• शनिबार-श्रावण-१२-२०८१

‘चिफसाब्’ सेनाको राशनमाथि कहिलेसम्म मनपरी ? 

 

श्रीमान् सम्पादकज्यू, साँघु साप्ताहिक

नेपाली सेनामा तल्लो तहका सकलदर्जाहरुमाथि अधिकृतहरुको थिचोमिचो तथा राशन स्केल सम्बन्धी गुनासाहरु सम्बन्धित निकायमा रिपोर्ट गर्दापनि समाधान नभएपछि बाध्य भएर हामी सकलदर्जाहरुको समस्या बुझेर चिफसाब समक्ष पु¥याउन हाम्रो प्रिय पत्रिका साँघु साप्ताहिकमार्फत फेरि हाम्रो समस्या तथा गुनासाहरु चीफसाबलाई पेश गर्न चाहन्छौं । 


समस्या शान्ति सेनामा कार्यरत हामी सकलदर्जाहरुको हो । हामी एक वर्ष अगाडि शान्ति सेनाको लागि सिरिया गएका थियौं । नेपाली मेकानाइज कम्पनी छैठौ डफ्फामा यसको गणपति कर्साब प्रसे रोशन थापा र अन्य अधिकृतहरुको मनोमानी, त्यहाँ भएको राशनको दुरुपयोगको साथै मदिरा व्यापारको बारेमा यो पत्रिका मार्फत चीफसाब समक्ष यो जानकारी गराउँदछौं । 


हामी शान्ति सेनामा गइसकेपछि हाम्रो स्केलमा आउने राशन हामीलाई राम्रोसँग खान दिइएन । हामीलाई आउने राशन स्केलबारे जानकारी माग्दा माग्दै मिसन सकियो, तर स्केलबारे न त कर्साबले जानकारी दिए, न त क्वार्टरमास्टर अधिकृत प्रवेश लिम्बुले नै । प्रवेश लिम्बुले तैले नेपालमा यस्तो खान पाएको थिइस र यहाँ माग्छस् भनि हप्काउने गरेका थिए । 


हामीले विदेशी केटीहरुको कोठामा लुकाएर राशन पठाएको प्रमाण सहित फोटो खिचेर रिपोर्ट गर्यौ । तर नत गणपति कर्साबले उनीहरुलाई छानबिन गरी कारबाही गरे नत राशन पठाउन रोक्न नै सके । यो रिपोर्ट पनि कर्साबलाई थाहा छ तर केही भनेनन् । हाम्रो राशन हामीलाई राम्रोसँग खान नदिएर बाहिर बजारमा बेच्ने गरियो । यस बारेमा हामीसँगै ३७ पोष्टमा बस्ने सिरियन आर्मी यालोले पत्ता लगाएर तिमीहरुले बाहिर बजारमा किन राशन बेचेको भनेपछि उसलाई लालच दिएर चुप लगाइयो । 


चिफसाब हाम्रो राशनमा किन यति धेरै दुरुपयोग हुन्छ । यसबारे छानबिन गरी कारबाही होस भन्ने कामना छ । प्रत्येक महिना नेपाली परम्पराअनुसार हरेक चाडबाडमा ह्याप्पी आवर हुन्थ्यो । तर त्यस ह्याप्पी आवरमा हाकिमहरुले बजारबाट रक्सी ल्याई महंगोमा सिपाहीलाई बेचेर पैसा कमाए । हामीले बजार मुल्यमा नै पाउन माग गर्यौ, तर पाएनौ । महंगो मुल्य तिर्न‘ पर्यो । रक्सीको पैसा हामीले पोष्टको पदिक साबलाई दियौं । पदिक साबले हे.क्वा.मा लागि डिउटी अफिसरलाई दिनुभयो । अनि डिउटि अफिसरले क्वाटरमास्टर अधिकृत प्रवेश लिम्बुलाई दिएको सम्म थाहा छ । त्यसपछि कहाँसम्म पुग्यो र कसले कमायो त्यो थाहा छैन ।


सुरुका महिनामा रक्सी बेचेको आम्दानी सुबेदार मेजर साबले राख्नु हुन्थ्यो रे भन्ने सुनिएको थियो । तर सुबेदार मेजरले नाफा भएको रकम युनिटको आम्दानीमा देखाएर सबैलाई जानकारी गराएपछि सुबेदार मेजरलाई पोष्टमा पठाएर क्वार्टरमास्टर अधिकृतले रक्सी बेच्ने जिम्मा पाएका रहेछन् । १६÷१७ बर्ष जागिरको अवधिमा सुबेदार मेजरलाई पोष्टमा पठाएर अधिकृतले रक्सी बेच्ने जिम्मा पाएको पहिलो पटक देखियो । चिफसाब, हाम्रो गणपति साबलाई सिपाहीलाई रक्सी बेचेर, सिपाहीको स्केलको राशन बेचेर पैसा कमाउनको लागि मात्र विदेश पठाएको हो ? कि हाम्रो पीरमर्का तथा गुनासाहरु सुनेर समस्या समाधान गर्न पनि पठाइएको हो ? चिफसाब यस्ता विषयमा छानबिन गरी कारबाही होस् भन्ने हाम्रो चाहना हो । 


