• बुधबार-पौष-२४-२०८१

अठार उपसचिवहरूको सहसचिवमा बढुवा

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिले कार्यक्षमता मूल्यांकन (फाइल बढुवा) का आधारमा १८ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनद्वारा हुने सहसचिवको बढुवामा रिट परेपछि रोकिएको बढुवाको प्रक्रिया अघि बढेसँगै कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवामा १८ जना उपरसचिवको नाम सहसचिव बढुवाका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । सहसचिवको बढुवामा २०६७ चैत २७ गते सामान्य प्रशासन समूहको पहिलो नम्बरका उपसचिव रहेका योमेन्द्र उपाध्याय जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवामा सिफारिस भएका छन् ।


त्यस्तै राजस्व समूहका उपसचिवहरू जगदिश्वर उपाध्याय, नारद प्रसाद गौतम, निर्मल ढकाल, राजेन्द्र कुमार हमाल र दिव्यराज पोखरेल कार्यक्षमता मूल्यांकनद्वारा सहसचिव बढुवाका लागि सिफारिस भएका छन् । गौतम र पोेखरेल विभिन्न भन्सार कार्यालयका प्रमुख भइसकेका छन । लेखा समूहका उपसचिवद्वय वीरेन्द्रकुमार मिश्र र शिवप्रसाद चौधरी पनि सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । नेपाल प्रशासन सेवाको सहसचिवमा बढुवाका लागि १८ जना उपसचिवको नाम सिफारिस हुँदा ११ जना सामान्य प्रशासन समूहबाट परेका छन् ।


५ जना राजस्व समूह र २ जना लेखा समूहबाट सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उनीहरूले शतप्रतिशत अंक ल्याउन सफल भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । तर, कर्मचारीको कार्यसम्पादन मूल्यांकन पनि मन्त्री, सचिव र महानिर्देशकलाई मनखुश बनाएका आधारमा हुने गरेको भन्दै केही कर्मचारीहरूले असन्तुष्टि जनाएको बुझिएको छ । सुशासन र सुुधार चाहने प्रशासकहरूको भने प्राय फाइल बढुवमा नपर्ने गुनासो पीडितहरुले गरेका छन् ।


प्रशासनतर्mको दोस्रो नम्बरका प्रेमप्रसाद लुईंटेल कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवामा पहिलो नम्बरमा परेका छन् । यसैगरी, रामदत्त पाण्डे, विनिता भट्टराई, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, लक्ष्मी पाण्डे गौतम, मनिता श्रेष्ठ र लोकबहादुर सुनारको नाम सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । उनीहरु सबै सामान्य प्रशासन समूहका उपसचिवहरु हुन् । उक्त समूहका  उपसचिवहरू ईन्द्रप्रसाद बस्याल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही पनि सहसचिवमा बढुवाका लागि सिफारिसमा परेका छन्  । (साँघु साप्ताहिक, २०८१ पुस २२)
 

प्रतिकृया दिनुहोस