• शनिबार-श्रावण-१२-२०८१

‘काले काले मिलेर खाउँ भाले’ भन्ने कल्चर नै बेठिक छ 

आखिर फेरि यिनै नेताहरु राजा भएका छन् !

 

(मुलुकमा संघीयता लागु भएसँगै २०७४ सालमा आम निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनले चौधरीलाई पहिलो पटक संसदको यात्रा तय गर्ने अवसर जराइदिएको थियो । तर, यही बिचमा नेकपा एमालेका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा रिट प¥यो । प्रधानमन्त्री ओलीले गरेको विघटन असंवैधानिक भन्दै संसद पुनस्र्थापना भएपछि नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन हुन पुग्यो । पार्टी विभाजन पश्चात चौधरीलाई शहरी विकास मन्त्री बन्ने अवसरसमेत जुरेको थियो । ०७९ असार ३ गते देखि मंसिर अर्थात ५ महिना २८ दिन मन्त्रीको जिम्मेवारी सम्हाल्ने सौभाग्य उनले पाएका थिए । ०७९ मंसिर ४ गते सम्पन्न आम निर्वाचनमासमेत चौधरी दाङ क्षेत्र नम्बर १ बाट पुन विजयी भएर संघीय संसदमा आइपुगेका छन् । वर्तमान सरकारमा दुईवटा महत्वपूर्ण मन्त्रालय उक्त पार्टीको भागमा परेको छ । तरपनि मन्त्रीको कार्यशैलीप्रति चौधरी सन्तुष्ट छैनन् । प्रतिनिधिसभामा पार्टीकोतर्फबाट संसदीय दलमा प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेका छन् । प्रमुख सचेतक चौधरीसँग वर्तमान सरकारको एक वर्षे कार्यकाल, उसले खेलेको भूमिका, मुलुकको समसामयिक राजनीति र प्रधानमन्त्रीको कार्य शैलीलगायतका विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रामहरी चौलागाईंले गरेको कुराकानीको मुख्य अंश : सम्पादक)


० नेकपा एकीकृत समाजवादी पार्टी यतिखेर सत्तामा रहेको छ, तपाईं पूर्वमन्त्री पनि हुनुहुन्छ, गठबन्धन सरकारको काम कारबाहीलाई कसरी मूल्यांकन गर्नु भएको छ ?
–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारमा रहेका सम्बन्धित मन्त्रालयको मन्त्रीहरुसँग कमिटमेन्ट गरेर अगाडि बढेको भए सरकारले काम गरेका जस्तो देखिन्थ्यो । आम नागरिकहरुले पनि सरकारले राम्रो काम गरेको महसुस गर्ने थिए । जुन लेवलमा काम हुनुपर्ने हो त्यो नभएपछि सरकारले गरेको काम राम्रो हुँदैन र जनताले पनि महसुस गर्न सक्दैनन् । यसमा प्रधानमन्त्री, मन्त्री र नेता भन्दा पनि समग्र मुलुकको राजनीतिक कल्चर नै यस्तै छ । यही कल्चरको कारणको वर्तमान सरकारको काम कारवाहीमा पनि समस्या देखिएको छ ।


०  प्रधानमन्त्रीको कार्यशैली वा मन्त्रीहरुको कमजोरी के कारणले मुलुकको राजनीति अपेक्षा गरे बमोजिम अगाडि बढ्न नसकेको होला त ?
–प्रधानमन्त्रीको बोली र प्रस्तुतिमा काम गर्नुपर्छ भन्ने केही हुटहुटी मैले देखेको छु । तर, जुन खालको रिजल्ट आउनुपर्दथ्यो, त्यो आउन सकेको छैन । प्रधानमन्त्रीले मात्र, कुर्सी जोगाउनको लागि अनेक कुराहरू गरेको मात्र देखिन्छ । जस्तो, भुटानी शरणार्थी काण्डमा टप लेवलका भीआइपी नेताहरुको नाम जोडिए पनि अहिलेसम्म उनीहरु जोगिएर खुल्ला रुपमा हिंडेका छन् । काण्डवाला नै छाती ठूलो र चौडा बनाएर हिँडिरहेका छन् । त्यस्ता व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै अनुसन्धान गर्ने नेपाल प्रहरीका उच्च तहका हाकिमहरुलाई पो उल्टै सरुवा गरियो ।


