काठमाडौं । राजतन्त्रवादीहरुको आन्दोलन यो बेलामा निकै बढ्दै गएको छ । आन्दोलन अघि बढाउने नीतिसहित जिम्मेवारी हेरफेर पनि भइरहेको छ । नयाँ कमाण्डर पनि तय भएका छन् । साथै, आन्दोलन संगठित हुन नपाउँदै तितरवितर हुने क्रम बढेको छ । बृद्ध पञ्च नेता नवराज सुवेदी(८६ वर्षे लठ्ठी बाबा)लाई ‘तेस्रो जनआन्दोलन’ निर्देशक समितिको संयोजक तोकिएपछि राजापक्षधरहरु नै विभाजित भएका छन् । यसले राजतन्त्र पुनःस्थापनाको मुद्दामा अगाडि बढेका धेरैलाई समस्यामा पारिदिएको छ ।
आन्दोलनमा सहभागी राप्रपा, राप्रपा नेपाल र केशरबहादुर विष्टको समूहलाई भने मुख्य समस्या परेको हो । सुवेदीको नेतृत्व चाहिँ मुख्यगरी दुर्गा प्रसाईहरुको जोडबलमा भएको पनि बताइन्छ । राजतन्त्रवादीको स्वार्थी समूहले सुवेदीलाई अघि सारेको भन्दै चर्को आलोचना राप्रपाका नेताहरुले पनि गर्दै आएका छ ।
राप्रपा र राप्रपा नेपालका नेताहरुले औपचारिक रुपमा विरोध भने गरिसकेका छैनन् । तर, परिस्थिति अनुकूल नभएको भन्दै अनौपचारिक गफमा भने उनीहरुले राजतन्त्र पुनःस्थापनाको एजेण्डा उठाउनु नै कमजारी भएको हो कि भन्ने आशय पनि व्यक्त गर्न थालेका छन् । सुवेदीलाई अगाडि सारेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नै विरोधमा छन् । २०८१चैत ५ गते राप्रपा आफैले आन्दोलन गर्ने भन्दै निर्णय लिएको छ ।
तर, त्यही राप्रपाका अन्य नेताहरु पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द, धवलशमशेर राणा, रविन्द्र मिश्रसहितको टोली भने सुवेदीलाई मानेर जाने निर्णयमा पुगेका छन् । जुन जुन नेताले लिङ्देनको विरोध गरेका थिए, उनीहरु सुवेदीको समूहमा जोडिन पुगेका छन् । अहिले सुवेदी समिति चाहिँ लिङ्देनसँग असन्तुष्टहरुको ओत लाग्ने अर्को थलो पनि भएको छ । त्यसैले राप्रपा औपचारिक रुपमा विभाजित हुने आशंका पनि गर्न थालिएको छ । विगतमा लिङ्देनलाई हटाउनुपर्छ भन्ने नेताहरु नै सुवेदीको टीममा लागेकोे राजनीतिक रुपमा भने विभाजित भइसकेको पनि टिप्पणी हुन थालेको छ ।
त्यसैगरी, कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि औपचारिक रुपमा असहमति नजनाएपनि सुवेदीलाई नेता मान्न भने थापाले अस्वीकार गरेका छन् । उनले आफ्नो पार्टीको प्रतिनिधि पठाएका छन् । केशरबहादुर विष्टले पनि सुवेदीको नेतृत्वलाई स्वीकार गरेका छैनन् ।
सबैभन्दा पहिला दरबारले लोकेन्द्रबहादुर चन्दलाई संयोजक बनाउन खोजेको थियो । चन्दले उमेर र सक्रियताको हिसाबले आफूले नेतृत्व लिन नसक्ने बताएपछि पशुपतिशमशेर राणाको नाम लिइएको थियो । उनी पनि संयोजक हुन तयार नभएपछि सुवेदीलाई अगाडि सारिएको स्रोत बताउछ । दुर्गा प्रसाईले लिङ्देन र कमल थापालाई नेता मान्न नसकिने उनीहरु भए आन्दोलन नै नहुने भन्दै ऋषि जगमानमार्फत दरबारमा तारन्तार सन्देश पु¥याएको बताइन्छ ।
त्यसले गर्दा थापा र लिङ्देनलाई दरबारले विश्वास नगर्ने नयाँ मान्छे पनि नआउने भएपछि सुवेदीसम्म पुगेको चर्चा गरिन्छ । तर, सुवेदीले नेतृत्व लिएपछि राप्रपा र राप्रपा नेपाल जससँग राजतन्त्रवादी मत तलसम्म संगठित रहेको छ, त्यो मत नै विभाजित हुने अवस्था उत्पन्न भएको छ । (साँघु साप्ताहिक, २०८१ चैत ११)
प्रतिकृया दिनुहोस