• बुधबार-पौष-२४-२०८१

प्रहरी : डिआईजी र एआईजी बढुवाको लर्काे, डिआईजीका एक दर्जन प्रतिस्पर्धी जिल्लाराम !

 

काठमाडौं । नेपाल प्रहरीमा रिक्त दुई एआईजी पदका लागि ०८१ पुस १७ गते हेडक्वार्टर सचिवालयमा कार्यरत सिनियर डिआईजीद्वय कुबेर कडायत र अन्वेषण, योजना तथा विकास निर्देशनालयका रविन्द्र केसीलाई बढुवाका लागि सिफारिस गरिएको छ । यी दुबै सिनियर डिआईजी पनि हुन् । यसअघि २०८१ पुस १४ गते एआईजी भरत बहादुर बोहरा र किरण बज्राचार्य ५६ वर्ष उमेर हदका कारण अनिवार्य अवकासमा गएका थिए । 


प्रहरी संगठनमा गतसाता अवकास भएका तीन डिआईजी २०८१ पुस १७ गते दुई डिआईजीको एआईजीमा बढुवा सिफारिस भएसँगै पाँच पद रिक्त हुन पुगेको थियो ।


०८१ पुस १८ गते प्रहरीको बढुवा समितिले सिनियर पाँच एसएसपीको डिआइजी बढुवा लागि सिफारिस गरेको छ । यसरी बढुवा सिफारिस हुनेहरूमा हेडक्वाटरका अन्वेषण, योजना तथा विकास निर्देशनालयका एसएपी ईश्वर कार्की, कर्णाली प्रदेश तालिम केन्द्रका एसएसपी राजेन्द्रप्रसाद भट्ट, लागू औषध नियन्त्रण व्युरोका एसएसपी दिनेशकुमार आचार्य रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एसएसपी अरुण पौडेल र हेडक्वार्टर मानवस्रोत विभाग अन्तर्गतको वृत्ति विकास महाशाखाका एसएसपी गोविन्द थपलिया पनि बढुवाका लागि सिफारिसमा परेका छन् ।


डिआईजीका एक दर्जन 
प्रतिस्पर्धी जिल्लाराम ! 

डिआईजी बढुवाको सूचीमा एसएसपीहरु ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला र दीपककुमार बस्नेत पनि प्रतिस्पर्धा रहेका थिए । यसपछिका एसएसपीहरू जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, संजीव शर्मा दास र शारदाप्रसाद चौधरी पनि बढुवाका आकांक्षी रहेका थिए । तर, बढुवा समितिले वरिष्ठमा तलमाथि नगरी बढुवा गरेर अन्याय हुन नदिएको प्रहरी संगठनस्रोतले दाबी गरेको छ ।


विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका एआईजी किरण बज्राचार्य गएको २०८१ पुस १६ गते, २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका एआइजी भिम प्रसाद ढकाल २०८१ मंसिर २८ गते अवकामा गइसकेका छन । २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका एआईजी केदार ढकाल २०८१ मंसिर २२ गते र एआईजी भरत बहादुर बोहरा २०८१ पुस १४ गते सेवानिवृत्त भएका छन् ।


साथै, २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका डिआईजी विकास राज खनाल ०८१ वैशाख ७ गते र २०५१ पुस १५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका डिआईजी डा.देउती गुरूङ २०८१ पुस १५ गते सेवानिवृत्त हुन पुगेकी थिइन । उनीहरू सबैलाई २०८१ पुस १६ गते प्रहरी हेडक्वार्टरले विदाई गरेको थियो । (साँघु साप्ताहिक, २०८१ पुस २२)
 

प्रतिकृया दिनुहोस