काठमाडौं । राजनीतिक विश्लेषक डम्बर खतिवडाले मुलुकमा सुशासन प्रत्याभूत गराउन अहिलेको राज्यका अङ्गहरुलाई एकपटक व्यापक रुपमा छाँटकाँट गर्नुपर्ने बताएका छन् ।
पौष १३ शुक्रबार आज काठमाडौंमा आयोजित बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मलाई के लाग्छ भने नेपालमा सुशासन प्रत्याभुत गराउन राज्यका अङ्गहरुलाई एकपटक व्यापक रुपमा छाँटकाँट गर्नुपर्छ’ उनले भने, ‘नयाँ कतिपयलाई मर्ज गर्दा पनि हुन्छ ।’
नेपालको राजनीतिक अभ्यासमा सुशासनको समस्या कसरी मिश्रित छ भन्ने बुझ्न जरुरी रहेको भन्दै खतिवडाले भने, ‘समस्या कसरी निस्कियो, कुन मुहानबाट आएको छ र त्यसलाई कसरी थुन्ने भन्ने विन्दुबाट हामीले अध्ययन गर्नुपर्छ होला भन्ने मलाई लाग्छ ।’
जबसम्म सुहाउँदो सरकारको आकार बन्दैन तबसम्म सुशासनको प्रभावकारिता अथवा सेवा प्रदायकको दृष्किोणबाट प्रभावकारी हुने सम्भावना त्यसै कम हुने भन्दै उनले थपे, ‘त्यसैले यो नेपाल राज्यलाई एउटा सानो आकारको चुस्त सरकार र व्यापक डिजिटलाइजेसनको मेथोलोजिबाट यसलाई कसरी ढाल्ने भन्ने विषय महत्वपूर्ण हो ।’
राज्यको अर्थतन्त्र र निजी क्षेत्रको अर्थतन्त्रमा पारदर्शिता हुनुपर्ने उनले औंल्याए । समग्र देशको अन्तरराष्ट्रिय अर्थतन्त्रसँग जोडिएका विषयमा अथवा नागरिकको व्यक्तिगत अर्थतन्त्रका आयाममा कारोबार कसरी गर्छौं, लुकाउँछौ भन्ने पक्ष पनि एकातिर रहेको उनलेब ताए ।
कारोबारमा सम्बन्धित भएर आउने कर, राजस्व परिचालनको कुरा महत्वपूर्ण हुने भन्दै खतिवडाले भने, ‘वास्तविक कारोबार र वास्तविक कारोबारमा आधारित कर प्रणाली यसको समाधान हो ।’



