• शनिबार-चैत-१६-२०८१

न्यायाधीश थपलिया बर्खास्त हुँदै ?  

न्यायाधीश नवराज थपलिया

 

काठमाडौं । तत्कालीन निलम्वित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा निकट उच्च अदालतका न्यायाधीश नवराज थपलियामाथि कारबाही डण्डा चलाउने अन्तिम तयार भएको छ । न्यायाधीश थपलियाविरुद्ध खराव अचारण र विचौलियाको आरोपमा न्याय परिषदमा परेका उजुरीमा कारबाहीको तयारी भएको स्रोत बताउछ । 


पछिल्लो समय थपलिया उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत थिए । परिषद स्रोतका अनुसार, थपलियालाई निलम्वन गरी माथि न्याय परिषद ऐन, २०७३ को दफा ११ अनुरुप खराव आचारण र दफा २२ अनुरुप भ्रष्टाचारमा काराबाही चलाउने तयारी भएको छ । निलम्वनपछि उनीविरुद्ध भ्रष्टाचारमा उच्च अदालतमा मुद्दा चल्न सक्ने बताइएको छ । चोलेन्द्र शमशेर प्रधान न्यायाधीश भएका बेला विचाराधीन मुद्दाका झगडियासँग ‘सेटिङ’ गरेको उजुरीमा कारबाहीको तयारी भएको हो ।

 

यसअघि न्याय परिषदले उनीमाथि छानविनका लागि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो । श्रेष्ठ प्रतिवेदनमा टेकेर थपलियालाई जिम्मेवारीविहीन बनाउँदै न्याय परिषद्मा काजमा राखिएको थियो । यसैबिच थपलियालाई न्याय परिषद् ऐन, २०७३ को दफा २१ बमोजिम सफाइ पेस मौका दिइएको थियो । परिषदले उनको कार्यक्षमता, आचरण र कर्तव्य पालनामा प्रश्न उठाउँदै शुरुमा स्पष्टीकरण पेश गर्न भनेको थियो ।

 

स्पष्टीकरण चित्तबुझ्दो नदेखिएपछि पुनः एकपल्ट सुनुवाईको मौका प्रदान गरिएको छ । त्यसपछि बर्खास्त गर्ने करिबकरिब निश्चित रहेको बताइएको छ । न्याय परिषद् ऐनको दफा २१ मा आरोपित न्यायाधीशलाई संविधान, परिषद ऐन वा अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने देखिएमा न्याय परिषदले कारण र आधार खुलाई मनासिव अवधि तोकी सफाइ पेस गर्ने मौका दिनुपर्ने उल्लेख छ ।


तत्कालीन प्रधान न्यायाधीश राणाको निगाहमा थपलिया आफू भन्दा सिनियर वकिललाई चकित पार्दै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । परिषदमा परेको उजुरीमा थपलियाले चोलेन्द्रशमशेरका भाइ प्रभुशमशेर राणालगायत मुद्दाका पक्षविपक्षसँग गोप्य साँठगाँठ गरेको गंभीर आरोप छ । विचाराधीन मुद्दाका झगडियासँग भेटेर ठूल्ठूलो रकम असुलेको आरोप पनि छ । यद्यपि ती सबै आरोप अझै पुष्टि भइसकेका छैनन् ।  थपलिया नेपाल ल क्याम्पस स्वतवियुका पूर्वसभापति हुन् ।

 

नेपाल बार एसोसिएसनले ०७९ भदौ १२ गते संसदको महाभियोग समितिलाई तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणामाथि छानविनका लागि बुझाएको ३४ बुँदे पत्रमा समेत थपलिया र राणाबीचको सम्बन्धमा समेत  प्रश्न उठाइएको थियो । (साँघु साप्ताहिक, २०८० पुस २३)

प्रतिकृया दिनुहोस