• शनिबार-श्रावण-१२-२०८१

लुम्बिनी शिखर सम्मेलनमा दलाई लामा आउने हलचल

 

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले २०८० फागुनको २८ र २९ गते अस्तर्राष्टियस्तरको बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्टिय लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन आयोजना गर्दैछ । त्यसमा विभिन्न देशका उच्चस्तरीय पाहुनालाई निम्ता गरेको छ । त्यसमध्ये करिब ७ जना नोबेल पुरस्कार विजेता नै भएको बताएको छ । 


विभिन्नमा विषयमा नोबेल पुरस्कार प्राप्त गरेका व्यक्तित्वलाई बोलाउने क्रममा केही विवादास्पद व्यक्तिलाई पनि निम्ता गरेको चर्चाले विवाद ल्याउन खोजेको छ । नोबेल शान्ति पुरस्कार जितेका दलाई लामा पनि उक्त कार्यक्रमको निम्तालु रहेको भन्दै चर्को विवाद उठेको छ । लुम्बिनी प्रदेश सरकारले लामालाई पनि निम्ता पठाएको भन्दै आलोचना हुन थालेको छ । तर, प्रदेश सरकारले अहिलेसम्म उक्त विषयबारे केही बताएको छैन । एमालेका सांसदहरुले भने लामालाई निम्ता गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।


  त्यसरी बोलाउँदा प्रदेश सरकारको एकलौटीभन्दा पनि संघीय सरकारको समेत भूमिका हुने र प्रदेश सरकारको आग्रहमा परराष्ट्र मन्त्रालयले विदेशी पाहुनाको निम्ता गर्ने भएका कारणले लामाको सन्दर्भ पनि केन्द्रीय सरकार पनि चनाखो रहेको छ । नोबेल पुरस्कार विजेताहरुमध्ये ७ जना आउने भनेर सार्वजनिक भएका नामहरुको सूचीमा लामाको नाम भने छैन । तर, एमालेका सांसदहरुले लामालाई पनि बोलाएको भन्दै आलोचना गर्न थालेका हुन् । 


भारतको धर्मशालामा रहेका लामाको लुम्बिनीसँग गहिरो सम्बन्ध रहेको छ । भारतबाट नोबेल पुरस्कार विजेता कैलाश सत्याअर्थी आउने निश्चित भइसकेको छ । यो सम्मेलनको परिकल्पनाकारमध्येकै एकजना भएका कारणले सत्याअर्थी आउने निश्चित भएको हो ।

 

लामा आउने चर्चापछि काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीले पनि सम्मेलनको विषयमा निकै चासो दिएको बताइएको छ । तर, लुम्बिनी प्रदेश सरकार र काठमाडौंमा परराष्ट्र मन्त्रालयले केही औपचारिक रुपमा लामाको विषयमा नबोलेका कारण लामालाई निम्ता पठाएको विषय अहिलेसम्म प्रष्ट भइसकेको छैन । तर, चिनियाँ पक्षले चासो देखाउनुले भने सरकारको भूमिकामाथि शंका गर्ने ठाउँ भने दिएको छ । (साँघु साप्ताहिक, २०८० फागुन २१)

प्रतिकृया दिनुहोस