• सोमबार-चैत-१८-२०८१

विदेशबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन गर्दा तिस लाख फाइदा


धरान (सुनसरी), १६ चैतः रोजगारीबाट फर्किएका यहाँको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको हो ।  

 

    स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसायिक कृषि सुरु गर्नुभएका उहाँहरुले विदेशमा कमाएको पैसा स्वदेशमै लगानी गरी आम्दानी लिइरहनुभएको छ ।

 

    अमिर र रघुवीर पाँच वर्ष दक्षिण कोरिया, छविलाल अफगानिस्तानमा काम गरेर फर्किनुभएको हो ।  उहाँहरू विदेशमा पनि कृषि क्षेत्रमै कार्यरत हुनुहुन्थ्यो । विदेशमा सिकेको सीपलाई सदुपयोग गरी स्वदेशमै व्यवसाय सुरु गरेका तीन मध्येका एक अमिर निरौलाले बताउनुभयो ।

 

    उहाँहरुले २०७४ सालमा सुन्दर कृषि फार्म दर्ता गर्नुभएको थियो । सुरुमै आधुनिक प्रविधिको प्रयोग गरेर २० बिघा जमिनमा सागपात लगाउनुभएको थियो । जैविक मलको प्रयोग गरी सागपात उत्पादन गरी राम्रो आम्दानी लिइरहेको निरौलाले बताउनुभयो ।

 

    उहाँले भन्नुभयो, “सुरुआतमा छ लाखको लगानीमा डेढ बिघा जमिनबाट सुरु गरेको व्यवसाय अहिले बढेको छ । सुरुआती समयमा लगानी, जमिन र बजार पहुँचको समस्या भए पनि नगरपालिकाबाट सरकारी अनुदान र विभिन्न सङ्घसंस्थाबाट सहयोगका साथै डिजिटल मार्केटिङका कारण निकै सहज भएको छ ।”

 

    विदेशको अनुभव र सीपलाई स्वदेशमै सदुपयोग गर्नसके स्वदेशमै सम्भावना रहेको रघुवीर चन्द्रवंशी बताउनुहुन्छ ।    उहाँहरूले चार बिघा क्षेत्रफलमा काँक्रा रोप्नुभएको छ भने तीन बिघामा टमाटर, एक बिघामा क्याप्सिकम र बाँकी १२ बिघामा बोडी, करेला, लौका, घिरौला कोभीलगायत मौसम अनुसारका सागपात लगाउनुभएको छ ।

 

    फार्म सञ्चालकमध्येका एक अमिर निरौलाले भन्नुभयो, “वर्षमा  एक करोडको सागपात बिक्री हुन्छ, तर सागपात खेतीमा प्रयोग गर्ने मल, कर्मचारीको तलब गरी वार्षिक रु ७० लाख जति खर्च हुँदा सबै खर्च कटाएर रु २० लाखदेखि रु ३० लाखसम्म बचत हुन्छ ।”

 

    उहाँका अनुसार सञ्चालक बाहेक २० जनाले फार्ममा रोजगारी प्राप्त गरेका छन् । फार्मबाट सबैभन्दा धेरै काँक्रा र टमाटर उत्पादन हुने गरेको छ । उत्पादित वस्तु खरिद गर्न व्यापारी आफैँ फार्ममा आइपुग्छन् ।

 

    गत असोजमा आएको दुई दिनको बाढीले सात बिघा डुवान हुँदा रु ३५ लाख बढीको क्षति भएको उहाँहरूले बताउनुभयो । यहाँ उत्पादित धेरैजसो सागपात झापाको दमक बिक्रीका लागि व्यापारीले लैजाने गरेको सञ्चालकमध्येका छविलाल चौधरीले बताउनुभयो । 

 

बाँकी सागपात धरानको कृषि उपज, इटहरी, इनरुवा, धनकुटा बराहक्षेत्रलगायतका स्थानीय बजारमा बिक्रीका लागि लगिने गरिन्छ । 

 

कृषि पेसामा मेहेनत धेरै लागे पनि मौसम अनुसारको सागपात उत्पादन भइरहने भएकाले खासै घाटा नहुने उहाँहरुको अनुभव छ ।

 

 

 

    बराह क्षेत्रमा सिँचाइ सुविधा, मलको उपलब्धतालगायतले नगरभित्र सागसब्जीको उत्पादन धेरै हुने गरेको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । बराहक्षेत्र नगरभित्रका करिब ७० प्रतिशत घरपरिवार सागपात खेतीमा आबद्ध छन् । 

 

उहाँले भन्नुभयो, “बराहक्षेत्र नगरपालिका सागपात खेतीका लागि उर्वर, प्रख्यात मानिनुका साथै बजारीकरणको समस्या नभएकाले यहाँका कृषकको आकर्षण सागपात खेतीमा बढेको हो ।”

 

    प्रत्येक वर्ष नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक सागपातखेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिँचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायतमा सहयोग गर्दै आएको छ ।
---

 

प्रतिकृया दिनुहोस