० प्रहरी अधिकृतहरुको सरुवामा उप–प्रधान तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठको मात्रै भूमिका छ कि प्रधानमन्त्री प्रचण्डको पनि संलग्नता रहेको देख्नुहुन्छ ?
–यो विषयमा म गृहमन्त्री श्रेष्ठको बढी भूमिका देखेको छु । अर्को, विषय भनेको अर्कोसँग दाँजेर राजनीति पनि बेठिक हो । आफ्नो कुर्सी जोगाउनको लागि गलत चिजसँग तुलना किन गर्नुप¥यो ? जस्तो, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गिरीबन्धु टि–स्टेटका बारेमा मैले खुल्मखुल्ला मिलाएर गरेको छु भनिरहेका छन् । तर, म जेल जाँदिन भनिरहेका छन् । 


० पूर्व प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिइरहँदा पनि कारवाही गर्न तपाईंहरुलाई कसले रोकेको छ त ?
–मलाई यो विषयमा आश्चर्य लागिरहेको छ । यस्तो आरोप स्वीकार गरेका पूर्व प्रधानमन्त्रीलाई कारवाहीको दायरामा किन ल्याउन सकिएन ? एक सेकेन्ड पनि बाहिर बस्न नमिल्ने व्यक्ति नै यतिखेर आफूलाई राष्ट्रवादी नेता बताउँदै हिँडिरहेका छन् । त्यसकारण मूल कुरा भनेको कुर्सी होइन,  नक्कली भुटानी शरणार्थी काण्डमा पैसा बुझेको विषय बाहिर आउँदा पनि गृहमन्त्रीले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सकेनन् । प्रहरी प्रशासनले सक्रियताका साथ अनुसन्धान गरिरहेको समयमा उल्टै कसैको प्रेसरले सरुवा गर्ने काम भयो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डमाथि सरुवा गर्छस् कि विश्वासको मत फिर्ता लिउँ भन्नेसम्मको दवाव परेकोले त्यसो गरिएको बताइन्छ । 


० तपाईंले यो कुरा बोलिरहँदा तपाईंको पार्टी अध्यक्ष  माधव नेपाल पनि ललिता निवास जग्गा प्रकरणमा जोडिदा किन घरमा बोलाएर बयान दिएको त, तपाईंले यो विषयलाई कसरी लिनु भएको छ ?
–हाम्रो पार्टी अध्यक्ष माधव नेपालले विदेशबाट फर्किने बित्तिकै एयरपोर्टबाट कहाँ बयानका लागि बोलाउनुहुन्छ म त्यहीँ जान्छु भन्नुभयो । घरमा होइन, उनीहरूले बोलाएकै ठाउँमा आफ्नो कुरा राख्नुभएको हो । ललिता निवास जग्गा प्रकरण २०४९ सालमा नै सकिएको विषय थियो । माधव नेपाल ०६५ सालतिर प्रधानमन्त्री हुनु भएको हो । ०४९ सालमा जग्गा व्यक्तिको नाममा गइसकेको छ । यो विषयमा तत्कालीन प्रधानमन्त्री नेपाललाई जोड्न मिल्छ त ? त्यस अगाडि थुप्रै नेताहरु प्रधानमन्त्री भइसकेका छन् । कि त सबै जोडिएका छन् भन्नसक्नु पर्‍यो ।


० यो प्रकरण तपाईंको पार्टी अध्यक्ष नेपालको कुनै संलग्नता छैन भन्ने आधार, प्रमाण छ त ?
–पार्टी अध्यक्ष माधव नेपालज्यूले प्रधानमन्त्री हुँदा नेपाल राष्ट्र बैंक, सभामुखको कार्यालय, प्रधानमन्त्रीको निवास यी चारवटा संस्थाको नाममा जमिन हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री निवास कम्पाउन्ड बाहिर रहेको २२ रोपनी जग्गा भित्र ल्याउने कोसिस गर्नुभयो । यो मुलुकको लागि अति राम्रो काम थियो । यो काम गरे वापत पूर्व प्रधानमन्त्री नेपालको संलग्नता छ भन्न मिल्दैन । बिना प्रमाण विना आरोप लगाउन मिल्दैन । त्यसैले ललिता निवाससँग माधव नेपालको कुनै पनि सम्बन्ध छैन ।


