• शनिबार-श्रावण-१२-२०८१

औषधि र उपकरण खरिदमा सेटिङ !

 

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)को मेडिकल, जनरल र फार्मेसी स्टोरका प्रमुखले औषधि, स्वास्थ्य उपकरण, ल्याव लगायतमा दैनिक रुपमा प्रयोग हुने सामग्री खरिद गर्दा बर्सेनी करोडौं रकम अनियमितता गर्दै आएको जानकारी कर्मचारीहरुले दिएका छन् । अस्पतालले गरिब विरामीको समग्र उपचार र मिर्गौला पीडितको डाइलासिसमा प्रयोग हुने डाइलाजर मेशिन उपकरण खरिद गर्दा व्यवसायीसँग मिलेमतो गरी ठुलै आर्थिक चलखेल र कमिशनको खेल हुँदै आएको बताइएको छ ।


 अस्पतालले चालुु आर्थिक वर्षका लागि औषधि खरिदको टेण्डर गरिसकेको छ । सप्लायर्स कम्पनीसँग सेटिङ मिलाएर मेडिकल र फार्मेसी स्टोर प्रमुखहरुले अस्पतालका लागि अति आवश्यक पर्ने मेडिकल उपकरण, सर्जिकल, डाइलासिस र फार्मेसीबाट बिक्री गरिने औषधि महंगो दर रेटमा किन्ने तयारी गर्दैछन् । कम आवश्यक पर्ने सामग्री कम मूल्यमा खरिद गर्ने गरी स्पेक तयार पारेर मिलेमतोमा टेण्डर बिट गर्न व्यसायीसँग सेटिङ मिलाएको आशंका स्रोतले गरेको ठेक्का स्वीकृत नगरी २५ प्रतिशतसम्म कमिशन लिनेगरी सम्झौता गर्न लागिएको कर्मचारी स्रोत बताउछ । अस्पतालका निर्देशक, लेखा शाखा र स्टोरकिपरमार्फत सेटिङमा नै यस्तो खेल हुँदै आएको स्रोत बताउँछ । हरेक वर्ष अस्पतालले यस्ता सामग्री वार्षिक रूपमा ४०–५० करोड रूपैयाँको खरिद गर्ने गरेको स्रोतको दावी रहेको छ ।


 यी सामग्री खरिदमा ५० लाख अग्रिम कमिशन खेल र सेटिङपछि मात्र खरिद टेण्डरको सूचना प्रकाशित गर्ने चाँजोपाँजो मिलाइएको स्रोतको दावी रहेको छ । यसरी सेटिङ र मिलेमतोमा टेण्डर स्वीकृत गरी खरिद गरिएका मेडिकल, सर्जिकल र औषधिजन्य सामग्री खरिद बिलको १० प्रतिशत अग्रिम रकम लेखा, स्टोर र अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले हात पार्दै आएको बताइएको छ । जस्तो बजारमा रू. ५ सय मूल्य पर्ने सामानलाई टेण्डरमा रू. २५ सय बिट गर्न लगाउने र यस्तो सामानको बिल भुक्तानी हुँदा सप्लायर्स फर्मले ५० प्रतिशत र अस्पतालका सम्वन्धित कर्मचारी ५० प्रतिशत रकम बाँडचुड गरी खाने गरेको स्रोतले दावी गरेको छ ।


माथि उल्लेखित विषयमा अख्तियार दुरुपयोग अनुसन्धन आयोग र राष्ट्रिय सतर्कता केन्द्रको खासै ध्यान जान सकेको छैन । यी निकायले कोटेशन, टेण्डरबाट प्रक्रिया, सामान खरिदका लागि तयार गरिएको स्पेसिफिकेसन, खरिद आदेश, माग फाराम, बिल भर्पाई, आवश्यक कागजात, खरिद गरिएका सामग्रीको गुणस्तर र परिणाम जाँच तथा बिल भुक्तानीको कागजात झिकाएर जाँचबुझ गर्ने हो भने बास्तविकता छर्लङ्ग हुुने स्रोतको दावी रहेको छ । (साँघु साप्ताहिक, २०८० चैत २६) 
 

प्रतिकृया दिनुहोस