• सोमबार-चैत-१८-२०८१

मन्त्री गुप्ता मस्त, पालिकाहरू कामुकै भरमा ?

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, सचिव रवीलाल पन्थ र स्थानीय तह कर्मचारी व्यवस्थापन शाखाका कर्मचारीहरुको कमजोरी कारण पालिकाहरु निमित्तकै भरमा संचालन भइरहेका छन् । मन्त्री गुप्ताले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेको करिब ९ महिना बित्दासमेत उनले जनअपेक्षाकृत ढंगले काम गर्न नसकेको गुनासाहरु निरन्तर रुपमा बाहिर आइरहेकै छन् ।


मन्त्री गुप्ता, सचिव पन्थ र केही सहसचिवको असक्षमताले लामो समयदेखि दुई सय भन्दा बढी नगरपालिका र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेका छैनन् । उल्टै, बरु यो बिचको अवधिमा मन्त्री गुप्ताले तीनजना सचिव र दुईजना कर्मचारी प्रशासन महाशाखा प्रमुख परिर्वतन गरिसकेका छन् । तरपनि उनले अपेक्षाकृत ढंगले काम गरेर देखाउन सकिरहेका छैनन् ।
यतिखेर मन्त्रालयमा फाइल बढुवा भएर अतिरिक्त समूहमा बसेका सहसचिवहरुको संख्या एक दर्जन भन्दा बढी नै रहेको छ । उनीहरुलाईसमेत पदस्थापन गर्न नसकेको आरोप मन्त्रालयको नेतृत्वले खेप्नु परेको छ ।

 

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत आवश्यकता हुँदाहुँदै पनि उपसचिवहरूलाई कुनै काम नहुने जिल्ला समन्वय समितिमा प्राथमिकताका साथ खटाएर मन्त्री गुप्ता र सचिव पन्थ आफ्नै कार्यसम्पादनमा धक्का दिएर गरिमा घटाएको कर्मचारीहरु बताउँछन् । जसले गर्दा स्थानीय तहमा प्रशासनिक बेथिति र विकृति थप मौलाएको बताइएको छ ।


कतिपय पालिकाहरुमा शिक्षा, इन्जिनियर, स्वास्थ्य सेवा र प्रशासनका नासु र शाखा अधिकृत कर्मचारीहरूले निमित्त, कामचलाउ र कामु प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दै आएका छन् । जसले गर्दा स्थानीय तहले सम्पादन गर्दै आएको काममा ढिलासुस्ती, कुशासन र भ्रष्टाचार बढाएको स्रोत बताउँछ । नागरिकहरूले छिटोछरितो, प्रभावकारी ढंगले प्रशासनिक सेवा पनि पाउन नसकेको गुनासाहरु बढेका छन् । अझ तराई–मधेशका जिल्लाहरूमा प्रमुख प्रशासकीय अधिकृतको सरूवा र थमौती गर्नुपर्दा रु. पाँच देखि १० लाखसम्म अग्रिम रुपमा थैली भेट र कोसेलीपात बुझाउनुपर्ने बाध्यता रहेको चर्चा सिंहदरवार परिसरभित्र चल्दै आएको छ । गत साता सामान्य प्रशासनले स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत मध्ये ५ वटा नगरपालिकामा उपसचिव र १० वटा गाउँपालिकामा शाखा अधिकृतलाई खटाएको थियो । उनीहरुलाई खटाउँदासमेत मन्त्रालयको नेतृत्वले कैफियत गरेको आशंका गरिएको छ ।


मन्त्रालयले मुगुको छाँयानाथ नगरपालिकामा महेश पाण्डे, जाजरकोटको छेडागाडमा हेमकुमार ढकाललाई खटाएको छ । यसैगरी, कञ्चनपुरको वेदकोटमा हरिदत्त भट्ट, धादिङको धुनीबेसी नगरपालिकामा कृष्णप्रसाद जैसी र धनुषाको गणेशमान चारनाथ नगरपालिकामा उपसचिव धर्मान्द जोशीलाई खटाएको छ । सिन्धुलीको गोलोन्जर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत यदु विक्रम थापा, मर्चवारी गाउँपालिकामा अधिकृत लेखबहादुर बस्नेत र विक्रम श्रेष्ठलाई बर्दगोरिया गापामा खटाएको बताइएको छ । (साँघु् साप्ताहिक, २०८१ चैत ११)
 

प्रतिकृया दिनुहोस