० तपाईंको दलबाट सरकारमा गएका दुईजना नेताले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ, मन्त्रीको काम कारबाहीलाई पार्टी र तपाईंले कसरी मूल्यांकन गरिरहनु भएको छ नि ?
–एक दुई जना मन्त्रीले गरेको कामको भन्दा पनि म समग्र मुलुकको राजनीतिले पारेको प्रभावको विषयलाई हेर्नुपर्छ । सरकारमा रहेका अरु राजनीतिक दलबाट गएका मन्त्रीले जति गरेका छन, हाम्राले पनि त्यति नै गरेका छन् । तारतम्य मिलेन भने सरकारको पर्मफेन्स देखिंदैन । दैनिक जसो भ्रष्टाचार भएको, गरेको समाचारहरु तपाईं हामीले पढिरहेका छौं ।


० उसोभए तपाईं वर्तमान सरकारको काम कारवाहीबाट खासै सन्तुष्ट हुनुहुन्न ?
–भरखरै मात्र एक लाख भन्दा बढी नक्कली लाइसेन्स प्रकरण बाहिर निस्किएको छ । आज भन्दा १० वर्ष अगाडिदेखि यो काम भइरहेको रहेछ । खोई रोक्न सकेको ? मुलुकभित्र केही राम्रा मान्छेहरु पनि छन् । तर, असल मान्छेहरू डोमिनेट भइरहेका छन् । गतिला शासक छैनन् । नेतृत्व गर्ने मान्छेहरूको ब्रेन नै भ्रष्ट भएको छ । मन्त्रीले मात्रै यो गरौं, त्यो गरौं भनेर हुँदैन । यहाँ त कमिसनको भोलुमको आधारमा काम हुने गरेको छ ।


० तपाईं पूर्वमन्त्री हुनुहुन्छ, शहरी विकास मन्त्रालय नेतृत्व लिंदा कमिशनको कस्तो अनुभव गर्नुभयो नि ?
–मलाई धेरै किसिमका प्रस्तावहरू आए । तर, मैले यस्ता प्रस्ताव आइन्दा लिएर आयौ भने प्रहरी बोलाएर ठेगान लगाउँछुसमेत भनेको थिएँ । त्यस्ता गलत प्रस्तावहरू मैले अस्वीकार गर्थें । दुई करोड रकमको प्रोजेक्टलाई चार करोड बनाइदिनु प¥यो भनेर पनि आउँथे । त्यसरी थपिएको दुई करोड रकम मन्त्रीदेखि कर्मचारीको भागमा पुग्दोरहेछ । यस्तो तरिकाले अग्रिम रुपमा सेटिङ चल्दोरहेछ ।


० त्यस्ता केही उदाहरण दिन सक्नुहुन्छ ?
–जस्तो, काठमाडौँ नजिकैको कुनै एउटा पालिकामा १२ वटा वडा रहेको छ । तर, १९ वटा वडाको लागि बजेट बिनियोजन गरिएको हुन्छ । १२ भन्दा बढी वडामा बिनियोजित बजेट मिलाएर सिधै खल्तीमा हालेको देखिन्छ । यो मुलुक बनाउनुपर्छ भन्ने मान्छे त छन् । तर, उनीहरु छायाँमा छन् । बदमासी गर्नेहरू एकदम हाइलाइटमा छन् । त्यसैले अव मुलुक बनाउनुपर्छ भन्ने व्यक्तिहरु अगाडि आउनुपर्छ । पछिल्लो समय रवि लामिछाने आएका थिए । उनले केही गर्छन् भन्ने आम नागरिकलाई लागेको थियो । तर, यतिखेर प्रत्येक दिन उनकै विषयमा बेठिक गरेका समाचारहरू आइरहेका छन् ।