मेजरहरु संधै मेसमा तास खेल्ने गर्दथे । उनीहरु बिल्लादारहरुको कोठामा आएर पनि सँगै तास खेल्थे । सेनामा नीति नियम लाग्दैन ? मेजरहरु तथा क्याप्टेनहरु रातभरि रक्सि खाएर अश्लिल शब्द प्रयोग गरी बोल्ने गर्दथे । उनीहरुलाई नियम लाग्दैन ? यिनै अधिकृतहरुले पाँचखालदेखि विदेशसम्म हामीलाई अनुशासन सम्बन्धी पाठ पढाए, हामीलाई सानो सानो गल्तिमा पनि कारबाहि गरे । के यस्ता अधिकृतलाई अनुशासन लाग्दैन । के नीति नियम तल्लो तहका सिपाहीलाई मात्र हो र ?


कर्साबको काउन्सेलिङ्गमा महिलाहरुले अधिकृत साबहरुले महिलाले सुन्ने गरी सँधै राति रक्सि खाएर अश्लील शब्दहरु प्रयोग गर्न‘हुन्छ भनि रिपोर्ट गर्दा समेत कर्साब केही बोल्न सक्नुभएन । के कर्साब अधिकृतहरुको सामु लाचार बन्नुभएको हो ? के कतै राशन बेचेर पैसा कमाएको कुरा उठ्छ भनेर त हैन अधिकृतहरुसँग यसरी डराएको ? चिफसाब अझ रमाईलो कुरा त यो छ कि एक बर्षभरि सिपाईलाई रक्सी बेचेर, सिपाहीको स्केलको राशन बजारमा बेचेर मोजमस्ती गर्ने लजिष्टिक अधिकृत मेजर प्रबेशलाई मिशनमा राम्रो काम गरेको भनेर हाम्रो युनिट कमाण्डर कर्साबले पदक तथा विदेश तालिमको लागि सिफारिस लेखि पठाएका छन् रे † हाम्रो कर्साबको कमाण्ड तथा मुल्यांकन कति राम्रो रहेछ † यही बिषयमा कर्साब र टुवाईसीको मनमुटाव समेत भएको रहेछ । 


क्वाटरमास्टर अधिकृत मेजर प्रवेशले सिपाहीहरुलाई रक्सि बेचेको तथा राशन दुरुपयोग गरेको रिपोर्ट आएकाले सिफारिस गर्नुहुन्न भन्ने कुरा टुवाईसीको रहेछ । तर कमाण्डरले जसले मलाई सहयोग गर्छ, उसैलाई सिफारिस गर्छ‘ भनेपछि टुवाईसीले बाध्य भएर सिफारिस गर्न‘परेको रहेछ । कर्साब र टुवाईसीको मनमुटाव बढेकै कारण टुवाईसी गणपतिले बेलुका बेलुका जवान मेशबाट खाना लगेर एक्लै खान थालेका थिए । अनि राम्रो संग बोलचाल समेत नभएपछि टुवाईसी हप्ता दश दिन पनि पर्खन नसकेर बिदाको पैसा समेत नखाईकन समय नपुगिकनै पहिलो फ्लाईटमा स्वदेश फर्किएका रहेछन् । राशन तथा रक्सी बेच्ने मेजरलाई नराम्रो गर्न‘ हुंदैन भनेर सल्लाह दिने टुवाईसीलाई बस्न समेत गाह्रो पार्ने कर्साब प्र.से. रोशन थापा अहिले युद्द कबच गणको गणपतिमा नाम निकालेका रहेछन् । बिदेशमा यूएनले दिएको राशन त सिपाहीलाई खान नदिने गणपतिले नेपालमा सिपाहीलाई के खान देलान् ?


हाम्रो अनुरोध आदरणीय चिफसाब यो छ कि युद्द कबच गणमा प्र.से. रोशन थापालाई गणपति बाट हटाएर अर्को गणपति पठाइयोस् । मिसनमा हामी माथि अन्याय गरी हाम्रो राशन बजारमा बेचबिखन गर्ने, सिपाहीलाई रक्सी बेच्ने व्यापारी अधिकृतहरुलाई छानबिन गरि कारबाही होस भन्ने चाहन्छौं । साथै, तल्लो तहका जवानहरुको पीरमर्का सेनापतिले बुझ्नुहुन्छ भन्ने आशा हामीले राखेका छौं ।  –नेपाली मेकानाईज कम्पनी, शा.से, छैटौं डफ्फाका पीडित जवानहरु (साँघु साप्ताहिक, २०८० पुस २)
 

प्रतिकृया दिनुहोस