• शनिबार-श्रावण-१२-२०८१

त्रिवि उपकुलपति नियुक्तिप्रति अनेकन असन्तुष्टि ?

 

काठमाडौं । ०८० फागुन ८ गते त्रिभुवन विश्वबिद्यालयको २०औं उपकुलपति नियुक्तिको विषयलाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ । पार्टी महासचिव शंकर पोखरेलले असन्तुष्टि व्यक्त गर्दै भनेका छन् ‘उपकुलपति नियुक्तिमा भागवण्डा नै गर्नु थियो भने खुला आवेदन र प्रतिस्पर्धाको नाटक मंचन केका लागि ? अनि आफूले विश्वास गरेको नेतृत्व छान्दा विगतमा असफल र विवादास्पद मान्छे नछानेको भए के हुन्थ्यो ? विद्यार्थीको विदेश पलायन रोक्नुपर्ने समयमा विश्वविद्यालयमा नेतृत्व चयनमा सरकारको कदम ‘काशी जानु कुतीको बाटो’ जस्तो देखियो उनले भनेका छन् ।


२०८० कार्तिक १७ गते उपकुलपति डा. धर्मकान्त बास्कोटाको चार वर्षे पदावधि सकिएपछि रेक्टर शिवलाल भुषालले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । उपकुलपति छनोट गर्न शिक्षा मन्त्री अशोक कुमार राईको अध्यक्षतामा समिति गठन गरिएको थियो । समितिले उपकुलपतिमा दरखास्त आव्हान गरेपछि ४३ जनाले आवेदन दिएका थिए । जसमा व्यक्तिगत विवरण, कार्ययोजना र सोधपत्रका आधारमा १४ जनाको सूची तयार गरिएको थियो । त्यसमध्येबाट प्रस्तुतिकरण र अन्तर्वार्ता लिएर प्रा. डा.चित्र बहादुर बुढाथोकी, प्रा. डा.केशरजंग बराल र डा. टंकनाथ धमला तीनजनाको नाम नियुक्तिका लागि सरकारलाई सिफारिस गरिएको थियो ।


छनोट समितिले एक नम्बरमा सिफारिस गरेका बुढाथोकीले उपकुलपति हुन चलखेल गरेको र प्राज्ञिक परिषदमा हुँदा कारवाहीमा परेको आरोप लगाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति समुदायका बराललाई उपकुलपति नियुक्ति गरेर छनोट समितिको एक नम्बरमा परेका  बुढाथोकीलाई अपमान गरेको प्राज्ञिक समूहले गुनासो गरेको छ । जसका कारण उपकुलपति छनोट समितिले नौटंकी मात्र गरेको पुष्टि गरेको बताइएको छ ।


स्रोत भन्छ ‘त्रिविवि माओवादी केन्द्रले आफ्नो कब्जामा पारेको छ ।’ नव नियुक्त उपकुलपतिलाई बराललाई प्रयोग गरेर माओवादी केन्द्रले त्रिविविलाई भर्तिकेन्द्र र खेलमैदान बनाउने निश्चित प्राय भएको स्रोतले दावी गरेको छ । उक्त स्रोतले दिएको जानकारी अनुसार उपकुलपति बरालको बोल्ड डिसिजन गर्ने क्षमता नै नभएको आरोप प्राध्यापकहरुको रहेको छ । उनमा दह्रो अडान लिएर काम गर्ने कार्यक्षमता पनि नभएको आरोप शिक्षकहरुको रहेको छ । उनमा माथिबाट दिएको आदेशलाई इमानदारी र वफादारीपूर्ण रूपमा पूरा गर्ने स्वभाव भएका प्राध्यापक मात्र हुन् भन्ने स्रोतको भनाई रहेको छ ।


त्रिविवि भर्तिकेन्द्र बनाउने आशंका
त्रिभुवन विश्वविद्यालयमा रिक्त भएको उपकुलपति पदमा खुल्ला प्रतियोगिताको आधारमा नवीन दृष्टिकोण भएको योग्य व्यक्तिलाई नियुक्त गर्ने गफ प्रधानमन्त्री प्रचण्डले दिंदै आएका थिए । निरन्तर अधोगतिमा रहेको प्राज्ञिक संस्थालाई नयाँ जीवन प्रदान गर्ने पनि खुल्ला प्रतिस्पर्धा गरिएको थियो ।


अन्ततः पोखरा विश्वविद्यालयमा लगभग असफल भएका र अनियमितताको आरोपसमेत खेपेका बराललाई नियुक्त गरेर प्रधानमन्त्री प्रचण्ड निर्लज्ज किसिमले पश्चगमन गरेको आरोप प्राज्ञहरुले लगाएका छन् । त्रिविविलाई भविष्यमा माओवादी केन्द्रको भर्तिकेन्द्र नै बनाउने आशंका यतिवेला हुन थालेको छ । जसका कारण प्रधानमन्त्री माथि प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको सुप्रिमो भनेर आलोचनना हुँदै आएको छ । 


  प्राध्यापक डा. बराल माओवादी केन्द्रका निकट आस्था राख्ने भनेर चिनिन्छ । उनलाई नै त्रिविविको साँचो–ताल्चा सुम्पिने मनसाय थियो भने खुल्ला प्रतियोगिताको नाटक गर्नुपर्ने आवश्यकता नै किन परेको भनेर प्रधानमन्त्री प्रचण्डका अगाडि प्रश्न तेस्र्याइएको छ । त्रिविविको लथालिङ्ग व्यवस्थापनलाई लिकमा ल्याएर सुचारु गर्नु उनको सामथ्र्ययले कति काम गर्ला त्यो भने भबिष्यको गर्भमा रहेको बताइन्छ ।


पोखरा जस्तो सानो विश्वविद्यालयमा असफल भएका डा.बरालले दलीय राजनीतिको हस्तक्षेप, शिक्षकहरूको नैतिकस्तरमा आएको गिरावट, शैक्षिक क्यालेण्डरमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताजस्ता अनेकौँ जटिल समस्याको भासमा जकडिएको त्रिविविको उद्धार कसरी गर्लान् भन्न प्रश्न उनका सामु तेर्सिएका छन् । बरालको नियुक्ति प्रकरणले प्रधानमन्त्री प्रचण्ड देश, जनताको हितमा भन्दा पनि आफू र आफ्नो पार्टीको स्वार्थ–साधना गर्ने ध्याउन्नमा लागेको पुष्टि भएको छ ।


 उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठान जस्ता तीनवटै एकेडेमीको नियुक्तिमा पनि यस्तै रवैया प्रदर्शन गरेका थिए । धार्मिक आस्थाका दुई धरोहर पशुपतिनाथ क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषलाई जाति विशेषबाट आएका र पार्टी निकटको चरनक्षेत्र बनाएका छन् । त्यही बेलादेखि नै उठ्ने गरेको आशंकालाई त्रिविवि उपकुलपति नियुक्तिले पुष्टि गरेर देखाईदिएको जानकाहरुको भनाई रहेको छ । (साँघु साप्ताहिक, २०८० फागुन २१)
 

प्रतिकृया दिनुहोस