० नयाँ र पुरानो भन्दा पनि क्षमतावान व्यक्ति र मुलुक बनाउनुपर्छ भन्नेहरु नै फ्रन्टलाइनर हुनुपर्छ भन्ने तपाईंको आशय हो ? 
–ठिक प्रश्न गर्नुभयो । हाम्रो सानो पार्टी भएकोले हामी हाइलाइट हुन सकेका छैनौँ । अवसर पाएको खण्डमा हामी मुलुक बनाउँछौं । यतिखेर हामी भ्रष्टचारीलाई कारबाही गर्छौं भन्नसक्ने ठाउँमा छैनौं । भनियो भने पनि नेपाली जनताले पत्याउदैनन् । तर, गर्नुपर्छ भन्ने हाम्रो अध्यक्षज्यूको मनासय रहेको छ । जति हाम्रो पार्टीको साइज छ, सो अनुसारको हाम्रो भूमिका रहन्छ  नै ।


० मन्त्री परिवर्तन गर्ने विषयहरू पनि बाहिर आएका छन, सम्भावना कत्तिको देख्नुभएको छ ?
–मन्त्री पद भनेको स्थायी होइन, अस्थायी हो । त्यसकारण सरकारमा जाने र बाहिरिने क्रम निरन्तर चलिरहन्छ । प्रधानमन्त्रीज्यूले यो विषयमा संकेत गरिसक्नु भएको छ । 


० यो विषयमा तपाईंको पार्टीमा छलफल भएको छ कि छैन ?
–०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा हामी १० जनाले प्रत्यक्ष रुपमा जितेर आएका छौं । त्यसअघि पनि हामी यति नै संख्यामा थियौं । राष्ट्रियसभा र प्रतिनिधिसभाको कुल गरेर हामी २०८० माघ ११ अघि १८/१९ जना सांसद रहेका छौं । सकेसम्मा यो पाँच वर्षको अवधिमा आलोपालो गरी प्रतिनिधि सभाका सबै साथीहरू मन्त्री बन्ने चान्स मैले देखेको छु । जहाँसम्म पार्टीभित्र छलफल भए नभएको विषय रहेको छ, एउटा जीवन्त पार्टीमा नहुने कुरै भएन ।


० आगामी जेठ ३ गते तपाईंहरुको पार्टीको राष्ट्रिय महाधिवेशन हुन गइरहेको छ, नयाँ नेतृत्व आउने संभावना कत्तिको देख्नुहुन्छ ?
–पार्टीका अरु साथीहरुले के कसो गर्छन, मलाई थाहा छैन । मेरो व्यक्तिगत बिचारमा सर्वसम्मतको नाममा पुरानै दोहोरिने, जिम्मेवारी लिने र पार्टीप्रति आकर्षन नहुने कुरा हुनु हुँदैन । अध्यक्ष, महासचिवको विषयमा सरसल्लाह होला नै । तर, अरु पदहरुमा प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ र नयाँ युवाहरू आउने अवसर दिनुनुपर्छ ।


० यी कुराहरू बताईरहँदा नेकपा एमाले पनि अहिले सरकार बाहिर रहेको छ, तपाईंहरुको पनि वर्तमान सरकारमा खासै हैसियत देखिंदैन, त्यसैले पार्टी एकीकरण गरेर जाँदा भविष्य राम्रो होला भन्ने विचारहरु पनि बाहिर आएका छन, सम्भावना कत्तिको देख्नुभएको छ ?
–राजनीतिमा सबै खालका सम्भावनाहरू खुल्ला हुन्छन् र रहन्छन् पनि । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा पार्टी एकीकरणपश्चात केपी शर्मा ओली झण्डै दुई तिहाई निकट सरकारको शक्तिशाली प्रधानमन्त्री बन्नु भयो । तर, उनले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेको हामीले बिर्सेका छैनौ । यो विषयलाई उनले मैले गल्ती गरें भनेर आम नेपाली जनता र पार्टीका कार्यकर्तासँग माफी माग्नै पर्छ । त्यसपछि मात्र एकीकरणको माहोल बन्नसक्छ ।


० यदि ओलीले माफी मागेनन् भने नि ?
–मागेनन् भने पार्टी एकीकरण संभव हुँदैन । समाजवादी मोर्चा गठन भएकै छ । मोर्चा नै अगाडि बढ्छ । तर, आगामी आमचुनावसम्म ओलीलाई हामीसँग पार्टी एकीकरण नगरी सुखै छैन । नेकपा एमाले र हामी मात्र नभई सबै कम्युनिष्ट पार्टीसँगै पार्टी एकता हुन पनि सक्छ ।


