• मंगलबार-पौष-२३-२०८१

डीएसपीको बढुवा रोक्ने शक्तिशालीहरू चिनौं !

 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको तयारी गरेको समाचार बाहिर आएको धेरै भयो । तर, सात जना डीएसपीहरुको बढुवा सिफारिसको प्रक्रिया कहाँ र कसले रोक्यो भन्ने खुल्दुली चाहिं बढिरहेको छ । प्रहरी प्रधान कार्यालय अहिल्यै सात जनाको बढुवा गर्नु परेमा ‘मेरिट’लाई आधार मान्ने पक्षमा रहेको स्रोत बताउछ ।

 

हाल सात जनाको मात्रै बढुवा गर्ने भन्दा पनि १२ जना वरिष्ठ डीएसपीकै बढुवा गरेर सहसचिव प्रमुख जिल्ला अधिकारी रहेको कतिपय जिल्लाहरुमा डीएसपी प्रहरी प्रमुख रहेकाले ती जिल्लाहरुमा एसपीकै दरबन्दी तयार गरेर  प्रतिस्पर्धामा रहेका १२ जनाकै बढुवा गर्ने सोच पनि विभागको रहेको स्रोत बताउछ । तर, अहिले यिनै १२ जना मध्ये रिक्त सात एसपी पदमा बढुवाको चर्को प्रतिस्पर्धा रहेको स्रोतले जानकारी दिएको छ । पहुँचवाला डीएसपीहरु योग्यताक्रमको अन्तिम सूचीमा रहेकोले पनि एसपी बढुवा प्रकृया पेचिलो बन्दै गएको प्रहरी स्रोत बताउँछ । बरीयताक्रमअनुसार प्रदीप क्षेत्री पहिलो, अंगुर जिसी दोस्रो र ढकेन्द्र खतिवडा तेस्रो नम्बरमा रहेको प्रहरी प्रधान कार्यालयस्रोतले जानकारी दिएको छ ।

 

यस्तै डीएसपीहरु यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार र निरञ्जनदत्त भट्ट टप ७ नम्वर सहित कुलदीप चन्द पनि वरीयता भित्र रहेको बताइएको छ । उनीहरुको बढुवाको वरीयता भन्दा पछाडि रहेका डीएसपीहरू राजन लिम्बू, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे पहुँचवाला र शक्तिकेन्द्र निकट भनेर संगठन भित्र परिचित रहेका छन । १२औँ नम्बरमा रहेका घिमिरे यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पीएसओ भएर काम गरेका प्रहरी अधिकृत हुन् । यस अघि उनी बढुवामा छुटेको बताइन्छ । यही कारण डीएसपी घिमिरेलाई यसपटक जसरी पनि  बढुवामा समेट्नुपर्ने चर्काे दबाब उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ माथि परेको स्रोतको भनाइ रहेको छ ।


  एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पीएसओ भएर काम गरिसकेका सन्तोष तामाङ र राजन लिम्बू पनि बढुवाका प्रबल दाबेदार मानिन्छन् । उनीहरू वरिष्ठताको सातौ नम्बर भन्दा पछाडि रहेका छन् । एसपी बढुवा सूचीको सम्भावित एक नम्बरमा डीएसपी प्रदीप क्षेत्री  रहेको बताइन्छ । डीएसपी क्षेत्री जुम्लाका सांसद ज्ञानबहादुर शाहीलाई कुटपिट गरेको आरोपका कारण विवादमा तानिएका थिए । २०७६ मा सुर्खेत प्रहरी कार्यालयले शाहीलाई साइबर अपराध मुद्दामा पक्राउ गरेको थियो ।


पक्राउ परेका शाहीलाई थप कारबाही तथा अनुसन्धानका लागि काठमाडौं पठाइएको थियो । काठमाडौं प्रहरी कार्यालयको निगरानीमा अस्पतालमा उपचारमा रहेका शाहीले सुर्खेत प्रहरी कार्यालयका तत्कालीन प्रवक्ता डीएसपी क्षेत्रीको निर्देशनमा आफूलाई कुटपिट गरेको आरोप लगाएका थिए । भिडियो सन्देशमा उनले आफूलाई यातना दिने प्रहरीहरुको नामावली नै सुनाएका थिए । 


 डीएसपीबाट एसपी बढुवाको सिफारिस गर्ने समितिमासमेत आईजीपी अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ । राजपत्रांकित द्वितीय श्रेणी एसपीमा बढुवा सिफारिसका लागि बन्ने समितिमा आईजीपी अध्यक्ष तथा गृह मन्त्रालयको सहसचिव सदस्य र आईजीपीले तोकेको एआईजी वा डीआईजीमध्ये एकजना सदस्य सचिव रहने कानूनी व्यवस्था रहेको छ । अबको केही दिनमै उक्त समितिले सातजना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्ने सम्भावना पनि रहेको छ ।

 

तर, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आईजीपीहरुले स्वतन्त्र र निष्पक्ष रुपमा प्रहरीमा काम गर्न पाउने वातावरण  नभएको, प्रहरी संगठनमा बढ्दो राजनीतिक हस्क्षेपका कारण एसपी बढुवा सिफारिस गर्ने निर्णय गर्न ढिला हुन गएको स्रोत बताउछ । गृह मन्त्रालयमा चलेको चर्चा अनुसार, गृहमन्त्री नारायणकाजी श्रेष्ठ हाल नाम मात्रकै गृह मन्त्री रहेका छन् । गृह मन्त्रालय र प्रहरी सञ्चालन गर्ने छायाँ गृहमन्त्रीहरुका रुपमा शेरवहादुर देउवा, आरजु राणा देउवा, प्रचण्ड, रक्षा मन्त्री पूर्ण वहादुर खड्का र प्रधानमन्त्री पुत्री गंगा दाहाल पछि  गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम आउने चर्चा प्रहरी अधिकृतहरु गर्दछन् । (साँघु साप्ताहिक, २०८० पुस २)
 

प्रतिकृया दिनुहोस