काठमाडौँ, १३ पुस । माल्टा पठाइदिन्छु भनि १२ लाख रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुम्ला जिल्लाको हिमा गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने ३२ बर्षीय धर्मेन्द्र शाही रहेका छन् ।
शाहीले टेकराज पाण्डेलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै त्यहाँ मासिक दुई लाख रुपैयाँ तलब हुन्छ भनि विश्वास दिलाइ निज पीडितबाट पटक-पटक गरी जम्मा रु. १२,००,०००/- (अक्षेरुपी बाह्र लाख रुपैयाँ) रकम लिई सम्पर्क विहीन भएको बताइएको छ ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाण्डौंबाट खटिएको प्रहरी टोलीले निज धर्मेन्द्र शाहीको खोजतलास गर्ने क्रममा मिति २०८०।०९।१२ गते काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका शाहीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।