० २०७४ सालमा दुई वटा ठूला कम्युनिष्ट पार्टीका बिचमा एकीकरण भयो  तर, लामो समय टिक्न सकेन, अव कसरी कम्युनिष्ट पार्टीहरुको एकता सम्भव होला र ?
–राजनीतिको दिशा भनेको बाङ्गो, टिङ्गो र अप्रिय नै हुन्छ । त्यसैले पार्टी कहिले फुट्दैन भन्ने हुँदैन । मिल्ने र छुट्नेक्रम भइरहन्छ । आउँदो ०८४ सालको आमचुनावमा सबै कम्युनिष्टहरु मिल्छन् नै । अर्को कुरा, हामी सबै स्वार्थी छौं । किनकि कमजोर हुँदा मिल्ने र बलियो भएपछि एक्लै खान खोज्ने र नपाउनेहरूले अर्को पार्टी बनाउने । यो राजनीतिमा चलिराख्ने विषय हो । गतिलो कानून र आवश्यक सिस्टम नभएसम्म यो चलिराख्छ ।


० तपाईंले यो कुरा बोलिरहँदा राजनीतिक दलको स्वार्थका कारण दैनिक रुपमा सयौँ युवाहरू रोजगारीको लागि विदेश पलायन हुनुपर्ने अवस्था छ, उनीहरुको भविष्य अन्धकार पारेर कहिलेसम्मा खेलवाड गरिरहनु हुन्छ ?
–पार्टी एउटा ग्रुपले बन्ला तर मुलुक त्यसरी बन्दैन । नेतृत्व गर्नेहरू असल र इमान्दार भएनन् भने मुलुक बर्वाद हुन्छ । असल व्यक्तिहरु फ्रन्ट लाइनर भइसकेका छैनन् । पुराना नेताहरु नै फ्रन्ट लाइनरमा छन् । जो मुलुकका लागि केही उपलब्धि नै दिन सक्दैन । यसकारणले एउटा असल व्यक्ति जन्मिनुपर्नेछ अब जन्मिन्छ पनि । देशमा जताततै भ्रष्टाचार, बेथिति मात्र भेटिन्छ । अब यहीँ भित्रैबाट असल मान्छेहरु जन्मिन्छन् र जन्मिनुपर्छ ।


० नेपालमा त्यस्तो दिन आउला र ?
–जव हामी युवाहरु त्यो ठाउँमा पुग्छौं । त्यस्तो दिन पक्कै आउँछ । असल युवाहरु नेतृत्वमा पुग्ने हो भने मुलुक बनाउन सजिलै सकिन्छ । ५०÷६० लाखलाई हामीले हेड काउन्ट गरेर जागिरसँग जोड्न सक्छौं । अब इमान्दार भनेर गफ दिएर मात्रै मुलुक चल्दैन । यदि चल्छ भने गाउँघरका सबैभन्दा सोझा दाजुभाइहरुलाई छानेर प्रधानमन्त्री बनाए भइगो नि ! त्यसैले अब देश चलाउन ब्रिलियन्टहरुको खोजी गर्नैपर्छ । अब त्यस्तो समूह जन्मिन्छ पनि ।


० तपाईंको भनाई ०४६ साल अघि र पछाडिका नेताहरूको विकल्प खोज्नु पर्‍यो भन्न खोज्नुभएको हो ?
–०४६ र ०३६ साल भन्दा अगाडिको नेतृत्व अव हुनु हुँदैन । ०३६ पछाडि र ०४६ सालको पनि हुँदैन । ०४६ साल पछिका प्रोडक्टहरू नेतृत्व गर्ने ठाउँमा पुग्यो भने मात्रै राम्रो हुन्छ । ०४६ सालका प्रोडक्टले नेतृत्व गर्ने र ०६२/०६३ को प्रोडक्ट संलग्न हुने हो भने मात्र मुलुक बन्छ । यतिखेर एक नेताले गरेको गल्तीको पोल अर्कोले  खोल्दिने र फेरि तेरो पनि देखाइदिन्छु भन्ने खेल चलिरहेकोे छ । वर्तमान प्रधानमन्त्री प्रचण्डले इमान्दारीपूर्वक केही गर्न खोजे पनि भोलिका दिनमा उनलाई पनि देखाइदिन्छु भन्दा चुपचाप पछाडि हट्नुपर्ने बाध्यता छ ।


