भण्डारी, सरकारी वकिल समूहतर्फ दीपशिखा मुनाकर्मी र लेखापरीक्षण समूहतर्फ राजेन्द्रराज ओझाको बढुवा भएको लोक सेवा आयोगले जनाएको छ ।

 

बढुवा भएका प्रशासनका सहसचिवहरूलाई सरकारले वैशाख १७ गते सोमवारबाट एकहप्ते प्रशिक्षण गराएर रिक्त रहेका संघीय, प्रदेश मन्त्रालय, स्थानीय तहअन्तर्गतका महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, विभाग र कार्यालयहरूमा पदस्थापन गर्ने तयारी गरेको बुझिएको छ । (साँघु साप्ताहिक, २०८० वैशाख १७) 

प्रतिकृया दिनुहोस