० भनेपछि अब मुलुक बनाउँन नयाँ  र युवा पात्र नै चाहिएको छ हो ?
–नेपालमा योगदानको राजनीति भन्दा पनि जस जसले कमी कमजोरी गरेका छन् यो विषय जनतालाई थाहा हुनुप¥यो । आफ्नो अपराध छोप्नलाई अर्काको अपराध पनि ढाकछोप भएको छ । त्यसैले नयाँ पात्रको खाँचो छ नै ।


० वर्तमान निर्वाचन प्रणाली कायम रहेसम्मम तपाईंले भनेको नेतृत्व र नयाँ दल सरकारमा पुग्ने संभावना छ त ?
–वर्तमान निर्वाचन प्रणाली परिवर्तन गर्दा पिछडिएको बर्ग र महिलाहरू नेतृत्वमा आउन सक्दैनन् । एउटा मात्रै सांसद प्रधानमन्त्री भएर मुलुक संचालन गरेको पनि हामीले देखेका छौं । मुलुक त चलेकै छ । अहिलेसम्मको हाम्रो जुन राजनीति छ, तै चुप मै चुपको अवस्था छ । ‘काले काले मिलेर खाउँ भाले’ भन्ने कल्चर नै बेठिक छ ।


० त्यसो भए गल्ती कहाँबाट भयो त ?
–२००७ सालमा हामीले राजालाई जबर्जस्ती ल्यायौं । त्यतिबेला बहुदलवादी नेताहरु जेल गए । ०४६ सालको जनआन्दोलनमा केही मान्छे मरे । संविधान त्रिपक्षीय बन्यो । बहुदलले जित्यो भन्यौ । तर, संसद विघटन गर्न पाउने राजाको संवैधानिक व्यवस्था गरिदियौं । आखिर उस्तै भयो । ०६२÷०६३ सालमा गणतन्त्र आयो । तर, ०७४ सालमा आएर १०४ वर्षे राणा शासनको नियम कानूनहरु हटायौं । जनयुद्धकालमा १७ हजार मान्छे मरे । तर,  जनताले सोचे, भने जसरी चुनाव जितिएन । आखिर फेरि यिनै नेताहरु राजा भएका छन् ।


० अब जनताले जित्ने दिन कहिले आउला त ?
–अब, मनोविज्ञानले जित्नुपर्छ । जित्ने राजनीति हामी युवाले गर्नुपर्छ । प्रधानमन्त्री भएर के गर्नुहुन्छ भनेर आम जनताले प्रश्न गर्दा हामीले अगाडि नै भन्न सक्नुपर्छ । अहिले त जित्नेले भन्दा हार्नेले शासन गरेको छ । पञ्चायत हट्यो भनेका छौं, तर पाँच पटक नेपाली काँग्रेसका नेता शेरबहादुरलाई प्रधानमन्त्री बनाएका छौं । आखिर पात्र त उहीँ नै हुन् । हाम्रो जुन राजनीतिक कल्चर छ, त्यो नै सबैभन्दा बेठिक छ ।


० तपाईंको विचारमा आगामी संसदले टिआरसी विधेयक पास गर्न सक्ला ?
–आगामी माघ २२ गतेबाट शुरु संसद अबिधेशनले टिआरसी बिधेयक पास गर्छ । नेकपा एमालेले बिधेयक पास गर्न नदिन बार्गेनिङ गरिरहेको छ । तर पनि टिआरसी पास हुन्छ नै ।


० वर्तमान मन्त्रिपरिषदका मन्त्रीहरु कहिले फेरबदल हुन्छ होला ?
–राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसकेको छ । अव पार्टीमा यस बारेमा छलफल सुरु हुन्छ  । २०८० फागुनको ११÷१२ गतेसम्ममा नयाँ अनुहार मन्त्रिपरिषमा देख्न सकिन्छ । (साँघु साप्ताहिक, २०८० माघ १५)

प्रतिकृया दिनुहोस